Close This

प्रदेशिक अस्पताल मलंगवाबाट करिब १३ सयले पाए प्रसुति सेवा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२८ गते   १६९ पटक हेरिएको

सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा प्रसूति गराउन आउने गर्भवतीहरुको संख्यामा उल्लेख्य वृद्धि हुन थालेको छ । प्रादेशिक अस्पतालले शल्यक्रिया सहितको प्रसूति सेवा नियमित गरेसँगै जिल्लाकै सबैभन्दा ठूलो सरकारी अस्पताल प्रादेशिक अस्पताल मलंगवामा प्रसूति गराउन आउने गर्भवतीहरुको चाप बढ्न थालेको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालमा चालु आर्थिक वर्ष २०७९÷०८० को अहिले सम्ममा मात्रै १ हजार २ सय ९१ जना गर्भवतीहरुले प्रसूति सेवा लिइसकेका अस्पतालकी स्टाप नर्स सङ्गिता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १ हजार १ सय ७३ गर्भवतीहरुले सामान्य र १ सय १८ गर्भवतीहरुले शल्यक्रियासहितको प्रसूति सेवा लिएका छन् ।
अस्पतालकी स्टाप नर्स श्रेष्ठका अनुसार साउन महिनामा २ सय २० गर्भवतीहरुले सामान्य र १९ गर्भवतीले शल्यक्रिया,भदौमा २ सय ७६ गर्भवतीहरुले सामान्य र ३७ गर्भवतीहरुले शल्यक्रियासहितको प्रसूति सेवा लिएका छन् । असोजमा २ सय ५० गर्भवतीहरुलाई सामान्य र १९ गर्भवतीहरुलाई शल्यक्रिया,कात्तिकमा २ सय १२ गर्भवतीहरुलाई सामान्य र २१ गर्भवतीहरुलाई शल्यक्रियामार्फत प्रसूति गराइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवलकिशोर झाले जानकारी दिनु भयो । डा. झाका अनुसार मङ्सिर महिनाको हालसम्म २ सय १५ गर्भवतीहरु लाई सामान्य र २३ गर्भवतीहरुलाई शल्यक्रियामार्फत प्रसूति गराइएको छ ।
त्यस्तै,जिल्ला अस्पतालको रुपमा रहेको आर्थिक वर्ष २०७७÷०७८ मा १ हजार ३ सय ४० गर्भवतीहरुले सामान्य र ६२ गर्भवतीहरुले शल्यक्रिया तथा आर्थिक वर्ष २०७८÷०७९ मा १ हजार ९ सय ७३ गर्भवतीहरुले सामान्य र १ सय ५३ गर्भवतीले शल्यक्रियासहितको प्रसूति सेवा लिएकाअस्पताल स्रोतले जनाएको छ ।
प्रसुतिमा चाप बढ्दै गए पनि अस्पतालमा आवश्यक संरचना र जनशक्तिको अभावमा प्रसूति सेवामा चूनौति थपिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.झाले बताउनु भयो । “पछिल्लो समयमा मधेश प्रदेशका महलिाहरुमा चेतनास्तरमा वृद्धि भएको र शल्यक्रियासहितको प्रसुति सेवा नियमित भएपछि अस्पतालमा आएर प्रसुति गराउने गर्भवतीहरु संख्या बढेको”डा. झाले बताउनुभयो । उहाँका अनुसार“प्रादेशिक अस्पताल मलंगवामा प्रसुतिका लागि आवश्यक संरचना र जनशक्तिको अभाव रहेको छ ।”
पटक–पटक सूचना निकालेर प्रसुतिको विशेषज्ञ चिकित्सक माग गरिए पनि गाइनोलोजिष्ट डाक्टरबाट आवेदन नै नपरेको अस्पताल स्रोतले बताएको छ । अस्पतालमा १० जना स्टाप नर्सको मात्रै दरबन्दी रहेको भएपनि अस्पतालले आफ्नै स्रोतबाट समेत गरी १७ जना स्टाप नर्सको व्यवस्था गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech