ए डिभिजनको तयारीको पुलिस सर्डन डेथमा जनजागृतिसँग पराजित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१०-२७ गते   १०३३ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगीता अन्र्तगत शुक्रबार भएको खेलमा नव जनजागृति फुटबल क्लब सिमरा, बाराले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।
बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगीता अन्र्तगत शुक्रबार तेस्रो खेल भएको र नव जनजागृति फुटबल क्लब सिमरा, बाराले नेपाल पुलिस क्लबलाई पराजित गरेको हो ।
ए डिभिजन लिग फुटबलको तयारीमा रहेको विभागिय नेपाल पुलिस क्लबलाई मोफसलको नव जनजागृतिले सर्डन डेथमा पराजीत गरेको आयोजक बागमती युवा क्लबले जनाएको छ । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त २० मिनेटको समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।
ट्राइब्रेकरमा समेत बराबरी भएपछि सर्डन डेथमा पुगेको खेलमा नेपाल पुलिस क्लबका अजित भण्डारीको प्रहार नव जनजागृतिका गोलरक्षक रोहन मगरले रोक्न सफल हुँदै टिमलाई जित दिलाएका आयोजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।उनका अनुसार पुलिसका भण्डारीको प्रहारलाई उत्कृष्ट बचाउ गर्न सफल नवजन जागृतिका गोलरक्षक मगर नै शुक्रबारको खेलमा म्यान अफ दी म्याच बन्दै नगद रु १० हजार पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
अनुभवी खेलाडीले भरिएको ए डिभिजन क्लब पुलिसलाई निर्धारित समय र अतिरिक्त समयमा पनि गोल गर्नबाट रोकेको नव जनजागृतिले खेललाई टाइब्रेकर हुँदै सर्डन डेथमा धकेल्दै नतिजा आफ्नो पक्षमा पार्न सफल भएको आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । उनका अनुसार निकै जुझारु खेल पस्किएको नव जनजागृतिको तर्फबाट समिर तामाङ,सक्कल रेग्मी,निरज मगर,जनक कोइराला,कमल श्रेष्ठ र अस्मित चौधरीले गोल गरेका थिए ।
पुलिसका तर्फबाट भने सौजन याख्खा,रवी पासवान,ऋषि पिठाकोटी मगर,वुद्ध लामा र प्रताप गुरुङले मात्रै गोल गर्न सफल भए । प्रतियोगितामा शनिबार आयोजक बागमती युवा क्लब सर्लाही र धरान फुटबल क्लब धरानले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
बागमती युवा क्लब र बागमती नगरपालिकाको खेलकुद विकास समितिको संयुक्त आयोजनामा जारी मधेश प्रदेशकै सर्वाधिक राशी पुरस्कार भएको यस प्रतियोगिताको बिजेताले नगद रु १० लाख सहित ट्रफी प्राप्त गर्ने छ । त्यस्तै, उप विजेताले नगद रु पाँच लाख प्राप्त गर्ने आयोजक बागमती युवा क्लबले जनाएको छ । आयोजकका अनुसार माघ २५ गतेबाट सुरु भएको प्रतियोगिता फागुन ७ गते सञ्चालन हुनेछ ।

प्रदेश तथा संघ सरकारको सहयोग नरहेको भएपनि बागमती युवा क्लब र बागमती नगरपालिकाले पहिलो हुँदै सातौँ संस्करणसम्म प्रतियोगिता निरन्तर सञ्चालन गरि रहेको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech