गोलभेँडाको शहर लालबन्दीमा गोलभेँडाको भाउ नपाएपछि किसानहरु मारमा परेका छन् । भारतिय गोलभेँडा भित्रिएपछि नेपाली गोलभेँडा निकै सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन् । बजारमा भारतीय गोलभेँडा व्यापक मात्रामा भित्रिँदा जिल्लाका किसानहरुले उत्पादन गरेका गोलभेँडाले बजार पाउन छाडेपछि आफुहरु निकै मारमा परेको भन्दै जिल्ला किसानहरुले गुनासो गरेका छन् ।
जिल्लाका किसानहरुले उत्पादन गरेको गोलभेँडा प्रतिक्रेट रु एक सय ५० देखि दुई सय सम्ममा बिक्री गरिरहेका छन् ।एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ । यसरी गोलभेँडा प्रतिकेजी रु छ देखि आठमा बेच्नुपर्दा लागत नै उठाउन मुस्किल रहेको हरिवन नगरपालिका–२,आँमटोलका किसान रामपुकार महतोले गुनासो गरे ।
उनले“सुरुमा एक क्रेट गोलभेँडा रु एक हजार दुई सयसम्ममा पनि बेच्यौँ तर अहिले आएर रु एक सय ५० मा बेच्नु परेको” बताए ।उनले भने“यो भाउमा गोलभेँडा बेचेर न जनको खर्च उठ्छ,न जोताइको,हामी किसान त अन्यायमा परेका छौँ ।”
लालबन्दी बजारबाट तरकारी निकासी हुने देशका मुख्य बजारमा भारतीय गोलभेँडा छ्यापछ्याप्ती भित्रिँदा जिल्लाका किसानहरुलाई गोलभेँडा बेच्नै समस्या हुन थालेको छ । लालबन्दी नगरपालिका १०, तुलसी टोलका किसान प्रेम श्रेष्ठले गोलभेँडा बेच्नै समस्या भइरहेको बताए । उनले “क्रेटको रु डेढ सयले गोलभेँडा बेच्दा हाम्रो लागत र हैरानी धरी उठ्दैन,त्यही पनि व्यापारीले किनिरहेका छैनन्,”बताए । काठमाडौँमा नै गोलभेँडाको भाउ नरहेको भन्दै व्यापारीले गोलभेँडामा भाउ नै नलगाउने गरेका किसान श्रेष्ठले गुनासो गरे ।
लालबन्दी नगरपालिका १ नवलपुरका किसान राम चरित्र कुशवाहले १० कठ्ठा जमिनमा लगाएको गोलभेँडा धमाधम टिपेर बेच्ने बेला भए पनि बजारमा ल्याउँदा व्यापारीले खरिद गर्न नमानिरहेको बताए । उनले “भारतीय गोलभेँडा सस्तोमा आइरहेको छ भन्दै व्यापारीले हाम्रो गोलभेँडा लिन मानिरहेका छैनन्,”बताए ।
खेतभरी पाकेर राताम्मे भएको गोलभेँडा तत्काल बिक्री नगरे नष्ट भएर जाने भएकाले किसान व्यापारीले भनेकै मूल्यमा गोलभेँडा बिक्री गर्नुपर्ने बाध्यतामा रहेका कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीको भनाई छ । पछिल्लो समय बिचौलिया सक्रिय हुँदा किसान थप मारमा परेका कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीका बजार व्यावस्थापक शम्भु प्रसाद घिमिरेले बताए ।
भारतीय गोलभेँडा धरै भित्रिरहेको र गोलभेँडा उत्पादन हुने मध्यसिजन भएकाले जिल्लाका किसानहरुले उत्पादन गरेको गोलभेँडाले भाउ पाउन नसकेको लालबन्दी कृषि थोक तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका व्यापारी तोरनबहादुर मगरले बताए । उनका अनुसार “बजारमा अहिले भारतीय गोलभेँडा धेरै देखिन्छ, जिल्लामा पनि गोलभेँडा धेरे नै फलेको छ, त्यसैले किसानले भाउ पाउन नसकेका हुन् ।”
जिल्लाको लालबन्दी,रानिगन्ज,पत्थरकोट,चन्द्रपुर,हीरापुर,नवलपुर,अत्रौली,सासापुरलगायतका क्षेत्रमा गोलभेँडाको व्यवसायिक खेती हुने गरेको छ । लालबन्दी बजारबाट अहिले दैनिक २५ देखि ३० टन गोलभेँडा काठमाण्डौँको कालिमाटीलगायत देशका प्रमुख बजारमा निर्यात भइरहेको कृषि थोक बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ ।
जिल्लाका गोलभेँडा उत्पादक किसान वास्तवमै मारमा परेका कृषि ज्ञान केन्द्र सर्लाहीका प्रमुख कमलदेव प्रसाद कुशवाहले बताए ।उनका अनुसार“जिल्लाका व्यापारी र गोलभेँडा उत्पादक किसानहरुबीच आपसमा भाउ तय गरेर तरकारीको किनबेच हुुन्छ, अहिले क्रेटको रु डेढ÷दुई सयमा गोलभेँडा बेच्नुपर्दा किसान मारमा नै परेकाछन् ।” बताए “कृषि बजार निर्देशनालय,नगरपालिका,व्यापारी र गोलभेँडा उत्पादक किसान बसेर भाउ तय गर्ने हो भने किसानहरुलाई राहत मिल्ने”कृषि ज्ञान केन्द्र सर्लाहीको भनाई छ । भने स्थानीय सरकारले वेवास्था गरेका कारण आफुहरु मारमा परेको जिल्लाका गोलभेँडा उत्पादक किसानहरुको गुनासो छ ।