सर्लाहीमा चिसाेले कठ्यांग्रिएर २ जनाकाे ज्यान गयाे

1k Shares

सर्लाहीको हरिपुर नगरपालिका ९ पिडारीमा चिसोले कठ्यांग्रिएर २ साताको अवधिमा २ जना मुसहर समुदायका मानिसहरुको ज्यान गएको छ ।
हरिपुर नगरपालिका–९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्यांग्रिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
ज्याला मजदुरीको काम गर्ने पिडारीका रमेश  मंसिर २४ गते धान काट्ने काम गरेर घर आएपछि पराल ओछ्याएर सुतेकोमा त्यहीँ चिसोले कठ्यांग्रिएर ज्यान गएको पीडित परिवारले जनाएका छन् ।
केही वर्षअघि जनता आवास कार्यक्रम अन्तर्गत प्रदेश सरकारले जस्ताले छाएको २ कोठे घर निर्माण गरिदिएको थियो । २ वटा कोठामध्ये एउटा कोठा दाई मोती माझी र अर्को कोठा रमेशले अंशबण्डा गरेका थिए । एउटै कोठामा मृतक रमेश, उनकी श्रीमती चन्दु माझी, जेठो छोरा पंकज र बुहारी आँचल र कान्छो छोरा कृष्णनन्दनसहित ५ जना बस्दै आएका थिए । किरियापुत्री बसेका कान्छो छोरा १६ वर्षीय कृष्णनन्दन माझीले ओढनेओछ्याउने नभएकाले भुइँमा पराल ओछ्याएर सुत्दा बुवाको त्यही कठ्यांग्रिएर ज्यान गएको बताए ।
स्थानीय  मुसहरहरुको पनि लगाउने न्यानो कपडा र ओढनेओछयाउने नहुँदा समस्या रहेको   हरिपुर नगरपालिका ९ पिडारीका वडाध्यक्ष विश्वनाथ रायले बताए ।रमेशको चिसोले कठ्यांग्रिएर मृत्यु भएको बारे आफूलाई पनि कसैले जानकारी नगराएको वडा अध्यक्ष रायले बताए  । उनले चिसो प्रभावितका लागि गैर–सरकारी संस्थासँग समन्वय गरी कम्बल बाँड्ने तयारी गरिरहेको जानकारी दिए ।
यता, लक्ष्मीपुरका रामकेवल माझीले न्यानो ओढनेओछयाउने नहुँदा कठ्यांग्रिएर आफ्नो बुवा रामभगतको ज्यान गएको बताए । जनकपुरमा इँटा भट्टामा काम गर्ने रामकेबलले मंसिर २३ गते साँझ चिसोले कठ्यांग्रिएर बुवाको मृत्यु भएपछि घर आएर किरियापुत्रीमा बसेको सुनाए ।
रामकेवलको ५ जनाको परिवार अहिले फुसको छानो भएको कच्ची घरमा बसेर दैनिकी गुजारी रहेका छन्। चिसोले कठ्यांग्रिएर रामभगत र रमेशको ज्यान गएको  भए पनि अतिविपन्न दुवै परिवारलाई कसैले केही सहयोग नगरेका स्थानीयले बताएका छन् । चिसो बढ्दै जाँदा मुसहर समुदाय निकै प्रभावित बनिरहेको छ । न्यानो कपडा र ओढनेओछयाउने नहुँदा मुसहर समुदायका मानिस पराल ओछयाएरै सुत्ने गरेका छन् ।

सम्बन्धित समाचार