सर्लाहीका उखु उत्पादक किसानहरुले नयाँ प्रजातिको उखु खेती गर्न शुरु गरेका छन् । उखु खेतीका लागि देशमै अब्बल मानिएको नयाँ प्रजातिको उखु जिल्लाका उखु उत्पादक किसानहरुले लगाउन थालेका हुन् ।
उखु उत्पादक किसानहरुले मिलहरुबाट समयमै भुक्तानी नपाई रहेको गुनासो गरेपनि राम्रो उत्पादनका लागि नयाँ प्रजातिको उखु लगाएर उत्पादन बढाउने योजना बनाएका उखु उत्पादक किसान राजकुमार उप्रेतीले बताउनु भयो । उहाँका अनुसार उखु उत्पादक किसानहरु र मिल सञ्चालकहरुबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने भए पनि उखु किसान र मिल मालिकबीच चिसो सम्बन्धले प्रहरीले समातेर पैसा उठाउनु परेको तीतो यथार्थ रहेको समयमा जिल्लाका उखु किासनहरुले उत्पादनलाई बढाउन नयाँ प्रजातिको उखु लगाउन थालेका हुन् ।
जिल्लाको हरिवन नगरपालपका ११ मा रहेको इन्दु शंकर चिनी उद्योगले किसानहरुलाई नयाँ प्रजातिको उखु लगाउन प्रोत्साहन गर्ने ईन्दु शंकर चिनी उद्योगका उखु प्रवन्धक योग नारायण रजकले बताउनुभयो । उहाँले उद्योगले किसानहरुलाई धेरै उत्पादन दिने र एकै बालीबाट धेरै फाइदा हुने खालको बाली लगाउन प्रोत्साहन गर्ने बताउनु भयो ।
यस उद्योगले करिब एक हजार बिघा क्षेत्रफलमा यसवर्ष सी ओ–१५ जिरो २३ जातको उखु लगाउन शुरु गरेको उद्योगका सिनियर क्यान म्यानेजर सुरेशप्रसाद मेहताले बताउनुभयो । “गतवर्ष भारतबाट बिउ ल्याएर सीमित क्षेत्रफलमा लगाइएको र त्यस बिउबाट अब जिल्लाका तथा छिमेकी जिल्लाको विभिन्न ठाउँमा उखु लगाइने छ ।”सिनियर क्यान मेनेजर मेहताले बताउनुभयो ।
उखु उत्पादक किसानहरुले मंसिर पहिलो सातादेखि फागुन अन्तिमसम्म उखु लगाउने गरेको भए पनि यस जातको उखु भदौ अन्तिम र असोजको पहिलो साता लगाउनुपर्ने तथा यस सिजनमा उखु लगाउँदा उखु सँगसँगैै त्यसभित्र आलु बालीसमेत लगाउन मिल्ने र किसानहरुले पैलो बाली भित्र्याउँदा उखु गोडिने भएकाले किसानहरुलाई थप आम्दानी लिन सक्ने बनाउन नयाँ प्रजातिको उखु लगाउन शुरु गरिएको उद्योगले जनाएको छ ।
“टेर्रेन्चर विधिबाट उखु रोप्दा मजदुरको ज्यालासमेत घट्ने देखिन्छ । एक बिघामा मजदुरबाट उखु रोप्दा खाल्डो खन्न मात्र करिब ५० जान लाग्ने भए पनि टेर्रेन्चर विधिबाट लगाउँदा तीन घण्टामा सकिने हुँदा खेती लगाउने खर्च समेत घट्ने र आलु बेचेर उखुको लागि खर्च जुटाउ सकिने भएकोले नयाँ प्रजातिको उखु लगाउन शुरु गरिएको छ । ”उद्योगका क्यान मेनेजर रजकले बताउनु भयो । उहाँका अनुसार यस प्रविधिबाट उखु लगाउँदा गहिरो खाडल हुने भएकाले उखु ढल्ने समस्या समेत कम हुन्छ । पहिले किसानले लामो उखु रोप्ने गर्थे भने पछिल्लो प्रविधिबाट उखु लगाउँदा एक आँख्ला मात्र रोप्ने भएकाले उखुको बिउमा समेत किसानलाई फाइदा हुने उद्योगको भनाइ छ ।
पुरानो विधिबाट उखु लगाउँदा प्रति बिघा करिब ५० क्वुन्टल बिउ लाग्ने गरेको भए पनि यस विधिबाट लगाउँदा करिब १५ क्वुन्टलले नै पुग्ने सिनियर क्यान मेनेजर मेहताको भनाइ छ । सामान्यतया अहिले लगाईएको उखुले करिब चार सय क्वुन्टल उत्पादन दिने गरेकोमा यो जातको उखु लगाउँदा करिब सात सय क्वुन्टल उखु उत्पादन हुने उद्योगले जनाएको छ ।
गत आर्थिक वर्षको लागि नेपाल सरकार,उद्योगी र किसान प्रतिनिधिहरु बीच भएको सहमति अनुसार उद्योगीहरुले प्रति क्वुन्टल रु ५ सय २० र नेपाल सरकारले रु ७० अनुदान रकम दिने सहमति भएको थियो । जिल्लामा रहेका तीनवटा चिनी मिल मध्य ईन्दु शंकर बाहेक अरु उद्योगले किसानहरुको रकम भुक्तानी पनि गरेका छैनन् । इन्दु शंकर,महालक्ष्मी र अन्नपूर्ण चिनी उद्योग उखु अभावले गर्दा पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैन । जिल्लामा देशकै धेरै चिनी मिल भए पनि उखु २५ हजार हेक्टर क्षेत्रमा मात्रै खेती हुन्छ भने धान ४६ हजार ५ सय हेक्टर क्षेत्रमा खेती हुँदै आइरहेको कृषि ज्ञान केन्द्र सर्लाहीको तथ्यांकमा उल्लेख छ ।
उखु उत्पादन गरी उद्योगलाई बिक्री गरेपनि समयमै भुक्तानी नपाँउदा हैरान भएका उखु उत्पादक किसानहरु नयाँ प्रजातिको उखु तर्फ आकर्षक हुने सम्भावन कमै रहेपनि उत्पादनमा भने करिब दोब्बर हुने अनुमान उद्योगहरुले गरेका छन् ।
यता, जिल्लाका किसानहरुले केही वर्षयता तोरी खेती बढाउँदै लगेका छन्। जिल्लाका उखु उत्पादक किसानहरुले उखु मासेर तोरी खेती सुरु गरेका हुन्।
तीन÷चार वर्षयता जिल्लाको लालबन्दी,हरिवन,बागमती,ईश्वरपुर लगायतका ठाउँका किसानहरुले आफ्नो खेतबारीमा उखु मासेर तोरी सहितको अन्नबालीको खेती बढाउँदै लगेका छन्। लगानीसमेत नउठेपछि आफूले पनि उखु खेती मासेको हरिवन नगरपालिका ८ का किसान हरि निरौलाले बताउनुभयो ।
‘उखुमा लगानी अनुसारको मूल्य छैन,‘यताका सबैजसो किसानले अहिले उखु मासेर तोरी, परबल,बोडी,मास,धान,मकै र कोदो जस्ता परम्ंपरागत अन्नबाली लगाउँन थालेका छन्।’ ’ निरौलाले बताउनुभयो ।
दुई दशक अघिसम्म जिल्लामा तोरी खेतीमा अब्बल गनिने जिल्ला हरिवनमा चिनी उद्योग स्थापना भएपछि किसानहरुले सबैखाले अन्न बाली मासेर आफ्ना खेतबारीमा उखु लगाउन सुरु गरेका थिए। करिब २० वर्षपछि यहाँका किसानहरु पुनः उखु मासेर पुरानै खेतीमा फर्किएका हुन्।
‘किसानहरुले तोरी खेती मासेपछि खाने तेलको मूल्य आकासियो,‘अहिले तोरी झार्ने बित्तिकै क्वुन्टलको करिब रु १५ हजारका दरले बिक्री हुन्छ। जग्गा जमिन धेरै हुनेले व्यावसायिक उद्देश्यले तोरी खेती गरेका छन्। थोरै जमिन हुनेहरुले आफ्ना लागि मात्रै भए पनि तोरी लगाउन थालेका छन्।’ हरिवन नगरपालिका २ का किसान रामपुकार महतोले बताउनुभयो ।
“थोरै लगानी गर्दा मनग्गे आम्दानी हुने भएपछि जिल्लाका उखु उत्पादक किसानहरुले तोरी खेती बढाउन थालेका छन्। सिँचाइ सुविधा नभएको जमिनमा पनि धेरथोर तोरी उत्पादन हुन्छ। जसका कारण पनि किसानहरुको मनफेरी पुरानैखेती तर्फ मोडिएको छ ।” अर्का किसान कपिल महतोले बताउनु भयो ।
“जिल्लाका किसानहरुले धान,हिउँदे मकैजस्ता बाली उठाएपछि तोरी खेती गर्छन्। तोरीभित्र चना,मुसुरोजस्ता दलहन बाली पनि हुन्छ।तोरी,चना भित्र्याएपछि खेतबारीमा बर्खे मकै खेतीका लागि तयार हुन्छ। तीन बाली लगाउँदा किसानले उखु खेतीबाट भन्दा पनि धेरै आम्दानी गर्छन्।” स्थानिय छोटेलाल साहले बताउनु भयो । किसानहरुले उखु खेती मास्दै गएपछि जिल्लाका चिनी उद्योगले भने केही वर्षयता भनेजति उखु पेल्न नपाएको गुनासो गरेका छन् ।