बरहथवा ११ हीरापुरका तीन बस्तीमा दुई महिनापछि बत्ती बल्यो,बाँकी बक्यौता नगरपालिकाले भुक्तानी गर्ने सहमती,

1k Shares

सर्लाहीको बरहथवा नगरपालिका ११, हीरापुर क्षेत्रका तीन बस्तीमा दुई महिनापछि बत्ती बलेको छ । बरहथवा नगरपालिका ११ हिरापुर क्षेत्रका तीन बस्तीमा विगत दुई महिनादेखि विद्युत सेवा अवरुद्ध भएको थियो ।
बरहथवा नगरपालिका ११ स्थित रहेको विशेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले ग्रामीण विद्युतीकरण अन्तर्गत विद्युत सेवा विस्तार गरेको थियो । संस्थाले विद्युतको बक्यौता रकम बुझाउन नसक्दा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बरहथवाले मंसिर २७ गतेदेखि ती गाउँमा बत्ती काटेको थियो । 
प्राधिकरणले लाइन काटेपछि बरहथवा नगरपालिका ११ को हीरापुर,हीरापुर ब्यारेज र खोरकट्टी गाउँका वासिन्दा दुई महिनादेखि अन्धकारमा बस्न बाध्य भएका थिए । त्यसपश्चात विभिन्न मिडियाहरुमा समाचार आएपछि बरहथवा नगरपालिकाको ध्यानाकर्षण भएपछि नगरपालिकाले बाँकी बक्यौता भुक्तानी गरिदिने भएपछि विद्युत सेवा पुन सुचारु भएको हो ।
संस्थाको नाममा रहेको रु १३ लाख २६ हजार ३४ बक्यौता रकम बरहथवा नगरपालिकाले तिरिदिने भएपछि प्राधिकरणले आइतबार रातिबाट तीन बस्तीमा विद्युत सेवा पुन सुचारु गरेको हो । गाउँमा अब ग्रामीण विद्युतीकरण हटाएर सोझै प्राधिकरणमार्फत मिटर राख्ने र बिल काट्ने व्यवस्था मिलाइएको बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवालले जानकारी दिईन् ।

सम्बन्धित समाचार