नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएको एक महिना बित्तिसक्दापनि सर्लाहीका दुई बाहेकका अरु पालिकाको खाता संचालन हुन सकेको छैन्।पालिकाले अघिल्लो आर्थिक वर्षको हिसाब मिलान गरी चालु आर्थिक वर्षको गाउँ तथा नगरसभाबाट स्वीकृत नीति तथा कार्यक्रम स्थानीय सन्चित कोष व्यवस्थापन प्रणाली (सूत्र) मा इन्ट्री गरेर कोष तथा लेखा नियन्त्रक कार्यालयमा कागजात प्रस्तुत गरेपछि खाता संचालन हुने व्यवस्था छ ।जिल्लाका ११ वटा नगरपालिका र नौ वटा गाउँपालिका गरी २० वटा पालिका रहेका मध्ये बागमती नगरपालिका र बसबरिया गाउँपालिकाले मात्रै खाता संचालन गर्न निवेदन दिएका कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख एवम कोष नियन्त्रक पदम प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार दुईवटा बाहेक अन्य पालिका सम्पर्कमा नआएका र प्रायःदशैँअघि मात्र कर्मचारीहरुको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता निकासा गर्ने गरी पालिकाहरुले खाता संचालनमा ल्याउने परिपाटी रहेको छ ।पालिकाको खाता संचालनमा ढिलाइ हुँदा प्रशासनिक,विकास निर्माण र सेवा प्रवाहमा असर गर्ने गरेको कोलेनिकाले जनाएको छ।खाता संचालन नभएर बजेट खर्च गर्न नपाए पनि पालिकाहरुले आन्तरिक राजस्व संकलनको काम भने नियमित नै गरिरहेका छन् ।
गत वर्षको हिसाब सूत्रमा इन्ट्री गर्नै बाँकी रहेकोले कोलेनिकामा निवेदन दिन नसकेको जिल्लाका पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुले बताएका छन् ।सर्लाहीमा अहिले प्रायः प्रशासन,लेखा,योजना लगायत शाखाका कर्मचारी हिसाब किताब मिलानमै ब्यस्त रहेका छन् ।जिल्लाका २० वटै पालिकामा अहिले आर्थिक अधिकार सहितका प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका छन्।