Close This

शिवपूजनकी पत्नी मीना बनीन माओवादी केन्द्रको समानुपातिक सांसद,छोरा राजावावु गाउँपालिका अध्यक्ष,छोरी मधुमाला प्रतिनिधि सभामा पराजीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२४ गते   ४०३ पटक हेरिएको

नेकपा(माओवादी केन्द्र)सर्लाहीका नेता शिवपुजन राय यादवकी पत्नी मीना यादव समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएकी छन् । माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट टुंगो लगाएका १४ समानुपातिक सांसदहरुमा मधेशी क्लस्टरबाट यादव प्रतिनिधिसभा सांसद चयन भएकी हुन ।
यद्यपि शिवपूजनले सर्लाही क्षेत्र नम्बर ४ प्रतिनिधिसभा सदस्यमा आफ्नी छोरी मधुमाला कुमारी यादवलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । सो क्षेत्रमा सत्तारुढ गठबन्धनको समर्थन नेपाली कांग्रेसका नागेन्द्रकुमार यादवलाई थियो । तर उनी कांग्रेस छाडेर स्वतन्त्र उम्मेदवारी दिएका डा.अमरेश कुमार सिंहसँग पराजित भए ।
डा.सिंहले २० हजार १७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार नागेन्द्रकुमारले १८ हजार २ सय ५३ मत पाएका थिए भने तेस्रो नम्बरमा रहेकी मधुमालाले १४ हजार ६ सय २२ मत पाएकी थिइन् ।
मधुमालाको उम्मेदवारीले डा.सिंहलाई जित निकाल्न सहज भएको थियो । गठबन्धनलाई शिवपुजनकै कारण पराजय ब्यहोर्नुपरेको आरोप छ । शिवपूजनका कान्छो छोरा राजाबाबु यादवले स्थानीय निकायको निर्वाचन २०७९ बैशाख ४ बाट रामनगर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । २०६४ सालमा संविधानसभा सदस्य जितेका शिवपूजनमाथि रातो पासपोर्ट दुरुपयोगमा कारबाही भएपछि उनी आफैं चुनाव लड्नबाट वञ्चित भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech