मधेश प्रदेश ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा करिब ११ करोड राजस्व सङ्कलन

1.1k Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय  पथलैया,मधेश प्रदेशले चालु आर्थिक वर्ष २०७९/०८० को छ महिनामा सवारी साधन कारबाहीबाट रु १० करोड ७७ लाख १५ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०७९÷०८० को छ महिनामा एकलाख ४६ हजार एक सय ८० वटा सवारी साधन कारबाहीमा परेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय  पथलैया,मधेश प्रदेशका प्रमुख प्रहरी उपरिक्षक सन्तोष भट्टराईले चालु आर्थिक वर्षको छ महिनामा मधेश प्रदेशका आठै जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच सय ८५ जनाको ज्यान गएको जानकारी दिए । उनका अनुसार मधेश प्रदेशका आठै जिल्लामा पाँच हजार सात सय ११ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा आठ हजार तीन सय पाँच वटा सवारी साधनहरुको संग्लग्नता रहेको र सो अवधिमा नौ हजार चार सय ६४ जना घाईते भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय  पथलैया,मधेश प्रदेशका प्रमुख प्रहरी उपरिक्षक भट्टराईले जानकारी दिए ।
पछिल्ला तीन आर्थिक वर्षमा मधेश प्रदेशका जिल्लाहरुमा दुर्घटना र त्यसमा परेर ज्यान गुमाउनेको सङ्ख्या लगातार बढ्दै गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख गरिएको छ । आव २०७६÷०७७ मा एक हजार तीन सय ४० वटा सवारी दुर्घटना भएकोमा चार सय २० जनाको ज्यान गएको थियो । त्यस्तै आव २०७७/०७८ मा तीन हजार नौ सय ८३ वटा सवारी दुर्घटना भएकामा पाँच सय २३ जनाले ज्यान गुमाएको र आव २०७८÷०७९ को छ महिनामा पाँच हजार सात सय ११ वटा सवारी दुर्घटना हुँदा पाँच सय ८५ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
मधेश प्रदेशका आठै जिल्लामा सडक र सवारी दिन प्रतिदिन असुरक्षित बन्दै गएको रौतहट सर्लाही यातायात प्रालिका अध्यक्ष राजकुमार मैनालीले बताए । सवारी दुर्घटना न्यूनीकरण गर्न सरोकारवाला निकाय बढी जिम्मेवार बन्नुपर्ने नागरिक अगुवा शिवचन्द्र चौधरीको भनाइ छ । साँघुरा सडक,सडकको दुरावस्था,लापरबाहीपूर्ण यातायात सञ्चालन र सवारी साधनको चापका कारण सवारी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यवस्थापन कार्यालय मधेस प्रदेशका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।उनका अनुसार सडकमा हुनुपर्ने सचेतना र सूचना पाटी, सडक लाइनिङसमेत नदेखिने अवस्थामा रहँदा दुर्घटनाको जोखिम बढेको हो ।
दुर्घटना न्यूनीकरणका सम्पूर्ण उपाय अवलम्बन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी व्यावस्थापन कार्यालय  पथलैया,मधेश प्रदेशका प्रमुख भट्टराईको भनाइ छ । उनका अनुसार दुर्घटना न्यूनीकरण गर्न सडकमै सचेतना कार्यक्रम चलाउनेदेखि विद्यालयमा ट्राफिक नियमसम्बन्धी कक्षा लिने गरिएको छ । दुर्घटना नियन्त्रण गर्न नियमित र आकस्मिक सवारी चेक जाँचसँगै ट्राफिक नियम विपरीत सञ्चालित सवारी साधनहरू र तिनका चालकहरूलाई नियमानुसार दण्ड तथा जरिवाना समेत गर्ने गरिएको प्रहरी उपरिक्षक  भट्टराईले बताए ।

सम्बन्धित समाचार