Close This

सर्लाहीमा तीन दिनमा करिब ३१ प्रतिशतले खाए हात्तीपाइले रोग विरुद्धको औषधी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-१३ गते   ४१२ पटक हेरिएको

लालबन्दी ७ मा चलेको हात्तीपाईले रोग विरुद्धको औषधी खुवाउने स्थलमा औषधी खाँदै

गणेश खड्का 


सर्लाहीका २० वटै स्थानीय तहमा  राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम–२०७९ सञ्चालन भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम–२०७९ अन्र्तगत जिल्लाका २०वटै स्थानीय तहमा औषधी खुवाउने अभियान सुरु भएको हो ।
‘हात्तीपाइले रोगविरुद्धको औषधी सेवन गरौँ,अशक्त,अपाङ्ग र कुरुप गराउने दिर्घ रोगबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऊ’भन्ने मूल नारासहित जिल्लाका ११ नगरपालिका र नौँ गाउँपालिकामा एकैसाथ यो अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.नवल किशोर झाले जानकारी दिए । उनका अनुसार प्रत्येक स्थानीय तहका प्रमुख,उपप्रमुख,वडाध्यक्ष,स्वास्थ्यकर्मी र कर्मचारीहरुले सुरुमा औषधी खाएर यो अभियानको सुरुवात गरेका हुन ।

जिल्लामा दुई वर्ष पूरा भएका आठ लाख ७० हजार तीन सय ८० जनालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका प्रमुख डा.झाले जानकारी दिए ।उनका अनुसार प्रत्येक स्वास्थ्य संस्था,बस्ती,विद्यालय र घरघरमै पनि पुगी स्वास्थ्यकर्मीले हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरेका छन् । सरकारले फागुन ११ गते बिहीबारदेखि सर्लाहीसहित देशका १४ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु गरेको हो ।

प्रदेश नम्बर १ को झापा र मोरङ,मधेश प्रदेशको धनुषा,महोतरी,सर्लाही, रौतहट र बारा,लुम्बिनी प्रदेशको कपिलवस्तु,दाङ र बाँके,सुदुरपश्चीम प्रदेशको कैलाली र गण्डकी प्रदेशको लमजुङ,पर्वत र बाग्लुङ गरी १४ वटा जिल्लामा हात्तीपाईले रोग विरुद्ध औषधी खुवाउने अभियान सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मधेश प्रदेशको बारा,गण्डकी प्रदेशको लमजुङ,पर्वत र बाग्लुङ गरी चार वटा जिल्लामा दुई प्रकारको र बाँकी १० वटा जिल्लामा तीन प्रकारका औषधीहरु खुवाउने अभियान सञ्चालन भएको हो । देशभरका ७७ जिल्ला मध्य ६३ जिल्लामा हात्तीपाईले रोगको संक्रमण मध्यम रुपमा देखा परेको छ ।


सर्लाहीमा बिहीबार पहिलो दिन ७७ हजार नौ सय ३१,शुक्रबार दोस्रो दिन ९९ हजार चार सय ४० र शनिबार तेस्रो दिन ७७ हजार छ सय ५९ जनाले हात्तीपाईले रोग विरुद्धको औषधी खाएका छन् ।जिल्लाको कुल जनसंख्याको करिब ३१ प्रतिशत मानिसहरुलाई तीन दिनमा हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइएको जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । हात्तीपाइले रोगको लक्षण देखिएपछि औषधी खाँदा निको हुँदैन । त्यसैले रोग लाग्नु अगावै औषधी खान चिकित्सकहरुले सुझाव दिएका छन् ।


हात्तीपाइले रोग विरुद्धको औषधी छ वर्षसम्म लगातार वर्षमा एक पटक गरी छ पटकसम्म खानु पर्ने  तर धेरैजसोले हात्तीपाइले रोग विरुद्धको औषधी नखाने गर्दा रोग देखा पर्ने गरेको चिकित्सकहरुले बताएकाछन् । 


धेरैलाई यो औषधी खाएपछि स्वास्थ्य समस्या देखिन्छ भन्ने भ्रम छ तर केही व्यक्तिलाई ज्वरो आउने,रिँगटा लाग्ने,वाकवाकी लाग्ने जस्ता सामान्य स्वास्थ्य समस्या देखिए पनि डराउनु नपर्ने भन्दै ढुक्क भएर औषधी  खान चिकित्सकहरुको सुझाव छ ।दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु,गर्भवती र सात दिनसम्मका सुत्केरी,छारे रोग तथा दिर्घरोगीहरु तथा सिकिस्त बिरामीहरुले भने यो औषधी खानु हुँदैन् । 

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । भने हात्तीपाईले रोग लागि सकेपछि निको नहुने चिकित्सकहरुले बताएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech