सर्लाहीबाट समानुपातिक तर्फ आठजना महिला निर्वाचित

1k Shares

सर्लाहीबाट प्रदेश तथा प्रतिनिधि सभा समानुपातिक निर्वाचन प्रणाली तर्फबाट ८ जना महिला निर्वाचित भएका छन् । प्रतिनिधि सभा सदस्य तर्फ तीन जना र प्रदेश सभा सदस्य तर्फ पाँच जना गरि ८ जना महिलाहरु समानुपातिक तर्फ निर्वाचित भएका हुन । प्रतिनिधि सभा तर्फ नेकपा(एमाले)बाट हरिवन नगरपालिका ९, निवासी सरस्वती सुब्बा निर्वाचित हुदा नेपाली कांग्रेसकाे तर्फबाट  काैडेना गाउँपालिका ३ निवासी चन्दा चाैधरी निर्वाचित हुनु भएकी छन् ।
भूमिहिन सुकुम्वासीको पक्षमा वर्षौदेखि आवाज उठाउँदै आउनु भएकी सुब्बा आदिवासी जनजाति समूहबाट निर्वाचित  हुँदा चौधरी चुनावको केही दिनअघि मात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरी नेपाली  कांग्रेसमा प्रवेश गरेक ी थिईन । केपी शर्मा ओली नेतृत्वको सरकारमा १९ दिन महिला तथा बालबालिका मन्त्री बनेकी चौधरी यसअघि २०७४ मा लोसपाको तर्फबाट समानुपातिक सांसद भएकी थिईन ।
चुनावकै मुखमा पार्टीमा भित्र्याएको कांग्रेसले चौधरीलाई मधेशी समूहबाट प्रतिनिधि सभा सदस्य बनाएको हो । त्यस्तै, सर्लाही क्षेत्र नम्बर ४ मा गठवन्धनका उम्मेदवारविरुद्ध छोरीलाई बागी उम्मेदवार उठाएको भन्दै नेकपा(माओवादी केन्द्र)काे कार्वाहीमा परेका माओवादी केन्द्रका नेता शिवपुजन रायकी श्रीमतीलाई नै समानुपातिकबाट सांसद बनाएको छ ।
माओवादी केन्द्रले मधेशी कोटाबाट रातो पासपोर्ट दूरुपयोग गरेको आरोप लागेका रामनगर गाउँपालिका ५ निवासी शिवपुजनकी श्रीमती मीना यादवलाई समानुपातिक सांसद बनाएको हो । मङ्सिर ४ को निर्वाचनमा शिवपुजनले छोरी मधुमाला कुमारी रायलाई बागी उम्मेदवार उठाएका थिए ।
यहाँ नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गर्नु भएका डा.अमरेशकुमार सिंह निर्वाचित भएका छन् भने गठवन्धनका उम्मेदवार कांग्रेसका नागेन्द्र राय निकटतम प्रतिस्पर्धामा रहेका थिए ।
यसैबीच, मधेश प्रदेश सभामा समानुपातिकतर्फबाट जिल्लामा निर्वाचित पाँच जनामध्ये तीन जना कविलासी नगरपालिकाका रहेका छन् । नेपाली कांग्रेसबाट कविलासी नगरपालिका ९, निवासी शकुन्ती देवी,जनमत पार्टीबाट कविलासी नगरपालिका २, निवासी हसिना खातुन र जनता समाजवादी पार्टीबाट कविलासी नगरपालिका ७, निवासी विन्दुकुमारी यादव मधेश प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट निर्वाचित भएकी छन् ।
शकुन्ती देवी दलित,हसिना खातुन मुस्लिम र विन्दुकुमारी यादव मधेशी समूहबाट निर्वाचित भएकी निर्वाचन आयाेगले जनाएको छ ।
त्यसैगरी,मधेश प्रदेश सभामा एक/एक सिट प्राप्त गरेका नेपाल सङ्घीय समाजवादी पार्टीले मलङ्गवा नगरपालिका ३, निवासी बिमला अंसारी तरन्नुम र नागरिक उन्मुक्ति पार्टीले ईश्वरपुर नगरपालिका ९, निवासी उर्मिला देवी सिंहलाई मधेश प्रदेश सभा सदस्य बनाएको छ । जिल्लामा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फबाट चार जना र समानुपातिकतर्फबाट तीन जना गरी सात जना तथा मधेश प्रदेश सभा सदस्यमा प्रत्यक्षतर्फबाट आठ जना र समानुपातिक तर्फबाट पाँच जना गरी १३ जना निर्वाचित भएका छन् । जिल्लाबाट प्रतिनिधि सभा सदस्य ७ जना र प्रदेश सभा सदस्मा १३ जना गरी २० जना सांसद भएका छन् ।

सम्बन्धित समाचार