Close This

होली पर्व आगमनसंगै गाउँ गाउँमा जोगिरा सुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-११-२३ गते   २७२ पटक हेरिएको

होली पर्वको आगमनसँगै सर्लाही जिल्लाको गाउँगाउँमा ‘जोगिरा’ गाउन शुरु भएको छ । सर्लाही जिल्लाको ११ नगरपालिका र ९ गाउँपालिकाको प्रत्येक गाउँ टोलमा बेला ढोल, तासा, मृदङ्ग, डम्फु, झ्यालीलगायतका बाजागाजाका साथ जोगिरा गाउन शुरु भएको हो ।
होली पर्वलाई निमन्त्रणा दिँदै प्रत्येक गाउँ टोलका युवा, वृद्ध र वयस्कको छुट्टाछुट्टै टोली बनाई जोगिरा शुरु गरेको मलंगवा नगरपालिका–४ का होलैया (जोगिरा गाउने) कपिलमुनी यादवले बताउनु भयो ।  विभिन्न प्रकारका गीत, चुटकिला, हाँसो ठट्टा र जिस्क्याउने तीतामीठा वाक्य र शब्दलाई लयमा ढालेर जिल्लावासीले जोगिरा गाउने गरेको हरिवन नरपालिका–2 का होलैया रामपुकार महत्तोले बताउनु भयो ।
होलीको अवसरमा जोगिरा गाउनकै लागि युवा देश परदेशबाट आ–आफ्नो गाउँ फर्किएका छन् भने गाउँगाउँमा जोगिराको धुनले अहिले रातभरि नसुत्ने बनाएको चन्द्रनगर गाउँपालिका–७ का होलैया वैद्यनाथ महत्तोले बताउनु भयो । लालबन्दी नगरपालिका–७ का होलैया छोटेलाल साहले आफूहरु जोगिरा गाउनकै लागि अहिले युवा तथा बयोवृद्धालाई लिएर घरघरबाट पुगेर  जोगिरा गाउने रमाउने गर्न थालेको बताउनु भयो ।
होलैयाले जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएकाले आफूहरु रातिका बेला गाउँको चोकचोकमा ठूला सङ्ख्यामा भेला भएर जोगिरा गाउने गरेको अर्का महेन्द्र महत्तोले बताउनु भयो । मिथिलाञ्चलसहित सर्लाही र प्रदेश नम्बर २ का अधिकांश जिल्लाहरुका गाउँगाउँमा शुरु भएको जोगिरा गायन होली पर्वको एक दिन पहिलेको रातिसम्म गाइने परम्परा रहेको स्थानिय जानकार उमाशंकर  साहले बताउनु भयो । उहाँका अनुसर पछिल्लो समयमा होली खेल्ने प्रक्रिया विकृति पुर्ण भएको भन्दै जोगिरा दिन प्रतिदिन लोपोन्मुख हुन थालेको छ । जोगिराले एकआपसमा भाइचारा, प्रेम, सद्भाव र सुमधुर सम्बन्ध निर्माण गर्ने भएका कारण जोगिरा बचाई राख्न सबै लाग्नु पर्ने साहको भनाई छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech