सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा अस्थायी,करार र ज्यालादारीमा कार्यरत केही कर्मचारीहरुलाई हटाइएको भन्दै नेकपा(एमाले)हरिवन नगर कमिटिले आपत्ति जनाएको छ । कार्यपालिकाबाट निर्णय नगरी उप प्रमुख हरिमाया घलानसहित कार्यपालिका सदस्यलाई जानकारी समेत नदिई राजनीतिक आग्रह पुर्वाग्रह राखेर नगर प्रमुख रमेश बुढाथोकी(कमल) र प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयालको मिलेमतोमा नगरपालिका अन्र्तगतका विभिन्न शाखा र कार्यालयहरुमा कार्यरत अस्थायी,करार र ज्यालादारीमा कार्यरत केही कर्मचारीहरुलाई हटाईएको भन्दै एमाले हरिवन नगर कमिटि अध्यक्ष सिताराम पोखरेलको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत फूँयाललाई ज्ञापन पत्र बुझाइएको छ ।उनका अनुसार केही दिनअघि नगरपालिकाले सूचना प्रकाशित गरी अस्थायी,करार र ज्यालादारीमा कार्यरत केही कर्मचारीहरुलाई हटाएपछि एमाले हरिवनको ध्यानाकर्षण भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
नगरपालिकाको स्थापना कालदेखि कार्यरत चालक,अदालतले समेत अन्तरिम आदेश गरी भूमि आयोगलाई काम गर्न मार्ग प्रसस्त गरेको बेला त्यहाँका कर्मचारी तथा दरबन्दीमा परीक्षा पास गरी नियुक्ति पाएका स्वास्थ्यतर्फका कर्मचारीहरुलाई राजनैतिक विभेद गरी हटाउने कार्य भएको प्रति ध्यानाकर्षण भएको भन्दै एमाले हरिवन नगर कमिटिले ज्ञापन पत्र बुझाएको हो ।पूर्वाग्रही आदेश फिर्ता लिई तत्काल कर्मचारीहरुलाई पुनर्वहाली गर्न माग गर्दै माग पूरा नभए थप विरोधको कदम चाल्न बाध्य हुने एमाले हरिवन नगर कमिटीले चेतावनी दिएको छ ।