जिल्ला अस्पताल सर्लाहीमा रहेको एम्बुलेन्स र शवबाहन प्रयोग बिहीन हुँदा बिरामी तथा आफन्त सहित आम सर्वसाधारण मारमा परेका छन् । प्रदेश २ सरकारले उपलब्ध गराएको बजेटबाट खरिद भएको जिल्ला अस्पताल सर्लाहीको एम्बुलेन्स र शववाहन तीन महिनादेखि अस्पताल परिसरमै थन्किएको छ ।
वि.सं.२०७७ असारमै टेण्डर आव्हान गरेर एम्बुलेन्स र शववाहन खरिद प्रकृया अगाडी बढाईएको भएपनि विविध कानूनी अल्झनका कारण तीन महिना अघि मात्र एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिद भई अस्पतालमा आईपुगेको थियो । अस्पतालसँग पहिला नै एउटा एम्बुलेन्स रहेको थियो । तर बिरामीको उद्धारमा भने तीनवटै सवारी साधन नचल्दा बिरामीहरु समयमै थप उपचार सेवा पाउनबाट बञ्चीत भएका छन् भने बाहिर उपचारका लागि जानुपर्दा निजी क्षेत्रका एम्बुलेन्स र शवबाहन प्रयोग गर्नुपर्दा निकै समस्या भएको बिरामीका आफन्तहरुले ग्ुनासो गरेका छन् ।
सरकारी स्वास्थ्य संस्थाका एम्बुलेन्स र शवबाहन प्रयोग बिहीन अवस्थामा रहेका कारण निजी क्षेत्रका एम्बुलेन्स र शवबाहन प्रयोग गर्नु पर्दा आर्थिक भार समेत परि रहेको उनिहरुको गुनासो छ । जिल्ला अस्पतालमा करारमा तीनजना चालक नियुक्त गरिएका छन् । एउटा कार्यालयको जीप अनि दुईवटा एम्बुलेन्स र एउटा शवबाहन गरी अस्पतालमा ४ वटा साना सवारी साधन रहेका छन् । तर कार्यालयको पीकअप भ्यान बाहेक दुईवटा एम्बुलेन्स र एउटा शवबाहन भने महिनौदेखि प्रयोग बिहीन भएका छन् ।
जिल्ला अस्पतालमा एउटा मात्र एउटा एम्बुलेन्स हुँदा समस्या भएको गुनासो आएपछि प्रदेश दुई सरकारले थप एउटा एम्बुलेन्स र एउटा शवबाहन खरिदका लागि रु २० लाख ७० हजार बजेट उपलब्ध गराएको थियो । उक्त बजेटबाट टेण्टर प्रकृया अनुसार तीन महिनाअघि नै एक एम्बुलेन्स र एक शवबाहन खरिद गरि अस्पतालमा ल्याइएको थियो । पूरानै एउटा एम्बुलेन्स रहेको अस्पतालमा थप एउटा नयाँ एम्बुलेन्स र एउटा शवबाहन आएपछि व्यवस्थापन पक्षले सेवाप्रवाहमा सहज हुनेअपेक्षा गरेका भएपनि नयाँ एम्बुलेन्स र शवबाहन आएपछि त पूरानो सहित तीनवटै उद्धारका सवारी साधन थन्किँदा थप समसया सृजना भएको छ ।
करारमा नियुक्त भएका चालकहरुको आफ्नै निजी लगानीमा एम्बुलेन्स रहेको छ । जसले गर्दा अस्पतालको एम्बुलेन्स र शवबाहन थन्काएर आफ्नो एम्बुलेन्सको व्यापार बढाउनमै उनीहरु केन्द्रित रहेको अस्पताल स्रोतले जनाएको छ ।
‘अस्पतालको दुईवटा एम्बुलेन्स र एउटा शवबाहन त्यसै थन्काएर राखिएको छ’, अस्पतालका स्वास्थ्य निरिक्षक श्रीप्रसाद साहले बताउनु भयो । उहाँका अनुसार‘एम्बुलेन्स र शवबाहनका लागि नियुक्त भएका ड्राईभरहरु आरामले तलब भत्ता खाईरहेका मात्र छैनन्, उनीहरुले आफ्नै लगानीमा प्रमाण नदेखिने गरी निजी एम्बुलेन्स सञ्चालन गरिरहेका छन् र अस्पतालमा आउने हरेक बिरामीलाई उनीहरुकै ईसारामा निजी एम्बुलेन्समा महंगो भाडा लिएर ओसारपसार गर्न बाध्य बनाईएको छ ।’
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रघुनाथ राउत, जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी, मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साह, भर्खरै सरुवा भएर आएका अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा. नवलकिशोर झा लगायतको अनौपचारिक बैठक समेत बसेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताएका छन् । एम्बुलेन्स र शवबाहन सञ्चालन हुन नसक्नु तथा अस्पतालमा भएका अन्य विकृति र विसंगती विरुद्ध अनौपचारिक छलफल भएको जिसस सभापति चौधरीले जानकारी दिनुभयो ।
मलंगवा अस्पताल प्रमुखको रुपमा भर्खरै सरुवा भएर आउनु भएका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.झाले अस्पतालको सेवा सुविधा प्रवाह सुधारमा आफू लागि परेको बताउनु भयो । ‘म भर्खरै आएको छु, अस्पतालको अवस्था बारेमा अध्ययन गर्दैछु’,अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायत सबै सरोकारवाला, पक्ष, तह र तप्काको सहयोगमा सुधारका लागि प्रयास गर्नेछु ।’ डा.झाले बताउनु भयो ।
अस्पताल विकास समितिका अध्यक्ष राउतले अस्पतालमा रहेको विकृत्ति विसंगति हटाउँदै आम सर्वसाधारणको स्वास्थोपचारमा सकेसम्म सेवा सुविधा प्रदान गराउने दिशामा आफू लागि परेको दाबी गर्नु भयो । प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले अस्पतालको एम्बुलेन्स र शवबाहन थन्किएको भन्ने खबर भर्खरै थाहा पाएको बताउनु भयो ।
कोरोना महामारीको अवस्थामा जिल्लाकै एकमात्र सुविधासम्पन्न मानिएको जिल्ला अस्पतालमा कोरोना भाईरस संक्रमण सहित अन्य बिरामीहरुको निकै चाप रहने गरेको छ । जिल्लाका ग्रामिण भेगबाट उपचारका लागि आएका तथा उपचार गर्दागर्दै गम्भिर देखिएका बिरामीले तत्काल थप उपचारका लागि बाहिर जानु पर्दा अस्पतालमै एम्बुलेन्स भएपनि निजी एम्बुलेन्सबाट निकै महंगो भाडा तिरेर गईरहेको अस्पतालका एक स्वास्थ्यकर्मीले बताएका छन् ।
यता,इश्वरपुर नगरपालिकाको सरकारी एम्बुलेन्स लामो समयदेखि बेवारिसे अवस्थामा रहेको छ । देश संघिय संरचनामा जानु पहिला नै खरिद भएको एम्बुलेन्स विगत लामो समयदेखि सडक छेउमै बेवारिसे थन्किएको छ । ना १ झ ९६८ नम्बरको सरकारी एम्बुलेन्स स्थानिय सरकारको नजर नपुग्दा सडक छेउमै बेवारिसे अवस्थामा थन्किएको हो । भारत सरकारको सौजन्यमा खरिद भएको इश्वरपुर स्वास्थ्य चौकीको एम्बुलेन्स समिति मार्फत सञ्चालनमा रहेको थियो । एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समिति मार्फत सञ्चालीत एम्बुलेन्स स्थानिय सरकार र समिति विचको विवादका कारण बेवारिसे अवस्थामा थन्किएको छ । समितिको खातामा करिब रु ७ लाख बचत रहेको भएपनि एम्बुलेन्स मर्मतमा कसैको पनि ध्यान नपुगेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । इश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुरेन्द्र महतोका अनुसार उक्त एम्बुलेन्स विगत ४÷५ वर्षदेखि बेवारिसे अवस्थामा रहेको छ । नगर स्वास्थ्य शाखाले उक्त एम्बुलेन्स मर्मत गरि सञ्चालनमा ल्याउन नगर प्रमुख समक्ष पटक पटक माग गरेको भएपनि नगरपालिकाले वास्ता नगरेको स्वासथ्य संयोजक महतोले बताउनुभयो ।
समितिको खातामा रु ७ लाख रहेको एम्बुलेन्स सञ्चालक तथा व्यावस्थापन समितिका अध्यक्ष अवध रौनियारले बताउनु भयो । उहाँका अनुसार नगर प्रमुख मनोज कुमार देवकोटाले उक्त एम्बुलेन्स नगरपालिकाको नाममा आउने भए मर्मत गर्ने नत्र मर्मत नगर्ने बताएपछि सरकारी एम्बुलेन्स थन्किएको हो ।
यता, नगर प्रमुख देवकोटाले उक्त एम्बुलेन्स मर्मत नहुने भएका कारण अर्काे एम्बुलेन्स खरिदका लागि नगरपालिकाबाट रु १० लाख रकम व्यावस्था गरेको बताउनु भयो । उहाँका अनुसार मर्मत नहुने भएपछि लिलामी गर्न पनि दाताको नाममा रहेका कारण समस्या भएको बताउनु भयो ।
१५ वटा वडा रहेको नगरपालिकामा हाल कुनैपनि स्वास्थ्य संस्थामा सरकारी एम्बुलेन्स छैनन् भने सरकारी स्वास्थ्य संस्था समेत सबै वडामा छैनन् । १५ वटा वडा रहेको नगरपालिकामा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य क्लिनिक गरी जम्मा ८ वटा स्वास्थ्य संस्था रहेका छन् भने ७ वटा वडामा अहिले पनि स्वास्थ्य संस्था छैनन् । नगरको वडा नम्बर ३,८,१०,१२ र १४ मा स्वास्थ्य चौकी, वडा नम्बर १ र १५ मा सामुदायिक स्वास्थ्य केन्द्र र वडा नम्बर १ र ९ मा शहरी स्वास्थ्य क्लिनिक रहेका छन् । भने वडा नम्बर १,२,४,५,६,७,११ र १३ मा सरकारी स्वास्थ्य संस्था नै छैनन् ।
नगरपालिका भित्र १०÷१२ वटा निजी एम्बुलेन्स रहेका छन् । नगरपालिकाको कुनैपनि सरकारी स्वास्थ्य संस्थामा सरकारी एम्बुलेन्स नहुँदा सो क्षेत्रका बिरामीहरु बाहिर उपचारको लागि जाँदा निजी एम्बुलेन्स लिएर जानुपर्ने बाध्यतामा छन् ।

सरकारी स्वास्थ्य संस्थामा एम्बुलेन्स छैनन् । निजी एम्बुलेन्स लिएर जाँदा चर्काे आर्थिक भार बेर्हाेनु पर्ने भन्दै सो क्षेत्रका बिरामीहरुले गुनासो गरेका छन् । नगर स्वास्थ्य शाखाका अनुसार नगर बाहिर उपचारको लागि बिरामी पठाउनु पर्दा जिल्लाका अरु स्थानिय निकायहरुसंग एम्बुलेन्स माग गर्नु पर्ने बाध्यता रहेको र समयमै एम्बुलेन्स नपाई समयमै उपचार गर्न नउँदा बिरामीहरुको अकालमै ज्यान समेत जाने गरेको छ ।
इश्वरपुर नगरपालिका ३ को भक्तिपुर स्वास्थ्य चौकीमा नगरपालिकाले चालु आर्थिक वर्षमै एम्बुलेन्स खरिद गर्ने नगर प्रमुख खेवकोटाले बताउनु भयो । नगर प्रमुख देवकोटाको घर समेत सोही वडामा पर्दछ ।