Close This

प्रदेश सरकारद्धारा वार्षिक प्रगति विवरण सार्वजनिक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२७ गते   २८५ पटक हेरिएको

 आर्थिक वर्ष २०७५÷०७६ देखि हालसम्म प्रदेशसभा निर्वाचन क्षेत्रमा ३५६ किलोमिटर पक्की सडकको निर्माण कार्य सम्पन्न गरेको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणमा प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले सो जानकारी गराएको हो ।
प्रदेशमा कालोपत्र सडक ५०.९५ किलोमिटर, पक्की सडक ढलान ७४.९० किलोमिटर र ग्राभेल सडक १७०.१७ किलोमिटर निर्माण सम्पन्न भएको मन्त्रालयले जनाइएको छ । सोही क्रममा ३० वटा पुल निर्माणको क्रममा रहेको, ५.५४ किलोमिटर नाला, १४ वटा कल्भर्ट र ५९.८१ किलोमिटर नयाँ कच्ची सडकको निर्माण कार्य सम्पन्न भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रममा रहेका १० वटा झोलुङ्गे पुलमध्ये तीनवटा झोलुङ्गेको निर्माण कार्य सम्पन्न भएको प्रदेश नं २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बताउनु भयो ।
सिँचाइतर्फ १६५ वटा नहर प्रणालीको मर्मतसम्भार गरी पानी सञ्चालन, प्रदेशका आठवटै जिल्लामा दुई क्लस्टर सिँचाइअन्तर्गत पावर ड्रिल ट्युबवेल निर्माणबाट प्रदेशको १६ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा प्रदान गरिने योजनाको शुरूआत गरिएको मन्त्री सोनलले बताउनु भयो । सो अवधिमा २४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावर ड्रिल ट्युबवेल निर्माण, प्रदेशको करिब ५ हजार ४ सय ३० हेक्टर थप जग्गाको सिञ्चित क्षेत्रफलमा वृद्धि भएको बताइएको छ । नदी कटान र डुबानबाट १ हजार ५०० हेक्टर खेतीयोग्य जग्गा संरक्षण र २० वटा जोखिमयुक्त बस्तीलाई संरक्षण गरिएको छ । खानेपानीतर्फ २० वटा नयाँ खानेपानी योजनाको शुरूआत, ६५ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ । यस अवधिमा २६ धर्मशाला, नौ दलित छात्रावास र आठवटा ज्येष्ठ नागरिक आवास निर्माण सम्पन्न भएको मन्त्रालयले बताएको छ । भौतिक पूर्वाधार विकास मन्त्री सोनलका अनुसार यी उपलब्धि सार्वजनिक गर्दै जनता आवासतर्फ करिब ४ हजार ६ सय ५९ घर निर्माणको सम्झौता भएकोमा हालसम्म करिब २ हजार १ सय १ घर निर्माण भई हस्तान्तरण भइसकेको छ । प्रदेश परिवहन सञ्चालन गरिने प्रदेश नं २ सरकारद्वारा फागुन महिनाभित्रै प्रदेश परिवहन सञ्चालन गर्ने गृहकार्य भइरहेको मन्त्री सोनलले बताउनु भयो ।
प्रदेश परिवहन सञ्चालनका लागि प्रदेश सरकारद्वारा रु ३ करोड ९ लाख ८२ हजारमा ५ वटा बस खरीद गरिसकेको छ । मन्त्री सोनलले प्रदेश परिवहन सञ्चालन सन्दर्भमा कार्यविधि निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो । उहाँले परिवहन सञ्चालक समिति गठन भइसकेपछि समितिले परिवहन सेवाको भाडा दर निर्धारण गर्ने बताउँदै सरल, सुलभ, सुरक्षित र व्यवस्थित रुपमा सञ्चालन गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने बताउनु भएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech