प्रतिनिधि सभा विघटनको निर्णय फिर्ता लिन प्रमुख आठ दलका सचेतकहरूले विज्ञप्ती मार्फत गंभीर ध्यानाकर्षण गराएका छन्। “जेन जी”पुस्ताले भदौ २३ र २४ गते गरेको देशव्यापी प्रदर्शनले नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन सरकार अपदष्त गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान २०७२ को धारा ६१ को प्रयोग गर्दै पूर्व न्यायधीश सुसिला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेपछि उनले प्रतिनिधि सभा विघटन गरेकी छन् ।
त्यसपछि आठ दलले एउटै स्वरमा प्रतिनिधि सभा विघटन गरिएको भनी राष्ट्रपति कार्यालयबाट भदौ २७ गते जारी भएको विज्ञप्तिप्रति गंभीर ध्यानाकर्षण र असहमति रहेको बताएका हुन ।नेपालको संविधान तथा प्रचलित कानून बमोजिम सुशासनको माग राखेर भएको आन्दोलनको मर्म विपरित अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले संसद छलेर सडकबाट सरकार गठन र प्रतिनिधिसभाको विघटन गरिएको उनीहरुको ठहर छ।
नेपाली कांग्रेस,नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र),नेकपा(एकिकृत समाजवादी),लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा), नेपाल, जनता समाजवादी पार्टी(जसपा) नेपाल,नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका सचेतक तथा संसदीय दलका नेताहरुले एक विज्ञप्ती जारी गर्दै लोकतान्त्रिक र कानूनी राज्यमा सबै प्रकारका समस्याको समाधान संविधान र कानून बमोजिम हुनु पर्ने र सबै निकायहरू संविधान र कानून बमोजिम सञ्चालन हुनु पर्ने भन्दै अलोकतान्त्रिक तथा असंवैधानिक ढंगले प्रतिनिधिसभा विघटन गरिएको भन्दै गंभीर ध्यानाकर्षण र असहमति रहेको बताएका माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।
उनका अनुसार नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतन्त्र र संविधान सभाबाट जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान विपरितका कदमलाई कुनै पनि मूल्यमा स्वीकार गर्न नसकिने पक्षमा आठ दल एकमत भएका हुन ।जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७),सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरू एवम नेपालको संवैधानिक परम्परा विपरित रहेको उनीहरुको ठहर छ। यस्तो कार्यले नेपाली जनताको मताधिकारको अवमूल्यन गर्नुका साथै संवैधानिक सर्वोच्चता र संविधानमाथि प्रहार गरेको भन्दै आठ दलले एक विज्ञप्ती नै जारी गरेर गंभीर ध्यानाकर्षण र असहमति रहेको नेकपा(एमाले)का प्रमुख सचेतक महेश कुमार बर्तौलाले बताए ।
प्रतिनिधि सभा बिघटन गरिएको भनिएको निर्णय फिर्ता लिई तत्काल संसदको बैठक बोलाई जनता र आन्दोलनरत समूहको माग जननिर्वाचित संस्थाबाटै संम्बोधन हुने वातावरण सिर्जना गर्न सम्बन्धित सबैसँग जोडदार माग गरिएको नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बताए। विज्ञप्तीमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे,नेकपा(एमाले)का प्रमुख सचेतक महेश कुमार बर्तौला,नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे,नेकपा(एकिकृत समाजवादी)का प्रमुख सचेतक मेटमणी चौधरी,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालका प्रमुख सचेतक रामप्रकाश चौधरी, जनता समाजवादी पार्टी(जसपा)नेपालका प्रमुख सचेतक विरेन्द्र प्रसाद महतो,नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र जनमत पार्टीकी प्रमुख सचेतक अनिता देवीले हस्ताक्षर गरेका छन् ।“जेन जी”पुस्ताले भदौ २३ र २४ गते गरेको देशव्यापी प्रदर्शनको क्रममा देशभरमा ठूलो भौतिक तथा मानविय क्षेती भएको छ,भने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले घुँडा टेकेको थियो ।