सिन्धुलीमा बाल यौन दुव्र्यवहारका घटना बढ्दो

150 Shares

सिन्धुलीमा यौनजन्य हिंसाका घटना नघटेका पाइएको छ।आर्थिक वर्ष २०८२/०८३ मा मात्रै यौनजन्य हिंसासम्बन्धी ३३ वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।तीन वर्षे तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/०८१ देखि २०८२/०८३ सम्म जिल्लामा यौनजन्य हिंसाका एक सय पाँच वटा घटना दर्ता भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवत्ता एवम  प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार तीमध्ये आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा धेरै ४१ वटा घटना दर्ता भएका थिए।आर्थिक वर्ष २०८०/०८१ मा ३१ र २०८/०८३ मा ३३ वटा घटना दर्ता भएका कार्यालयले जनाएको छ।तीन आर्थिक वर्षको तुलना गर्दा घटनाको संख्या स्थिर रूपमा घटेको देखिँदैन।पहिलो वर्षको तुलनामा दोस्रो वर्ष १० वटा घटना बढेका थिए भने तेस्रो वर्ष अघिल्लो वर्षभन्दा आठ वटा घटना कम भएका छन्।पछिल्लो वर्ष केही कमी आए पनि समग्र अवस्थाले यौनजन्य हिंसा नियन्त्रण अझै चुनौतीपूर्ण रहेको प्रहरीको तथ्यांकले देखाएको छ ।
दर्ता भएका घटनामध्ये बलात्कारका मुद्दा सबैभन्दा बढी रहेका छन्।पछिल्ला तीन आर्थिक वर्षमा बलात्कार सम्बन्धी ६६ वटा मुद्दा दर्ता भएका छन्।आर्थिक वर्ष २०८०/०८१ मा २० वटा,२०८१/०८२ मा ३० वटा र २०८२/०८३ मा २६ वटा बलात्कारका घटना प्रहरी अभिलेखमा समेटिएका छन्।अघिल्लो वर्षको तुलनामा पछिल्लो वर्ष चार घटना घटे पनि तीन वर्षको कुल संख्याले जोखिमको गम्भीरता कायम रहेको संकेत गर्छ ।
यस अवधिमा बलात्कार प्रयासका २१ वटा घटना दर्ता भएका छन्।आर्थिक वर्ष २०८०/०८१ मा आठ वटा,२०८१/०८२ मा १० वटा र २०८२/०८३ मा तीन वटा घटना दर्ता भएका हुन्।पछिल्लो आर्थिक वर्षमा संख्या घटेको देखिए पनि यस्ता अपराधको रोकथाम,समयमै उजुरी र पीडितको सुरक्षालाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने प्रहरीको निष्कर्ष छ ।
बाल यौन दुव्र्यवहारका घटना भने पछिल्लो वर्ष बढेका छन्।तीन वर्षमा दर्ता भएका छ वटा घटनामध्ये आर्थिक वर्ष २०८२/०८३ मा मात्रै चार वटा घटना परेका छन्।आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ मा एक–एक घटना दर्ता भएका थिए।पछिल्लो वर्षको वृद्धि अघिल्ला दुई वर्षको तुलनामा उल्लेखनीय छ।यो अवस्थाले बालबालिकाको सुरक्षा,विद्यालय र परिवारस्तरको निगरानी तथा उजुरी प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको छ ।
वैवाहिक बलात्कारका दुई वटा घटना आर्थिक वर्ष २०८०/०८१ मा दर्ता भएका थिए। त्यसपछिका आर्थिक वर्ष २०८१/०८२ र २०८२/०८३ मा वैवाहिक बलात्कार सम्बन्धी कुनै उजुरी दर्ता नभएको प्रहरी तथ्यांकमा उल्लेख छ।यौनजन्य हिंसा न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम,विद्यालय केन्द्रित सचेतना अभियान र कानुनी पहुँच विस्तारलाई प्रभावकारी बनाउनुपर्ने स्थानीय जानकारहरु बताउँछन् । 

सम्बन्धित समाचार