सर्लाहीका उखु उत्पादक किसानहरु केही वर्षयता तोरी खेतीमा लागेका छन् जिल्लाका उखु उत्पादक किसानहरु केही वर्षदेखि आफुले लगाईरहेको उखु खेती मासेर तोरी खेती तर्फ लागेका हुन ।
तीन÷चार वर्षयता जिल्लाको लालबन्दी,हरिवन,बागमती,ईश्वरपुर लगायतका ठाउँका उखु उत्पादक किसानहरुले आफ्नो खेतबारीमा उखु मासेर तोरी सहितको अन्नबाली बढाउँदै लगेका छन्। उखु खेतीमा लगानी गरेर लगानी समेत नउठेपछि आफूले पनि उखु खेती मासेर तोरी खेती तर्फ लागेको हरिवन नगरपालिका ८ का किसान हरि निरौलाले बताए ।
‘उखुमा लगानी अनुसारको मूल्य छैन,‘यताका सबैजसो उखु उत्पादक किसानहरुले अहिले उखु मासेर तोरी,परबल,बोडी,मास,धान,मकै र कोदो जस्ता परम्ंपरागत अन्नबाली लगाउँन थालेका छन्।’ निरौलाले बताए ।
दुई दशक अघिसम्म तोरी खेतीमा अब्बल मानिने जिल्लामा केही वर्षदेखि उखु खेती प्रतिको आकर्षण बढेको थियो । तर वर्षभरी लगानी गरेर उत्पादन भएको उखु विक्रि गरेको रकम उद्योगहरुले भुक्तानी नगर्दा दिक्दार भएका जिल्लाका उखु उत्पादक किसानहरु अन्य खेतीतर्फ लागेका हुन ।
नेपाल सरकार,उद्योगी र किसान प्रतिनिधिहरु बीच भएको सहमति अनुसार उद्योगीहरुले प्रति क्वुन्टल रु ५ सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति गरिएकोे भएपनि उद्योगहरुले सहमती अनुसारको रकम आफुहरुलाई भुक्तानी नगरेका कारण आफुहरु उखु खेती मासेर तोरी,परबल,बोडी,मास,धान,मकै र कोदो जस्ता परम्ंपरागत अन्नबाली लगाउँन थालेको’ हरिवन नगरपालिका २ का किसान राम पुकार महतोले बताए ।
उनका अनुसार जिल्लामा रहेका तीनवटा चिनी मिल मध्य ईन्दु शंकर चिनी उद्योग बाहेक अरु उद्योगले किसानहरुको रकम भुक्तानी पनि गरेका छैनन् । महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा पूर्ण रुपमा बन्द जस्तै अवस्थामा रहेका छन् ।
जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु २५ हजार हेक्टर क्षेत्रमा मात्रै खेती हुने र धान ४६ हजार ५ सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए ।
जिल्ला हरिवनमा चिनी उद्योग स्थापना भएपछि किसानहरुले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए। करिब २० वर्षपछि यहाँका किसानहरु पुनःउखु खेती मासेर पुरानै खेतीमा फर्किएका स्थानिय जानकार राज कुमार उप्रेतीले बताए ।
‘किसानहरुले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो,‘अहिले तोरी झार्ने बित्तिकै क्वुन्टलको करिब रु १५ हजारका दरले बिक्री हुन्छ ।जग्गा जमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन्। थोरै जमिन हुनेहरुले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन्। उखु लगाउँदा वर्षमा एक पटक मात्र उत्पादन निस्कने भएपनि तोरी खेती गर्दा वर्षमा तीन÷चार वटा बाली लगाउन पाइने र लगानी पनि धेरै नलाग्ने गरेका कारण जिल्लाका किसानहरु उखु खेतीको विकल्पमा लागेका छन् । ’ उप्रेतीले बताए ।
“थोरै लगानी गर्दा मनग्गे आम्दानी हुने भएपछि जिल्लाका उखु उत्पादक किसानहरुले तोरी खेती बढाउन थालेका छन्। सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुन्छ।जसका कारण पनि किसानहरुको मनफेरी पुरानै खेती तर्फ मोडिएको हुन।”गोडैता नगरपालिका ४ का कपिल महतोले बताए ।
“जिल्लाका किसानहरुले धान,हिउँदे मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन्। तोरीभित्र चना,मुसुरोजस्ता दलहन बाली पनि उत्पादन हुन्छ।तोरी र चना भित्र्याएपछि खेत बर्खे मकै खेतीका लागि तयार हुन्छ। तीन बाली लगाउँदा किसानहरुले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्।”स्थानिय छोटेलाल साहले बताए ।
यता,जिल्लाका उखु उत्पादक किसानहरुलाई आफुहरुले नयाँ प्रजातिको उखु खेती गर्न बिउ वितरण गरेको र जसका कारण जिल्लामा उखु उत्पादन बढ्ने इन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताए ।उखु खेतीका लागि देशमै अब्बल मानिएको नयाँ प्रजातिको उखु जिल्लाका उखु उत्पादक किसानहरुलाई वितरण गरिएका कारण उखु उत्पादनमा क्षेत्रफल घटेपनि उत्पादनमा कमि नआउने उद्योगको दाबी छ ।