Close This

सर्लाही भन्सारद्धारा चालु आ.वको छ महिनामा ४४ प्रतिशत राजश्व संकलन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२० गते   ३७६ पटक हेरिएको

भन्सार कार्यालय मलंगवा,सर्लाहीले चालु आर्थिक वर्ष २०७९÷०८० को छ महिनामा कुल लक्ष्यको ४४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा रु ४० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा चालु आर्थिक वर्षको छ महिनामा रु १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको भन्सार कार्यालय मलंगवा,सर्लाहीका भन्सार अधिकृत नरेश साहले जानकारी दिए ।उनका अनुसार कार्यालयले चालु आवमा रु ७८ करोड ५० लाख ७६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
सो भन्सार कार्यालयले आव २०७८/०७९ मा लक्ष्यको ८५ प्रतिशत र आव २०७७÷७८ मा लक्ष्यको एक सय ७६ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । राजस्वमा बढी योगदान गर्ने वस्तुको आयात घट्दा राजस्व सङ्कलन प्रभावित भएको भन्सार कार्यालय मलंगवा, सर्लाहीका भन्सार अधिकृत साहले बताए ।“आयात हुने मालवस्तुहरुमा आलु प्याज,कोइला,सख्खर,माछाको दाना,भेनियर र फर्मलडिहाईड रहेका छन् भने आयात निर्यात वन्द भएका मालवस्तुहरुमा धान र गहु  रहेका”भन्सार कार्यालय मलंगवा,सर्लाहीले जनाएको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको छ महिनामा आलु रु पाँच करोड ७४ लाख १७ हजार,प्याज रु दूई करोड ९६ लाख ८२ हजार,कोईला रु एक करोड ७२ लाख तीन हजार,सख्खर रु एक करोड ५८ लाख ८७ हजार,भेनियर रु ९१ लाख ९८ हजार,फर्मलडिहाईड रु ५५ लाख चार हजार र माछाको दाना रु ६८ लाख २४ हजार गरी कुल रु १७ करोड ३५ लाख ८६ हजार राजस्व सङ्कलन भएको हो ।
गत आर्थिक वर्ष भन्दा चालु आवको राजस्व सङ्कलन लक्ष्य रु ७८ करोड ५० लाख ६७ हजार भएको र आयात घटेकाले राजस्व सङ्कलन प्रभावित भएको भन्सार अधिकृत साहले बताए ।उनका अनुसार आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणका कारण लामो समय व्यापार व्यावसाय बन्द रहेको र जिल्लामा रहेका अरु सात वटा छोटी भन्सार कार्यालयहरु पनि बन्द रहेका कारण पनि राजश्व संकलनमा केही प्रभाव परेको कार्यालयले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech