११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा स्थानीय तह रहेको सर्लाहीका नौ वटा पालिकाले सोमबार एकैदिन आ–आफ्नो गाउँ तथा नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।देशभरमै सबैभन्दा बढी ११ नगरपालिका र नौ गाउँपालिका गरी २० स्थानीय तह रहेको सर्लाहीमा यस अघि लालबन्दी,बलरा र बागमती नगरपालिकाका साथै चक्रघट्टा र कौडेना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरि सकेका छन् ।
जिल्लाका हरिपूर्वा,हरिपुर,गोडैता र बरहथवा नगरपालिकाका साथै रामनगर,धनकौल,विष्णु, चन्द्रनगर र बसबरिया गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।हरिपूर्वामा नगर प्रमुख विनोद कुमार साह तेलीको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साह,हरिपुरमा नगर प्रमुख गोपाल पजियार,गोडैतामा नगर प्रमुख देवेन्द्र कुमार यादव र बरहथवा नगरपालिकामा नगर प्रमुख कल्पना कुमारी कटुवालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन्।
यसैगरी रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव,धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साह,विष्णु गाउँपालिकाका अध्यक्ष जवाहार लाल यादव,चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
अब ईश्वरपुर,मलंगवा,कविलासी,हरिवन नगरपालिका र पर्सा तथा ब्रम्हपुरी गाउँपालिकामा आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुन बाँकी रहेको छ ।यि छ पालिकाले पनि मंगलबार(भोलि)आ–आफ्नो गाउँ तथा नगरसभाको अधिवेशनमा नीति, कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन् ।यता,अघिल्ला आर्थिक वर्षमा निकै विवाद भएका पालिकाले यो वर्ष समयमै नीति,कार्यक्रम प्रस्तुत गरेका छन्।गएको वर्ष असारमा चालू आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न आयोजित सभामा झडप नै भएको बसबरिया गाउँपालिकामा यो वर्ष शान्तपूर्वक रुपमा बेलैमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
अघिल्लो पटकका जनप्रतिनिधि र अहिले रहेका जनप्रतिनिधिको पहिलो कार्यकालमा बारम्बार तनाव भएर आर्थिक वर्षको अन्तिममा मात्रै बजेट पारित हुने हरिपूर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ र आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम बेलैमा पेश गरेर उद्धाहरण प्रस्तुत गरेका छन् ।यो वर्ष हालसम्म १४ वटा पालिकामा विवादरहित हिसाबले नीति तथा कार्यक्रम प्रस्तुत हुँदा स्थानीय सुरक्षा निकायलाई समेत निकै सहज भएको छ ।भने केही स्थानीय तहका जनप्रतिनिधिहरुले प्रदेश खारेजीको प्रस्ताव समेत पेश गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार असार १० भित्र आ आफ्नो पालिकाको वार्षिक बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने प्रावधान रहेको छ ।असार १० गतेभित्र नगर तथा गाउँसभामा नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तसम्म पारित गरिसक्नुपर्ने व्यवस्था अनुसार सर्लाहीका स्थानीय तहहरु धमाधम बजेट तयारीमा लागेका छन् ।