नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । आज(शनिबार) बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको हो । जस अनुसार पेट्रोलको प्रति लिटर रु २, डिजेल र मट्टितेलमा प्रतिलिटर रु ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २ सय १५ बढाउने निर्णय गरेको हो ।
त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर रु ८ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य आज(शनिबार) राति १२ः०० बजेपछि लागू हुनेछ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु २ हजार १ सय १० पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली,विराटनगर,जनकपुर,अमलेखगन्ज, भलबारी,नेपालगन्ज,धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर १ सय ८२ रुपैँया ५ पैसा, दोस्रो वर्ग (सुर्खेत र दाङ)मा रु १ सय ८४ र काठमाडौँ, पोखरा र दिपायलमा रु १ सय ८५ पुगेको छ ।
त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा १ सय ७६ रुपैँया ५ पैसा, दोस्रो वर्गमा रु १ सय ७८ र तेस्रो वर्गमा रु १ सय ७९ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १ सय ४४ र अन्तर्राष्ट्रियको मूल्य १ रुपैया ९५ अमेरिकी डलर कायम भएको छ ।