सिन्धुली र रामेछाप जोड्ने गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित सुनकोसी नदीमा बेलिब्रिज निर्माण भएको छ। गोलन्जोर गाउँपालिका ७ खुर्कोट स्थित सुनकोसी नदीमा आइतबार साँझ बेलिब्रिज निर्माण सम्पन्न भएसँगै दुई सडक जोडिएको हो।असोज ११ र १२ गते परेको भिषण वर्षापछिको बाढीले सुनकोसी नदीको पुल बगाएपछि सिन्धुली र रामेछापा विचको सडक सम्बन्ध टुटेको थियो भने आवतजावत पुर्ण रुपमा अवरुद्ध भएको थियो ।
नेपाली सेनाले असोज २० गतेबाट बेलिब्रिज निर्माणको काम सुरु गरेर आईतबार साँभ, निर्माण सम्पन्न गरेको हो।सुनकोसीले बगाएर आधा बाँकी रहेको पक्की पुलमाथिबाट एक सय ८० फिट लामो बेलिब्रीज जडान गरी रामेछाप तर्फ जोडिएको छ।सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका ६ स्थित सेलेघाट जोड्ने सुनकोसी नदीको पुल बगाएपछि नेपाली सेनाले तत्कालै बेलिब्रिज निर्माणको काम थालेको नेपाली सेनाको १४ बाहिनी अड्डा काठमाडौँबाट खटिएका नेपाली सेनाका फिल्ड कमान्डर प्रमुख सेनानी कर्णेल नारायण तुम्बाहाम्फेले जानकारी दिए ।
उनका अनुसार नेपाली सेनाको १४ बाहिनी अड्डा एयरपोर्टको पुल महाशाखाले बेलिब्रिज निर्माणको काम गरिरहेको छ भने सडक निर्माणको काम सडक विभागले गरेको र करिब १ सय मिटर लामो पुलको रामेछाप तर्फको स्पान सुनकोसीको बाढीले बगाएपछि बेलिब्रिज निर्माण गरिएको हो ।खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुंगा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो।दोलखा मुँडे हुँदै मन्थलीसम्म १० देखी ११ घण्टाको समय लगाएर सवारी साधनहरु आवतजावत गरिरेहेका छन्।नेपाली सेनाले एमपिवि (मोडुलर प्यानल ब्रिज) राखेर सिन्धुली र रामेछापलाई जोडेको छ ।
तीन सय ६० फिट लम्बाईको खुर्कोटको पुलमा बाढीले एक सय ८० फिट क्षति गरेको र सोहि ठाँउमा एमपिवि जडान गरिएको नेपाली सेनाले जनाएको छ।पुल निर्माणको लागि पहिलो चरणमा नोज कन्ट्रक्सनको काम सकेर असोज २२ गतेबाट ब्रिज कन्ट्रक्सनको काम सुरु गरिएको उनले बताए ।पुल निर्माण भएसँगै स्थानियले सहज रुपमा आवत जावत सुरु गरेका नेपाली सेनाले जनाएको छ ।