Close This

सर्लाहीका २० स्थानीय निकायलाई रु २ अर्ब २९ करोड ६१ लाख

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१७ गते   २५७ पटक हेरिएको

 संघीय सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि सर्लाहीका स्थानीय निकायलाई झन्डै रु २ अर्ब २९ करोड ६१ लाख बजेट दिने घोषणा गरेको छ । संघीय सरकारले वित्तीय समानीकरण अनुदान, ससर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारका अनुदान स्थानीय निकायलाई हस्तान्तरण गरेको हो । यसवर्षको
बजेटमा अघिल्लो वर्षको भन्दा स्पष्ट तरिकाले संघ र प्रदेशको जिम्मेवारी छुट्याइएको छ । बजेटले केही नयाँ र आशलाग्दा योजना पनि ल्याएको छ ।
बजेटमा स्थानीय निकायलाई विशेष स्थान दिइएको छ । राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्ने तथा शिक्षा र स्वास्थ्यमा अधिकतम बजेट खर्च गर्ने सरकारले लक्ष्य लिएको छ । सरकारले बढाएर ल्याएको बजेटको आकारले स्थानीय निकायलाई पनि थप नयाँ कार्ययोजना दिइएको छ । 
जिल्लाका २० स्थानीय निकायमा पनि बजेट वित्तीय समानीकरण अनुदान, सशसर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी ४ प्रकारको बजेट दिने घोषणा भएको हो । जिल्लामा यो वर्ष बरथवा नगरपालिकामा सबैभन्दा बढी बजेट विनियोजन भएको छ ।
बरहथवा नगरपालिका रु १७ करोड ९८ लाख बजेट विनियोजन भएको छ । विभिन्न ४ प्रकारका मापदण्डका आधारमा बजेट विनियोजन हुने भएका कारण बरथवाले बढी बजेट पाउन सकेको हो ।
यस्तै, जिल्लाको कौडेना गाउँपालिकालाई रु १० करोड १४ लाख,चक्रघट्टा गाउँपालिकालाई रु १० करोड ४३ लाख,धनकौल गाउँपालिकलाई रु ९ करोड ७९ लाख,पर्सा गाउँपालिकालाई रु ९ करोड १५ लाख,बसवरिया गाउँपालिकालाई रु ९ करोड ४१ लाख,ब्रह्म्पुरी गाउँपालिकालाई रु १० करोड ९७ लाख, रामनगर गाउँपालिकालाई रु १० करोड ५३ लाख,विष्णु गाउँपालिकालाई रु १० करोड ५ लाख,चन्द्रनगर गाउँपालिकलाई रु ११ करोड ६९ लाख,लालबन्दी नगरपालिकालाई रु १६ करोड ९८ लाख,हरिवन नगरपालिकालाई रु १४ करोड २८ लाख बजेट विनियोजन भएको छ । 
त्यस्तै,बाग्मती नगरपालिकालाई रु १३ करोड ५५ लाख,हरिपुर नगरपालिकालाई रु १२ करोड ४३ लाख, ईश्वरपुर नगरपालिकालाई रु १६ करोड ४६ लाख,हरिपुर्वा नगरपालिकालाई रु ११ करोड ७१ लाख,कबिलासी नगरपालिकालाई रु १२ करोड ९९ लाख,बलरा नगरपालिकालाई रु १३ करोड ९२ लाख,गोडौता नगरपालिकालाई रु १४ करोड २ लाख र मलङ्वा नगरपालिकालाई रु १४ करोड ७३ लाख बजेट विनियोजन भएको छ । 
‘संघीय बजेट जनमुखी र सन्तुलित रहेको छ । सरकारले सबै क्षेत्रलाई ध्यानमा राखेर बजेट ल्याएको छ । कार्यान्वयन गर्न स्थानीय सरकारले पहल लिनुपर्छ ।’आगामी आर्थिक वर्षको बजेटबारे बरथवा नगरपालिकाका नगर प्रमुख देवानन्द महत्तो बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech