Close This

सर्प पाल्न खरिद गरिएको जमिन चरन क्षेत्र बन्दै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-१७ गते   २७७ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन गर्न खरिद गरेको करिब १० बिघा जमिन अहिले चरन क्षेत्र बनेको छ । नेकपा(एमाले)का तत्कालीन अध्यक्ष झलनाथ खनाल २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट चुनाव लड्दा चुनावी प्रचारको क्रममा लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जमा सर्पदंशबाट एक बालकको मृत्यु भएको र उनको परिवारमा रुवाबासी चलेको देखेर खनालले त्यही झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको घोषणा गरेका थिए ।
समयमा भ्याक्सिन नपाएर बालकको मृत्यु भएको थाहा पाएपछि नेता खनालले सर्पले टोकेमा भ्याक्सिन नपाएर मृत्यु हुने अवस्था अन्त्य गर्ने भन्दै प्रतिष्ठानको घोषणा गरेका थिए । आफ्नो गृह जिल्ला इलाम र सर्लाहीबाट चुनाव लडेका खनाल इलाममा विजयी भएका थिए । भने सर्लाहीमा पराजीत भए ।
नेपालमै पहिलो पटक एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्न पहल सुरु गर्ने निर्णय गर्दै प्रतिष्ठानको घोषणा गरेका खनालले‘सर्पको टोकाइबाट बालकको मृत्यु भएको घटनाले आफुलाई निकै प्रभावित पारेका कारण सर्लाही मै प्रतिष्ठान खोलेर एन्टिस्नेक भेनम (एएसभी) उत्पादन गर्ने भन्दै दर्ता भएको  झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन गर्न खरिद गरेको करिब १० बिघा जमिन अहिले चरन क्षेत्र बनेको हो ।
‘एन्टिस्नेक भेनम’उत्पादन गर्ने काम आफैंमा महत्वपूर्ण थियो । तर,नेताले आफ्नै नाममा प्रतिष्ठान खोलेको भनेर आलोचना पनि भयो । काम पनि विवादित हुँदै गएपछि संस्था अहिले करिब रु १९ करोड खर्च गरेर अलपत्र जस्तै भएको छ । विवाद बढ्दै गएपछि गत साउनमा संस्थाको नाम नै परिवर्तन गरेर राष्ट्रिय स्वास्थ्य विज्ञान एवं अनुसन्धान परिषद् बनाईएको परिषदका अध्यक्ष रेवती पन्तले जानकारी दिए ।
नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा प्रतिष्ठानलाई रु ७२ करोड दिने सम्झौता भएको थियो । ‘रु ७२ करोड नेता खनालले लगे भन्ने हल्ला भयो । कसैले पनि यथार्थ बुझ्न खोजेनन्,राम्रो कामका लागि खोलिएको संस्था भए पनि धेरै बदनामी कमाइयो,’परिषदका अध्यक्ष पन्तले बताए । उनले‘अफवाह फैलिएपछि संस्थाको नाम परिवर्तन गर्नुपरेको’बताए ।
व्यक्तिका नाममा संस्था खोलिएपछि सर्वसाधारणले विरोध गरेका मात्र होइनन्,सहयोग गर्न दातृ निकाय हिचकिचाएको अध्यक्ष पन्तको भनाई छ । ‘नाम परिवर्तनसँगै दातृ निकायले चासो देखाएका उनले बताए । उनका अनुसार अस्पताल निर्माण भएपछि थाइल्यान्डबाट मेडिकल उपकरण निःशुल्क रूपमा प्राप्त हुने सहमति भएको छ,।’‘भारतको सेरम इन्स्टिच्युटले भेनम बनाइदिने समझदारी भएको छ ।’यस्तै,सर्प पाल्नका लागि आवश्यक प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न विभिन्न निकायले प्रतिबद्धता जनाएका परिषदका अध्यक्ष पन्तले बताए ।तर,त्यो काम कहिले हुन्छ भन्ने यकिन छैन,किनकि संस्था स्थापना भएको आठ वर्षसम्म न्यूनतम संरचना पनि निर्माण भएको छैन् ।
परिषद्का अध्यक्ष पन्तका अनुसार २०७१ सालमा स्थापना भएको संस्थालाई सरकारले हालसम्म रु १९ करोड उपलब्ध गराइसकेको छ,र यो रकम खर्च पनि भइसकेको छ । तर, सर्प पाल्ने योजना कहिलेबाट सुरु हुने प्रस्ट छैन । प्राप्त रकम डीपीआर,जग्गा खरिद, अध्ययन अनुसन्धानमा खर्च भएको अध्यक्ष पन्तले बताए ।
लालबन्दी नगरपालिका १ मा करिब रु ७ करोड खर्चेर परिषदले जग्गा खरिद गरेको छ । नन्देश्वर महादेव सामुदायिक वन क्षेत्र नजिकै खरिद गरिएको करिब १० बिघा जमिन अहिले भैंसी चरनमा उपयोगी बनेको छ ।‘कार्यालय र भेनम उत्पादनका लागि चाहिने जग्गा र संरचना बनाउनुपर्ने भएकाले करिब १० बिघा जमिनसहित १० कट्ठा ऐलानी जग्गा लिएका छौं,’अध्यक्ष पन्तले बताए ।
संस्थाको जग्गामा कम्पाउन्ड वाल निर्माणका लागि पिल्लर ठड्याइएको छ,त्यो पनि अपूरो छ । २२ वटा भवन बनाउने योजना भए पनि चार वटा भवन निर्माण गर्न रु ३४ करोडमा ठेक्का लगाइएको छ तर भवनको जगसमेत खनिएको छैन । शर्मा एन्ड धुलिखेल जेभीले निर्माणको ठेक्का पाएको थियो ।‘कम्पाउन्ड वाल निर्माण तथा अन्य काममा रु छ करोड खर्च भएको भन्दै भुक्तानीका लागि बिल आएको थियो तर सन्तोषजनक काम नदेखिएपछि हामीले रोकेका छौं,’ अध्यक्ष पन्तले बताए । 
परिषद्ले अस्पताल,प्रयोगशाला,प्रशासनिक भवन र सर्प पाल्न भवन निर्माणको लक्ष्य राखेको छ । एन्टिभेनम उत्पादन,परीक्षण र अध्ययन गर्ने केन्द्र यही क्षेत्रभित्र बनाउने भनिएको छ । तर,बजेट अभावले काम अघि बढ्न सकेको छैन् । अध्यक्ष पन्तले बताए ।
प्रतिष्ठानले तयार गरेको गुरुयोजनामा करिब साढे तीन अर्बको लागतमा नेपालमै एन्टिभेनम उत्पादन सम्भव हुने उल्लेख छ । ओली नेतृत्वको सरकारले रु ७२ करोड दिने घोषणा हुँदा केन्द्र सरकारले ४० प्रतिशत र प्रदेश सरकारले ६० प्रतिशत बजेट बेहोर्ने भनिएको थियो । 
आर्थिक वर्ष २०७६÷०७७ मा केन्द्रले रु छ करोड बजेट पठाएको थियो । प्रदेश सरकारले उक्त रकममा ६० प्रतिशत थप गरेर पठाइ दिनुपर्नेमा प्रदेशका मन्त्रीहरूबाट कमिसन माग भएपछि बजेट रोकिएको अध्यक्ष पन्तले बताए । उनका अनुसार ‘प्रदेश मन्त्रीले नै कमिसन मागेपछि बजेट फ्रिज भयो,’‘पहिलो किस्ताबाहेक अर्को किस्ताको बजेट आएकै छैन ।’
स्थानीय सरकारबाट समेत वार्षिक रु एक करोड दिने सम्झौता भएको थियो । तर, लालबन्दी नगरपालिकाले सम्झौताको रु पाँच करोड भुक्तानी गर्नै बाँकी रहेको अध्यक्ष पन्तले बताए । परिषदमा हाल चार जना कर्मचारीहरु कार्यरह रहेका छन् । उनीहरु कै तलबमा मासिक करिब रु डेढ लाख खर्च हुने गरेको छ । ‘कार्यालयको मासिक भाडा नै रु ५० हजार छ,’ अध्यक्ष पन्तले बताए ।
परियोजना व्यवस्थित रूपमा सञ्चालन भए स्वास्थ्य क्षेत्रका लागि ठूलै उपलब्धि हुने हो । किनकि नेपालमा हरेक वर्ष सर्पदंशबाट करिब तीन हजार मानिसको मृत्यु हुने गरेको गत फेब्रुअरीमा प्रकाशित अनुसन्धानले देखाएको छ । सर्प पाल्ने दुई विकल्पमा जाने सोच बनाइएको परिषद्का कार्यक्रम संयोजक उमेश बरालले बताए । भवन निर्माण गरेर त्यहीं सर्पको उत्पादन गर्ने र जंगलबाट सर्प ल्याएर क्वारेन्टिनमा राखी विष निकाल्ने काम गरिने बरालले बताए ।
परिषद्ले विभिन्न प्रजातिका बीऊ सर्प ल्याएर यहीं उत्पादन गर्ने योजना बनाएको छ । यसका लागि सयभन्दा बढी सर्पहरू चाहिने बरालले बताए ।उनका अनुसार ‘उच्च सुरक्षासहितको भवन बनाएर बाहिरकै तापक्रममा राखेर विष निकालिन्छ,।’‘प्राकृतिक अवस्थाबाट ल्याइएको सर्पलाई केही दिन क्वारेन्टिनमा राखेर स्वास्थ्य परीक्षण गरेपश्चात् विष निकालेर पुनः प्राकृतिक अवस्थामा छाडिन्छ ।’ परिषद्का कार्यक्रम संयोजक उमेश बरालले बताए । 
पहिलो चरणमा विष निकालेर कच्चा पदार्थका रूपमा भारतको सेरम इन्स्टिच्युटमा परीक्षण गराएर एएसभी बनाउने योजना बनाएको परिषद्का कार्यक्रम संयोजक उमेश बरालले बताए । दोस्रो चरणमा प्रयोगशाला निर्माण हुन्छ र घोडा पालन गर्छौं अनि परीक्षण गरेर यहीं उत्पादन गर्छौं ।’विज्ञकै परामर्शमा सर्प पाल्नका लागि चाहिने भूगोल र वातावरण सुहाउँदो जग्गा खरिद गर्ने अध्यक्ष पन्तले बताए । उनका अनुसार सर्लाही,झापा,महोत्तरी,चितवन,नवलपरासी,बाँके वातावरणीय हिसाबले सर्प पाल्न उपयुक्त ठाउँ हुन् ।
‘सर्प पालनका लागि धेरै प्राविधिक काम गर्नुपर्ने भएकाले चुनौती छ । अहिल्यै सर्प मात्रै पालेर एन्टिभेनम नेपालमै उत्पादन गर्न सकिने अवस्था छैन । हामीसँग ल्याब पनि छैन,’ परिषद्का कार्यक्रम संयोजक उमेश बरालले बताए । उनका अनुसार ‘सर्प पालेर भारतको एन्टिभेनम निर्माण गर्ने कम्पनीलाई कच्चा पदार्थ दिएर एन्टिभेनम ल्याउन सकिन्छ । त्यसका लागि तत्काल घोडा पाल्नु पर्दैन ।’ विषालु सर्पबाट निकालिएको विषको निश्चित मात्रा घोडामा दिइन्छ । विष निष्क्रिय पार्ने क्रममा घोडाले एन्टिबडी निकाल्छ र त्यही एन्टिबडी रगतबाट संकलन गरिन्छ । त्यसरी संकलित रगतलाई प्रशोधन गरेर एएसभी बनाइने परिषद्का कार्यक्रम संयोजक उमेश बरालले बताए ।
नेपालमा भेनम उत्पादन गर्ने सवालमा स्पष्ट नीति पनि छैन । भारत सरकारले सन् २०१२ देखि एएसभी निर्यातमा रोक लगाए पनि विश्व स्वास्थ्य संगठनको विशेष पहलमा नेपाल ल्याउने गरिएको छ ।‘भारतले आफ्नै आन्तरिक माग धान्न सकिरहेको छैन । भारतले आफ्नो प्रविधिमार्फत सहयोग गर्ने भनेको छ । विस्तृत रूपमा त्यसको उत्पादनका लागि के गर्न सकिन्छ भन्ने छ,’ परिषद्का कार्यक्रम संयोजक उमेश बरालले बताए ।‘अहिले प्रविधिमा भारतीय कम्पनीले सहयोग गर्ने र दोस्रो चरणमा कच्चा पदार्थ पठाउने समझदारी भएको छ ।’ उनको भनाई छ ।
भारतमा हैदराबादको भिन्स बायोप्रोडक्ट्स लिमिटेड,महाराष्ट्रको भारत सेरम्स एन्ड भ्याक्सिन्स लिमिटेड,मुम्बईको हाफ्किन इन्स्टिच्युट,पुनेको सेरम इन्स्टिच्युट अफ इन्डिया प्राइभेट लिमिटेड,प्रिमियम सेरम एन्ड भ्याक्सिन्स प्राइभेट लिमिटेडलगायत दर्जनभन्दा बढी कम्पनीले एएसभी उत्पादन गर्दै आएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा वार्षिक रूपमा ५० हजारभन्दा बढी भाइल एएसभी आयात हुने गरेको छ ।
सर्पदंशका अधिकांश घटनामा कृषक र विपन्न वर्गहरू पर्ने गरेका छन्। घरबाहिर सुत्ने, खेतमा जाने,जंगलमा जाने क्रममा वा घरभित्रै सुतिरहेको अवस्थामा सर्पदंशका घटना बढी हुने अध्ययनहरूले देखाएका छन् । तराईका २३ जिल्लामा वार्षिक सर्पदंशका ३७ हजार छ सय ६१ वटा घटना हुने गरेको युनिभर्सिटी अफ जेनेभा,बीपी प्रतिष्ठान,विश्व स्वास्थ्य संगठनका छ जना चिकित्सकले गरेको एक वर्ष लामो अध्ययनबाट पुष्टि भएको छ ।
ल्यान्सेट जर्नलमा प्रकाशित‘स्नेकबाइट इपिडिमियोलोजी इन ह्युमन एन्ड डमेस्टिक एनिमल्स एक्रस द तराई रिजन इन नेपाल ःअ मिल्टक्लस्टर रेन्डम सर्भे’शीर्षकमा प्रकाशित आलेखले हरेक वर्ष सर्पदंशका २६ हजार सात सय ४९ देखि ३७ हजार छ सय ६१ घटना हुने गरेको उल्लेख गरेको छ । ती घटनामा दुई हजार तीन सय ८६ देखि तीन हजार दुई सय २५ जनाको मृत्यु हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठनले यसअघि नेपालमा बर्सेनि २० हजार वटा सर्पदंशका घटना हुने र तीमध्ये एक हजार जनाको मृत्यु हुने उल्लेख गरेको थियो । २३ जिल्लाका दुई सय ४९ गाउँका १३ हजार आठ सय ७९ वटा घरमा एक वर्ष लगाएर गरिएको सर्वेक्षणबाट उक्त तथ्य निकालिएको थियो । सर्पदंश घटनामध्ये ४८ दशमलव आठ प्रतिशतलाई विषालु सर्पले टोकेको पाइएको थियो । तीमध्ये सात दशमलव आठ प्रतिशत मानिसको मृत्यु भएको अनुसन्धानमा उल्लेख छ । सो अनुसन्धानले तराईका हरेक एक लाख मानिसमा  दुई सय ५१ जनालाई सर्पले टोक्ने गरेको देखाएको छ । तीमध्ये २२ जनाको मृत्यु हुने गरेको छ ।
सर्पदंशका कारण मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् । ६४ प्रतिशत महिलामात्र छन् । पूर्वी नेपाल र मध्यमाञ्चलमा मृत्युदर बढी पाइएको थियो । यसअघि सन् २००४ मा पूर्वी नेपालमा गरिएको अनुसन्धानले सर्पदंशका कारण ८० प्रतिशत मानिसको अस्पताल पु¥याउनुअघि नै ज्यान जाने गरेको देखाएको थियो । विश्वमा हरेक वर्ष २० लाखभन्दा बढी सर्पदंशका घटना हुने गर्छन् । तीमध्ये ८१ हजारदेखि एक लाख ३८ हजार मानिसले ज्यान गुमाउने गरेका छन् ।
नेपालमा हाल ८४ प्रजातिका सर्प पाइन्छन् । तीमध्ये करिब २१ प्रजातिहरू विषालु छन् । विषालुमध्ये गोमन,करेत,रुसेल्स भाइपर,किङ कोब्रा र कोरल स्नेक (कर्कट नाग) सबैभन्दा धेरै विषालु हुन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech