सिन्धुलीको गोलन्जोर गाउँपालिका २ का वडा अध्यक्ष दौलत कार्कीलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत सिन्धुलीले ५ दिनको म्यादको अनुमति दिएको छ । असार १४ गते गोलन्जोर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रसाद पौडेल माथि अभद्र व्यवहार गरेको उजुरी परेपछि उनी फरार भएका थिए । पछि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरेका वडा अध्यक्ष कार्कीलाई थप अनुसन्धानका लागि जिल्ला अदालत सिन्धुलीले ५ दिनको म्यादको अनुमति दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवालले जानकारी दिए ।
उनका अनुसार वडा अध्यक्ष कार्कीले प्रमुख प्रशासकीय अधिकृत पौडेल माथी गाउँसभा स्थलमा हातपात गरेका थिए ।लामो समय फरार रहेका कार्कीद्वारा प्रहरी कार्यालय सिन्धुलीमा आत्मसमर्पण गरे पश्चात अनुसन्धान सुरु भएको हो ।
वडा अध्यक्ष कार्कीले प्रमुख प्रशासकीय पौडेललाई गाउँसभाबाट नीति तथा कार्यक्रम पास गर्न पालिका अध्यक्षलाई सहयोग गरेको भन्दै सभा स्थलमा नै हातपात गरेका थिए । तेस्रो पटक छलफल गरेपछि गाउँसभाले आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम पास गरेको थियो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा नीति तथा कार्यक्रम गाउँसभाको तेस्रो बैठकबाट २५ प्रतिशत सदस्यको समर्थनमा पास गर्न सक्ने प्रवधान रहे अनुसार तेस्रो गाउँसभामा छलफल भई रहेको अवस्थामा वडा अध्यक्ष कार्कीले नीति तथा कार्यक्रम पास गराउन गाउँपालिका अध्यक्षलाई सहयोग गरेको भन्दै बाहिर बोलाएर हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत पौडेलको आरोप छ । हातपात गर्ने क्रममा प्रमुख प्रशासकीय अधिकृत चढ्ने सवारीसाधनमा समेत क्षती पुगेको गाउँपालिकाले जनाएको छ ।