सर्लाहीको चन्द्रनगर गाउँपालिकाले फागुन २० गते बालिका सम्मेलन गर्ने

1k Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले देशमै पहिलो पटक बालिका सम्मेलन गर्ने भएको छ । बालिकालाई सक्षम बनाउने उद्देश्यले चन्द्रनगर गाउँपालिकाको देश मै पहिलो पटक गाउँपालिका ७ स्थित रहेको सयौं वर्ष पुरानो ऐतिहासिक प्राकृतिक नाढीमन ताल परिसरमा आगामी फागुन २० गते बालिका सम्मेलन आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राज कुमार महतोले जानकारी दिए ।
उनका अनुसार सन् २०३० सम्ममा बाल बिवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्धेश्यमा योगदान गर्न बालिका सम्मेलन २०७९ आयोजना गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
बालिका सम्मेलन २०७९ मा पालिका,जिल्ला,प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरुको सहभागिता र तीन तीन वटै तहका बाल बिवाह,दाइजो र शिक्षा सम्बन्धी सवालहरु केन्द्रित प्राविधिक संवाद सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।
बाल बिवाह र दाइजो विरुद्धका योद्धाहरुलाई सम्मान,प्रत्येक विद्यालयमा बाल बिवाहको अन्त्य विषयक वक्तृत्वकला प्रतियोगिता र उत्कृट आर्ट पेन्टिङको प्रदर्शनी,पालिका र जिल्ला स्तरमा बाल बिवाहको अन्त्यको लागि भएको सकारात्मक प्रयास,प्रगति र चुनौती एवम विकासका साझेदार,बाल अधिकारकर्मी,प्रदेश सरकार तथा संघीय सरकारले गरेका पहल र अगामी कार्यदिशा लगायतका विषयमा विभिन्न प्राविधिक वैज्ञानिक सत्रलाई सम्मेलनको मुख्य आकर्षणको रुपमा प्रस्तुत गरिने पालिकाका अध्यक्ष महतोले जानकारी दिए ।
मधेश प्रदेशमा बाल बिवाह र दाईजो प्रथा विकृतिको रुपमा रहेको छ । जसका कारण घरेलु हिंसाका घटनाहरु अत्याधिक हुने गरेका सरोकारवाला निकायहरुले तयारर पारेको तथ्यांकमा उल्लेख छ ।
 

सम्बन्धित समाचार