नेपाल बहु सांस्कृतिक,बहु धार्मिक र परम्परागत मूल्य–मान्यताले भरिएको नेपाली समाज भएको देश हो ।यिनै विविधतामध्ये जनै पूर्णिमा (रक्षा बन्धन) एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो।जुन प्रत्येक वर्ष साउन शुक्ल पूर्णिमाका दिन मनाइन्छ।हिन्दू धर्मालम्बीहरू माँझ विशेष रूपमा श्रद्धा,भक्ति र भाइचारा अभिवृद्धि गर्ने माध्यमको रूपमा यो पर्वलाई लिइन्छ। जनै पूर्णिमा एकातिर वैदिक परम्परासँग जोडिएको छ भने अर्कोतिर पारिवारिक प्रेम, संरक्षण र कर्तव्य बोधको प्रतिनिधि चाडको रूपमा पनि परिचित छ।
जनै पूर्णिमाको मुख्य धार्मिक पक्ष ब्राम्हण रक्षाबन्धन संस्कारसँग सम्बन्धित छ।यस दिन ब्राम्हणहरूले बिहानै स्नान गरी पवित्र मन्त्र पाठ गरेर यज्ञ सम्पन्न गर्छन् र जनै फेर्छन्।जनै वा यज्ञोपवित वैदिक ज्ञान,शुद्धता र कर्तव्यको प्रतीक हो।जनै फेर्ने परम्पराले आत्मा,वाणी र कर्मलाई शुद्ध बनाउने विश्वास रहि आएको छ। यो कार्य आत्मसुधार र आत्मसंयमको संकेत पनि हो।
यसै दिन रक्षा बन्धन पर्व पनि मनाइन्छ ।जसमा पूजारी वा दाजु–भाइहरूलाई रक्षा धागो (राखी) बाँधिन्छ।पूजारीले मन्त्र उच्चारणसहित हातमा रक्षा सूत्र बाँधेर आफ्ना दाजुभाईलाई संकट,रोग र अपशक्तिबाट जोगिने आशीर्वाद दिन्छन्।अर्कोतिर,दिदी–बहिनीहरूले दाजुभाइलाई राखी बाँधेर उनीहरूको दीर्घायु र सुरक्षाको कामना गर्छन् भने दाजुभाइहरूले बहिनीहरूको सम्मान र सुरक्षाको संकल्प लिन्छन्।यसरी यो पर्वले पारिवारिक सम्बन्धलाई बलियो बनाउने कार्य गर्छ।
जनै पूर्णिमामा गोसाइँकुण्ड स्नानको विशेष महत्व छ।धार्मिक मान्यता अनुसार,यस दिन गोसाइँकुण्डमा स्नान गर्दा सम्पूर्ण पापहरू नाश हुने र मोक्ष प्राप्त हुने विश्वास गरिन्छ। गोसाइँकुण्डसहित देशका विभिन्न नदी,ताल,कुण्डहरूमा स्नान गरेर धर्मकर्म गर्ने परम्परा रहेको छ।कतिपय जातजातिहरूमा यो दिन गाई पूजा,नाग पूजा वा वनभोज गर्ने प्रचलन समेत रहेको छ।
आजको आधुनिक युगमा परम्परागत पर्वहरूलाई वैज्ञानिक र सामाजिक दृष्टिकोणले व्याख्या गर्ने चलन बढ्दो छ।जनै पूर्णिमा वा रक्षा बन्धनको सन्देश पनि केवल पूजापाठमा सीमित छैन, यसले हामीलाई कर्तव्य परायण,अनुशासित,परिवारप्रति समर्पित र सामाजिक मूल्यको रक्षा गर्ने भावना विकास गराउँछ।यसले परिवार र समाजमा विश्वास,प्रेम र एकताको भावना सुदृढ बनाउँछ।
अन्ततःजनै पूर्णिमा (रक्षा बन्धन) केवल धार्मिक कर्मकाण्डको पर्व मात्र नभई संस्कार,सम्बन्ध र सद्भावको पर्व हो।पवित्रता,आत्मशुद्धि,पारिवारिक प्रेम र सामाजिक उत्तरदायित्वका प्रतीक रूपमा यो चाडलाई संरक्षण गर्नु हाम्रो कर्तव्य हो।यस्ता पर्वहरूले हाम्रो मौलिकता,संस्कृति र चिरपरिचित सामाजिक संरचनालाई जीवन्त राख्न मद्दत पु¥याउँछन्।त्यसैले जनै पूर्णिमा केवल एक पर्व मात्र नभई आत्मशुद्धि,कर्तव्यबोध र आपसी सम्बन्ध मजबुत बनाउने प्रेरणाको एक सन्देश पनि हो ।