Close This

मुसहर समुदायद्धारा गाउँपालिका कार्यालय घेराउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-२ गते   ३०६ पटक हेरिएको

छिमेकी देश भारतमा अलपत्र परेका आफ्ना आफन्तलाई घर फर्काइदिन माग गर्दै चन्द्र नगरका मुसहर समुदायले चन्द्रनगर गाउँपालिका कार्यालय घेराउ गरेका छन् ।कमाएर खुवाउने आफ्ना आफन्त लकडाउनका कारण भारतमा धेरै दिनदेखि अलपत्र परेपछि चन्द्रनगरका मुसहर समुदायले गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । 
केही हप्ताअघि भारतीय सुरक्षाकर्मीले दशगजास्थित लखन्देही खोलामा ठूलो सङ्ख्यामा नेपालीहरुलाई ल्याएर छाडेका थिए । त्यसमध्ये अधिकांश चन्द्रनगरका स्थानियबासी रहेका थिए । भारतीय सुरक्षाकर्मीले सीमामा छाडेकामध्ये केही लुकिछिपी गाउँ आउन सफल भएका थिए भने केहीलाई स्थानीय प्रशासनको पहलमा क्वारेन्टाइनमा राख्ने गरी पुनः भारततर्फ नै फकाइएको थियो ।
चन्द्रनगरमा लुकिछिपी गाउँ आएका करिब १ सय जना भन्दा बढीलाई दुई साता क्वारेन्टाइनमा राखेर घर पठाइ सकिएको छ । दशगजाबाट फर्काइएका व्यक्तिका परिवारले गाउँपालिका कार्यालयमा पुगेर आफ्ना आफन्त नहुँदा चुल्हो बल्नै गाह्रो परेको भन्दै तुरुन्त घर फर्काइदिन माग गरेका हुन् । महिला, बालबालिका सहित करिब २ सय जना गाउँपालिका कार्यालयमा पुगेर विरोधमा उत्रिएका थिए ।
तराईको अति पिछडिएको मुसहर समुदायले राहतमा पाएको थोरै खाद्यान्न पनि खाएर सकिएकोले भोकभोकै बस्नु पर्ने अवस्था सृजना हुन लागेको भन्दै गुनासो गरेका छन् । राहत स्वारुप पाएको खाद्यान्न सबै सकिएको साथै  राहत वितरण गर्दा स्थानिय सरकारले काखा पाखा गरेको उनिहरुको आरोप छ । स्थानिय सरकारले राहत बाँड्दा आफन्त तथा नातेदारहरुलाई मात्र राहत दिए अनी हामी बाध्य भएर गाउँपालिका घेराउ गर्न पुगेका हौँ,चन्द्रनगर गाउँपालिका–६, का किरण माझीले बताएका छन ।
छिमेकी देश भारतमा ठूलो सङ्ख्यामा अलपत्र परेका स्थानीय वासिन्दालाई तत्काल गाउँ ल्याउन सम्भव नरहेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताउनु भयो ।नेपालमा रहेका भारतीयलाई नेपालमै राख्ने र भारतमा रहेकालाई भारतमैै क्वारेन्टाइनमा राख्ने सहमति माथिल्लो स्तरमै भएको अध्यक्ष महत्तोले बताउनु भयो ।साथै मुसहर समुदायको दैनिकी सहज बनाउन गाउँपालिकाले पहल गर्ने अध्यक्ष महत्तोले बताउनु भयो ।
गाउँपालिका भित्र ठूलो सङ्ख्यामा अति विपन्न र पिछडिएको मुसहर समुदायको बसोवास रहेकाले राहत बाँडेर छाक पु¥याउन मुस्किल पर्ने अवस्था रहेको पनि अध्यक्ष महतोले कमलामाई खबरलाई बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech