चन्द्रनगर ६ की ७१ वर्षिय माझीले नागरिक पाईन्

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-३० गते   १०२१ पटक हेरिएको


सर्लाहीको चन्द्रनगर गाउँपालिका ६ कामद टोलकी बनिया देवी माझीले ७१ वर्षको उम्मेरमा नागरिकता पाउनु भएको छ । चन्द्रनगर गाउँपालिका ६,कामत टोलमा बस्दै आएकी माझीले आफु ७१ वर्षको हुँदा नागरिकता पाएको बताईन । उनले“७१ वर्षके उमरमे नागरिकता मिल्लै,आब दाल,चाउर मिल्तै” भन्दै रासससंग खुसी व्यक्त गरिन ।
७१ वर्षको उमेरमा नागरिकता हात परेपछि माझी अत्यन्तै खुसी भएकी छन् ।उनको हाउभाउबाट नागरिकता उनको जीवनको पहिलो र अन्तिम सम्पत्ति रहेको प्रस्ट बुझिन्छ । माझीले हर्षित हुँदै“७१ वर्षके उमरमे नागरिकता मिल्लै,आब दाल,चाउर मिल्तै”भनेपछि अब कसरी दाल चाउर मिल्छ ? भन्ने कमलामाई मिडिया प्रा.लिको प्रश्नमा नेपाली भाषा राम्रो नबुझ्ने माझीले आफु २००८ सालमा जन्मीएकी र हाल सम्म पनि नागरिकता नपाउँदा दाल,चामल मिलेको जस्तै भएको बताईन्  । तर उनलाई दाल,चामल कसले र कसरी दिन्छ भन्ने विषय थाहा छैन् ।
त्यसपछि माझीले आफुले १६÷१७ वर्ष कै उमेरमा नागरिकता पाउनुपर्ने भएपनि लामो समयसम्म अनागरिक हुँदाको कहानी सुनाइन् ।“हरिपुर नगरपालिका ९,माझीटोलमा २००८ सालमा जन्मिएकी हुँ विवाह कति सालमा भयो । याद  छैन।तर,चन्द्रनगर गाउँपालिका ६, कामत टोल निवासी बुधवा माझीसँग विवाह भएको हो ।” माझीले बताईन् । उनले “श्रीमान् बुधवाको समेत १० वर्ष पहिले मृत्यु भइसकेको छ। हाम्रा बालबच्चा भएनन्। श्रीमानको नागरिकता छ ।”कमलामाई मिडिया प्रा.लिलाई बताइन् ।
श्रीमानसँग नागरिकताका लागि निकै आग्रह गरेको भएपनि श्रीमानले तिमीलाई नागरिकता के काम भन्ने र टार्ने मात्र गरे’त्यस पश्चात श्रीमानको मृत्यु भएपछि सहारा बिहिनी बनेको उनको गुनासो छ ।
श्रीमानसंग नागरिकता कुरा गर्दा उल्टै हप्कीदप्कीदेखि कैयौँ पटक कुटाइसमेत खानुप¥यो।’ उनले गुनासो गरिन् । सम्पत्तिको नाममा माझीको कामत टोलमा एक धुर ऐलानी जग्गा छ।परिवार र आफन्तको नाममा उहाँ एक्ली छन् । छरछिमेकमा आफूले सकेको खेतबारी र घरायसी काम गरिदिए बापत उनीहरूले दुई छाक खान दिन्छन्। कसैकसैले दया लागेर आङ ढाक्न एकसरो कपडासमेत दिने गरेका छन् । 
गाउँमा विभिन्न संघ÷संस्था र स्थानीय सरकारले बाँडेको राहत नागरिकता नभएका कारण नपाएको सम्झना उहाँसँग अझै ताजै छ ।‘मजस्तो मान्छेलाई सबैजनाले  नागरिकता देखाऊ अनि दाल–चामल दिन्छौँ भनेर,फर्काए,’ उहाँले गहभरि आँसु पार्दै सुनाइन् । ‘त्यसैका लागि भए पनि नागरिकता बनाउने सपना बोकेर हिँडेकी हुँ,’नागरिकता दिलाइदिने आसमा पाँच वर्ष त गाउँका विभिन्न साहुको घरमा कमारो बसेको उनको दुखेसो छ । तैपनि उनलाई कसैले नागरिकता दिलाइ दिएनन्। विपन्न सोझी एक्ली महिलाको फाइदा मात्र लिएका चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष रामस्वरुप राउतले बताए । नागरिकता बनाइदिन भन्दै उहाँ ठूलाबडाको घरघर चहार्दा चहार्दै ७० वर्ष बित्यो । हामी स्थानीय निकायको निर्वाचन २०७९ बैशाखमा निर्वाचित भएर आएपछि उनलाई नागरिकता कसरी दिलाउन सकिन्छ भनेर लागि परेको रअहिले माझीले नागरिकता पाएकी वडा अध्यक्ष राउतले बताए ।
वडा अध्यक्ष राउत र स्थानीय रामकेवल माझीको पहलमा आफुले नागरिकता पाएको माझीको भनाई छ । माझीलाई एकधुर जग्गा र छिमेकीको एक धुर मिलाएर दुई धुरमा जनता आवासले दुईकोठे घर बनाइ दिएको छ । 
त्यसमध्ये एउटा कोठामा उनी र एउटामा छिमेकीको परिवार बस्ने गरेका छन्। “माझीको कोठामा थोरै दाउरा र एक गुजुल्टो पराल बाहेक केही छैन। खाट,पलङ,सिरक,डसना जे भने पनि उनको लागि त्यही पराल हो।काम गरेको ठाउँमा दिएको खाएर आउछिन् । थोरै पराल ओछ्याउछिन र थोरै ओडेर सुत्छिन्। बिहान फेरि परालको गुजुल्टो पारेर छिँडीमा राखेर गाउँतिर काम खोज्न निस्किन्छीन् । अब स्थानीय सरकारको तर्फबाट उनलाई के सहयोग गर्न सकिन्छ,त्यो गर्ने”चन्द्रनगर गाउँपालिका ६ का वडा अध्यक्ष राउतले बताए ।
आफ्नो नागरिकता लिएर मात्रै मर्ने सपना थियो त्यो पुरा भयो माझीले बताईन् । अनागरिकबाट नागरिक बनेकी ७१ वर्षकी माझीले अब आफुलाई वृद्ध पेन्सन पाउने आस जागेको सुनाइन् । पेन्सन पाए बाँकी बुढेसकाल केही सजिलोसँग बित्ने उनको सोचाई छ ।“चन्द्रनगर गाउँपालिकाको वडा नम्बर ६ कामत टोलमा मात्र यसरी अनागरिक बनेर बसिरहेका २०–२५ जना छन् ।उनिहरुलाई प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर कसरी नागरिकता दिलाउन सकिन्छ भन्ने विषयमा आफु केन्द्रीत रहेको र यी सबै जनाको नागरिकता बनाई दिन पाए राज्यको सामान्य सेवा,सुविधाबाट समेत वञ्चित नहुने थिए । ”वडा अध्यक्ष राउतले बताए ।
“चन्द्रनगर गाउँपालिका ६ को कार्यालयका अनुसार कामदका नागरिकता नपाएका मानिसहरु पटकपटक वडा कार्यालय,जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र गाउँकै प्रहरी कार्यालय धाएका भएपनि आफुहरु नयाँ जनप्रतिनिधि भएकाले कानुनी कुरा बुझ्न समय लागेका कारण नागरिकता सिफारिसगर्न नसकिएको” चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।
“गैरकानुनी रूपमा धेरै भारतीय नागरिकले नेपाली नागरिकता बनाएको कुरा यस क्षेत्रमा नौलो होइन। तर, पुर्खौँदेखि बसोवास गर्दै आएका माझी,मुसहर समुदायका मानिसहरु पहुँच नपुगेकै कारण पुस्तौँदेखि अनागरिकको जीवन बाँचिरहेका छन् । अब हाम्रो कार्यकालमा कानुनी कुराबुझेर उनिहरु सबैलाई  नागरिकता दिलाउछौँ ।” गाउँपालिका अध्यक्ष महतोले बताए ।
यस समुदायका कैयौँ अझै अनागरिक छन् । यसरी गाउँपालिकामा रहेका नागरिकताको समस्यामा पालिकाले सक्ने पहल कदमी गरिरहेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले बताए । सम्बन्धित निकायसम्म पुगेर आफैँले पनि मुसहर,माझीलगायत समुदायका व्यक्तिको नागरिकताको समस्या राखेको उनको भनाई छ। “जनप्रतिनिधिमा निर्वाचित हुनुपुर्व एक संस्थाको सहयोगमा आफुले मुसहर,माझी बस्तीमा रहेका नागरिकको नागरिकता बनाउने,प्रतिलिपि निकाल्न लगायतको अभियान नै सञ्चालन गरेको” गाउँपालिका अध्यक्ष महतोले बताए ।
उनीहरूले नेपालको संविधानले निदृष्ट गरेको प्रक्रिया पूरा गरेर नागरिकता प्राप्त गर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । प्रमुख जिल्ला अधिकारी गौतमका अनुसार,‘कसैलाई नागरिकताबाट वञ्चित गर्ने राज्यको नियत नहुने र राज्यले तोकेका प्रक्रिया पूरा गरेर आउने हरेक नेपालीले नागरिकता लिन पाउने छन् । 
विपन्न,गरीब र अशिक्षित भएका कारण उनीहरुलाई प्रक्रिया पु¥याउन केही समस्या भएको आफुले पनि बुझेको प्रमुख जिल्ला अधिकारी गौतमले बताए । साथै यस विषयमा स्थानीय सरकारको सहकार्यमा व्यवस्थापनको पहल भइरहेको उनले बताए ।
मधेश प्रदेशका धेरै गाउँहरुमा अहिले पनि अशिक्षाका कारण राज्यले तोकेका प्रक्रिया पुरा गर्न नसक्दा,नजाँन्दा धेरै मानिसहरु नागरिकता लिनबाट बञ्चीत भएका र अनावश्यक हैरानी खेपी रहेको पाइएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech