Close This

भुत्तानीको विषयलाई लिएर झडप हुँदा ११ जना घाईते

रासस    प्रकाशित: २०७७-१-२९ गते   ३१० पटक हेरिएको

सर्लाहीको धनकौल गाउँपालिकामा उखु किसानको भुक्तानीको विषयमा विवाद उत्पन्न हुँदा भएको झडपमा ११ जना घाईते भएका छन् ।धनकौल गाउँपालिका ६ मा रहेको  अन्नपूर्ण चिनी उद्योगमा मौज्दात रहेको चिनी विक्रि वितरण गर्नका लागि लैजाने भन्दै मध्यरातमा आएका ६ वटा ट्रक स्थानिय उखु उत्पादक किसानहरुले नियन्त्रणमा लिएका थिए । बिक्री गरेको उखुको भुक्तानि नदिएसम्म ट्रक नछाड्ने अडान किसानहरुले लिएका थिए ।
धनकौलको ईलाका प्रहरी कार्यालय हरकठवा र बसबरिया गाउँपालिकाको प्रहरी चौकी भवानीपुरमा किसानहरुले नियन्त्रणमा लिएका ट्रक राखिएको छ । हरकठवामा रहेका चारमध्ये दुईवटा ट्रकमा चिनी लोड छ भने दुई वटा खाली रहेका छन् । यस्तै भवानीपुरमा रहेका दुवै ट्रकमा चिनी लोड छ । प्रहरी कार्यालयमा थन्किएका ट्रक छाड्ने र किसानहरुको बाँकी भुक्तानि दिलाउने विषयमा छलफल भइरहेको समयमा दुई पक्ष बीच झडप भएको प्रहरीले जनाएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकर्ताहरु र नेपाली कांग्रेसका कार्यकर्ताहरु बीच विवाद भई झडप भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक विश्वमणी पोख्रेलले जानकारी दिनु भयो ।
शनिवार जिल्लाका सुरक्षा अधिकारीसहित सबै सरोकारवालाबीच छलफल गरी चिनी बिक्री हुनासाथ सबै किसानलाई न्यूनतम ५० हजार रुपैँयाँका दरले प्रदान गर्ने सहमति जुटेको थियो । सोही सहमतिका बारेमा आइतवार बिहान किसानलाई जम्मा पारेर जानकारी गराइरहेका समयमा काँगे्रसका कार्यकर्ताले ढुङ्गामुढासहित आएर आक्रमण गर्दा नेकपा तथा जनता समाजवादीका नेता तथा कार्यकर्ताहरु विष्णु प्रसाद सिंह, नितेश सिंह, सुरेश सिंह, जोगेन्द्र सिंह, खुशीकान्त झा र रामेश्वरी देवी घाईते भएका छन ।
त्यसैगरी काँगे्रसका नेता एवं प्रदेश सभा सदस्य वीरेन्द्र सिंहले आक्रमणबाट आफ्नो तर्फका मुकेश साह, मोहन राय, अमरेन्द्र कुमार साह, इलियाम मन्सुरी र शम्भु साह घाईते भएका बताउनु भयो ।घाईते ११ जनाकै स्थानिय विभिन्न स्वास्थ्य संस्थाहरुमा उपचार भई रहेको  छ । नेकपा र जनता समाजवादी पार्टीका नेताले अनावश्यक विवाद गरेर माहोल बिगारेको प्रदेश सभा सदस्य सिंहले आरोप लगाएका छन् ।
किसानको भुक्तानि दिलाउने विषयमा राजनीतिक हानाथाप हुँदा २०७० सालदेखिको करिब १२ हजार उखु उत्पादक किसानहरुको  करिब ४० करोड अन्नपुर्ण चिनी उद्योगले भुक्तानी नदिदा उखु उत्पादक  किसानहरु निराश भएका छन । बन्दाबन्दीको समयमा चिनी उद्योगबाट भुक्तानि पाइएला र घर व्यवहार धान्न सहज होला भन्ने आश गरेका उखु उत्पादक किसानहरु झन निराश भएका छन । समस्या समाधान गर्न विशेष पहल भई रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech