Close This

सर्लाहीबाट तस्करी गरि महोत्तरी पुर्याइएको सालको गोलिया र ट्याक्टर बरामद्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२१ गते   १९४३ पटक हेरिएको

 सर्लाहीको बाँकैवन क्षेत्रबाट तस्करी भएको काठ र तस्करीमासंग्लग्न ट्याक्टर सव डिभिजन वन कार्यालय माइस्थान महोत्तरीले नियन्त्रणमा लिएको छ । सर्लाहीको इश्वरपुर नगरपालिका स्थित फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले आफ्नो उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको गोलिया तस्करी हुँदै गरेको अवस्थामा महोत्तरीबाट बरामद् भएको हो ।
साझेदारी वनले आफ्नो उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको सालको काठ छिमेकी जिल्ला महोत्तरीबाट बरामद् भएको हो । समितिले जिल्लाको हरिपूर्वा नगरपालिका–९ का ५ जना उपभोक्ताहरुलाई बिक्री गरेको सालको गोलिया महोत्तरीबाट बरामद् भएको सव डिभिवजन वन कार्यालय माईस्थानले बरामद् गरेको सवडिभिजन वन कार्यालय माईस्थानका प्रमुख भिम विक्रम खड्काले जानकारी दिनुभयोे ।
उपभोक्तहरु नरेश महत्तो,मित्रदेवी हजाम,वरुण कुमार चौधरी,विराट चौधरी र प्रमोद चौधरीलाई समितिले आ–आफ्नो घर लैजान छुटपूर्जी दिएपनि काठ लोड गरी पठाइएको भएपनि उनिहरुलेज १ त ८८७४ नम्बरको ट्याक्टरमा लोड गरी महोत्तरीतर्फ लग्दै गर्दा आफुहरुको गस्ती टोलीले  ट्याक्टर,ट्याक्टरका चालक र १ सय ६७ दशमलव ९० क्युविक फिट सालको गोलिया बरामद् गरेको सव डिभिजन प्रमुख खड्काले बताउनुभयो । ‘समितिले आफ्नो उपभोक्तालाई घरायसी प्रयोगका लागि दिएको काठ अन्यत्र लैजानै नपाईने, तर उक्त काठ हरिपूर्वातर्फ नलगी महोत्तरीतर्फ लगिएको अवस्थामा बरामद् भएको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधव प्रसाद देवले बताउनु भयो । 
‘फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिले हरिपूर्वा स्थित आफ्नो उपभोक्तालाइ घरायसी प्रयोगका लागि टाँचा लगाएर बिक्री गरेको काठ महोत्तरीमा पक्राउ परेको हुँदा घटनाबारे सुक्ष्म ढंगले अनुसन्धान भईरहेको डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख देवले बताउनुभयो । 
उक्त काठ बरामद् भएलगतै डिभिजन वन कार्यालय सर्लाहीले फूलजोरबाबा साझेदारी वन उपभोक्ता समितिलाई तत्काल काठ बिक्री वितरण रोक्न आग्रह गरेको छ । समितिले उपभोक्तालाई घरायसी बाहेक अन्यत्र प्रयोग नगर्ने लिखित कागज गराएर काठ बिक्री वितरण गर्ने गरेपनि हरिपूर्वा नगरपालिका ९ का ५ जना उपभोक्तालाई घरायसी प्रयोजनका लागि बिक्री गरेको काठ महोत्तरीबाट बरामद् हुनुले साझेदारी वन उपभोक्ता समिति र सव डिभिजन वन कार्यालय बाँकेको मिलेमतोमा अवैध रुपमा काठ तस्करी हुने गरेको आशंका सुरु भएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ ।
बिहीबार साँझ काठ बरामद् गरिएको र (आज)शुक्रबार समितिका अध्यक्ष सुरेन्द्र महत्तो सहित पदाधिकारी र घरायसी प्रयोगका लागि काठ किनेका उपभोक्ताहरुलाई बोलाएर अनुसन्धान सुरु गरिएको डिभिजन वन कार्यालय सर्लाहीका सुचना अधिकारी राकेश रन्जन दासले जानकारी दिनु भयो । 
उता,सव डिभिजन वन कार्यालय माईस्थानले बरामद् गरेको काठको अनुसन्धान र कार्बाही आफैँले गर्ने तयारी समेत गरेको सव डिभिजन प्रमुख खड्काले बताउनुभयो । साझेदारी वनले उनिहरु ५ जनालाई १८ वटा सालका गोलिया दिएकोमा १० वटा सालका गोलिया लोड गरेर लगेको र बाँकी रहेका ८ वटा गोलिया साझेदारी वनमै रहेका छन् ।
साझेदारीले नरेश महत्तोलाई ३ वटा गोलिया ४९ दशमलव ६३ क्युविफिट,मित्रदेवी हजामलाई ३ वटा गोलिया ४० दशमलव ४२ क्युविफिट,वरुण कुमार चौधरीलाई ४ वटा गोलिया ४० दशमलव ९१ क्युविफिट,विराट चौधरीलाई ४ वटा गोलिया ३७ दशमलव ७२ क्युविफिट र प्रमोद चौधरीलाई ४ वटा गोलिया ४० दशमलव १ क्युविफिट गरीकुल २ सय १० दशमलव ७८ क्युविफिट सालका गोलिया दिएको थियो । त्यस मध्य १ सय ६७दशमलव ९० क्युविफिट काठ लोड गरि लगिएको अवस्थामा बरामद् भएको हो । त्यस बापतको शुल्क रु ३ लाख ३४ हजार २ सय ४ रुपैँया २२ पैसा रकम साझेदारीको खातामा जम्मा गरि काठ दिएको पाइएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech