सर्लाहीको इश्वरपुर १२ को चुरे क्षेत्रका बस्तीमा चितुवा आतंक

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-५ गते   ८७७ पटक हेरिएको

दुर्गाकुमारी अधिकारी

सर्लाहीको ईश्वरपुर नगरपालिका १२,घारिबथानको चुरेभेगमा केही दिनदेखि चितुवाले खोरमै आएर बाख्रा मार्न थालेपछि स्थानीय किसान त्रसित बनेका छन् । इश्वरपुर नगरपालिका १२ घारिबथानस्थित चुरेक्षेत्रका बस्तिहरु गुइडुङ,अड्डी, छ्याङछ्याङ्गेलगायत क्षेत्रका किसानहरुको खोरमा पसेर चितुवाले बाख्रा मार्न थालेपछि स्थानीय त्रसित भएका हुन् । 
एक्कासी देखा परेको एउटा चितुवाले एक साताभित्रमा १० वटा बाख्रा मारेर खाइसकेको इश्वरपुर नगरपालिका १२ गुइडुङका स्थानीय लालबहादुर थिङले बताए । उनका अनुसार चितुवाले आफूसहित स्थानीय लालबहादुर घलान,पूर्णबहादुर थिङ,वुद्धिमान स्याङतान,विष्णु योञ्जन,पूर्णबहादुर थिङ र दयामाया थिङका गरि १० वटा बाख्रा मारिसकेको छ ।
चितुवा देखा परेको इश्वरपुर नगरपालिका १२ घारिबथानका यि चुरेबस्ती उत्तरतर्फ सिन्धुलीसँग र पूर्वतर्फ महोत्तरीसँग सीमा जोडिएका क्षेत्र हुन । बाख्रापाठा पालेर जीविकोपार्जन गर्ने चुरेको विकट बस्तीमा प्रत्येक रात चितुवा आएर बाख्रा मार्न थालेपछि मानिसलाई समेत आक्रमण गर्ने हो की ?भन्ने त्रास रहेको इश्वरपुर नगरपालिका १२ गुइडुङका अर्का स्थानीय वीरबहादुर थिङले बताए । रातिको समयमा खोरखोर चहार्दै हिँड्ने चितुवालाई आफुहरुले हो–हल्ला गरेर भगाउने गरेको स्थानीय थिङले बताए ।
चितुवाले बाख्रा मार्न थालेको भनी स्थानीयले आफूलाई पनि फोनबाट जानकारी गराएका ईश्वरपुर नगरपालिका १२ का वडाध्यक्ष देविबहादुर खत्रीले बताए। उनले चितुवा देखिएको क्षेत्रमा पुग्न चुरेको फेदीबाट करिब दुई घण्टा उकालो डाँडा चढेर जानुपर्ने छ ।  यही चितुवाले केही समयअघि गुइडुङदेखि पश्चिमतर्फ पर्ने लालबन्दी नगरपालिका १५ शीरकालिञ्जोर क्षेत्रमा पनि आतङ्क मच्चाएको लालबन्दी नगरपालिका १५ का वडा अध्इक्ष गोरख बलले बताए ।उनका अनुसार चुरेभेगमै पर्ने लालबन्दी नगरपालिका १४, नारायण खोलामा पनि बर्सेनि जसो चितुवा आएर बाख्रा मार्ने गरेको स्थानीयको गुनासो छ ।
यता,हरेक वर्ष वन मासिदै गएपछि जंगली जनावरहरु आफ्नो आहाराको खोजीमा गाउँ पस्ने र अन्नबालीका साथै पशुचौपाय खाएर क्षेती पुर्याउने गरेको डिभिजन वन कार्यालय सर्लाहीका कार्यालय प्रमुख डिभिजन वन अधिकृत मन्जुर अहमदले बताए । उनका अनुसार पछिल्लो समय पानी पनि कम पर्ने गरेको साथै दिनप्रतिदिन वन उजाड हुँदै गएका कारण जंगली जनावरहरुका लागि चाहिने आहारा जंगलमा पाउन छाडेपछि आफ्नो आहाराको खोजीमा गाउँ पस्ने र अन्नबालीका साथै पशुचौपाय खाएर क्षेती पुर्याउने गरेको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech