सर्लाहीका ‘मिटरब्याजी’ पीडितहरुले संघर्ष समिति गठन गरेका छन् । जिल्लाभरीका मिटरब्याजी पीडितहरुको हरिवनमा भएको भेलाले रुकमिनी चौधरीको संयोजकत्वमा ११ सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।
संघर्ष समितिको अध्यक्षमा रवीन्द्र कुशवाहा,उपाध्यक्षमा श्रद्धा चौधरी,सचिवमा सोन्फी चौधरी,कोषाध्यक्षमा छविलाल साह र सह–सचिवमा जवाहार साहलगायत रहेका समितिकी संयोजक रुकमिनीले जानकारी दिए ।
साहु महाजनले चर्को ब्याजमा ऋण दिएर बिल्लीबाठ बनाएपछिआफुहरुले पटक पटक विभिन्न प्रकारका संघर्ष गर्दै आइरहेको र कतिपय पीडितले मिटरब्याजमा ऋण लगानी गर्ने साहुले ऋण बुझाइ सक्दा पनि ऋण मिनाह नगरेको भन्दै आन्दोलन गर्दै आइरहेको संयोजक चौधरीले बताए ।
यो वर्ष पुनःमाघ लागेपछि आफूहरुले मिटरब्याजी साहुविरुद्ध आन्दोलन गर्ने तयारी गरिरहेको नवगठित संघर्ष समितिका अध्यक्ष रवीन्द्र कुशवाहाले बताउनु भयो । मिटरब्याजमा ऋण लगानी गर्ने साहुविरुद्ध प्रशासनले केही समयअघि उजुरी लिएको भएपनि सुनुवाई नभएकाले आफुहरुले संघर्ष समिति नै बनाउनु परेको अध्यक्ष कुशवाहले बताए ।
मिटरब्याजी पीडितले जिल्लामा तथा संघीय राजधानी काठमाडौँमा समेत पुगेर आन्दोलन गर्दै आइरहेका छन् । पीडितहरुको भेलाले मिटरब्याजी साहुविरुद्धको आन्दोलनमा योगदान पुर्याएका स्व.डाचाराज वाग्लेप्रति श्रद्धान्जली व्यक्त गरेको छ ।