मेनुका पौडेल
सर्लाहीको बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको शनिबारको खेलमा आयोजक बागमती युवा क्लबले जित निकालेको छ । आयोजक बागमती युवा क्लबले सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको शनिबार भएको खेलमा धरान फुटबल क्लबमाथि सानदार जित निकालेको हो ।
आफ्नै घरेलु मैदान बागमती नगरपालिका ११ स्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित प्रतियोगितामा बागमतीले धरानलाई ५–१ गोलको फराकिलो अन्तरले जित निकालेकोे हो ।प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउन आएको धरानमाथि आयोजक बागमतीले गोल वर्षाएको बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनालीले बताए ।
आयोजक बागमतीले १३ औँ मिनेटमा विमल घिसिङको गोलबाट गोलको खाता खोलेको हो । सिर्जन गौतमले दिएको क्रस पासलाई विमलले सदूपयोग गर्दै बललाई जाली चुमाउन सफल भएका थिए । खेलको ४१ औँ मिनेटमा धरानका गोलरक्षक आशिक कार्की अगाडि बढेको मौकामा गौतमले बागमतीका लागि दोस्रो गोल थपेका थिए । त्यसको तीन मिनेटपछि नै बागमतीका गौतमले आफ्नो तर्फबाट व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै खेललाई ३–० को स्थितिमा पुर्याएका थिए ।
मध्यान्तरसम्म ३–० ले पछि परेको धरानले खेलको ५४ औँ मिनेटमा आत्मघाती गोल ग¥र्यो । बागमतीका गौतमले प्रहार गरेको बल रोक्न खोज्दा धरानका सुरज वि.क.ले आत्मघाती गोल गर्न पुगेका हुन ।
खेलको ६१ औँ मिनेटमा बागमतीका खेलाडीले धरानका खेलाडीलाई डिबक्सभित्र लडाएपछि धरानले पेनाल्टी पाएको थियो । सो पेनाल्टीलाई सदूपयोग गर्दै धरानका दोर्जे तामाङले गोल गर्दै खेललाई ४–१ को स्थितमा ल्याएका हुन । बागमतीका तर्फबाट खेलको ८२ आँैँ मिनेटमा दीपेश चाम्लिङ राईले पाचौँ गोल गरे । धरान फुटबल क्लब धरानमा हुने बुढासुब्बा गोल्डकपको तयारी गरि रहेको छ । शनिबारको खेलमा बिजेता बागमती युवा क्लबका गौतमले म्यान अफ दी म्याच बन्दै नगद रु १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
आयोजक बागमती युवा क्लबले उत्कृष्ट खेल पस्कने गौतमलाई थप रु पाँच हजार र आफ्नो टिमका लागि पहिलो गोल गर्ने घिसिङलाई पनि रु पाँच हजार नगद प्रदान गरेको छ । बागमतीले अब क्वाटर फाइनलमा फागुन ३ गते गत वर्ष प्रतियोगिताको उपबिजेता तथा गत वर्षकै ए डिभिजन लिग बिजेता मछिन्द्र फुटबल क्लबसँग खेल्ने आयोजक क्लब बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयोजक सागर मैनालीले जानकारी दिए ।
प्रतियोगितामा आइतबार पहिलो क्वाटरफाइनल प्रतिस्पर्धा साबिक बिजेता पिप्ले युवा क्लब हेटौँडा र जावलाखेल यूथ क्बल ललितपुरबीच हुने आयोजकले जनाएको छ । जावलाखेलले पहिलो खेलमा विभागिय क्लब सशस्त्र प्रहरी बल(ए.पि.एफ)लाई पराजित गरेको हो भने डिफेन्डीङ च्याम्पियन पिप्ले युवा क्लब सोझै बाइ पाएर खेल्न लागेको हो ।
बागमती युवा क्लब र बागमती नगर खेलकुद विकास समितिको आयोजनामा जारी मधेश प्रदेश कै सर्वाधिक धनरासीको सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता फागुन ७ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको बिजेताले नगद रु १० लाख र उपबिजेताले नगद रु पाँच लाख प्राप्त गर्ने छन् ।यस्तै, विभिन्न विधाका उत्कृष्ट खेलाडीले नगद रु २५ हजार नगद र बागमती क्लबबाट उत्कृष्ट खेल खेल्ने एक जना खेलाडीले मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।