शंखर पहाडी(गौरब)
सर्लाहीका किसानहरु उत्पादन गरेको गोलभेँडाको राम्रो मूल्य पाएपछि खुसी भएका छन् । उत्पादनयामको करिब अन्तिममा आएर भए पनि गोलभेँडाको राम्रो मूल्य पाएपछि निकै खुसी लागेको हरिवन नगरपालिका २का किसान रामपुकार महतोले बताए ।
उनका अनुसार केही साताअघिसम्म भारतीय गोलभेँडा अत्याधिक भित्रिँदा जिल्लाका किसानहरुले उत्पादन गरेको गोलभेँडा बिक्री गर्नै समस्या परेको थियो । पछिल्ला दिनमा भने भारतीय गोलभेँडा भित्रिने क्रम घटेको र जिल्लामा गोलभेँडा उत्पादन पनि कम हुन थालेपछि मूल्य बढेको अर्का किसान राघव सिंहले बताए ।
अहिले जिल्लाका किसानहरुले उत्पादन गरेको गोलभेँडा प्रतिक्रेट रु तीन सय ५० देखि रुचार सय सम्ममा बिक्री भएको कृषि थोकबजार व्यावस्थापन समिति लालबन्दीका अध्यक्ष तोरण बहादुर मगरले जानकारी दिए । उनका अनुसार एक क्रेटमा २५ केजी गोलभेँडा अटाउने र प्रति क्रेट रु तीन सय ५० देखि रुचार सय सम्ममा बिक्री भएको छ ।
यसरी थोक बजारमा गोलभेँडा रु १५ भन्दा बढी मूल्यमा बेच्न पाउँदा किसानहरुकोलाई आम्दानी पनि राम्रो भएको कृषि थोकबजार व्यावस्थापन समिति लालबन्दीका व्यावस्थापक शम्भुप्रसाद घिमिरेले बताए । उनका अनुसार जिल्लाका गोलभेँडा उत्पादक किसानहरुले माघ मध्यतिर गोलभेँडा प्रतिक्रेट रु एक सय ५० देखि रु दुई सय सम्ममा बिक्रि गरेका थिए । त्यतिबेला न्यून मूल्यमा गोलभेँडा बिक्री गर्न पनि किसानहरुलाई गाह्रो परेको कृषि थोकबजार व्यावस्थापन समिति लालबन्दीको भनाई छ । समितिका अनुसार अहिले भने किसानहरुले गोलभेँडाको राम्रै मूल्य पाएका छन् ।
जिल्लाकै सबैभन्दा ठूलो तरकारी बजार लालबन्दीमा किसानहरुले ल्याएर बिक्री गरेको गोलभेँडा दैनिक करिब ३० टन काठमाडौँ,पोखरा,सिन्धुलीलगायत ठूला सहरहरुमा निर्यात हुने गरेको कृषि ज्ञान केन्द्र सर्लाहीले जनाएको छ । केन्द्रका अनुसार गोलभेँडा धेरै फल्दा किसानहरुले भाउ नपाए पनि अहिले विस्तारै उत्पादन कम हुँदै गएपछि राम्रो भाउ पाउन थालेका छन् ।
जिल्लाको ईश्वरपुर,लालबन्दी र हरिवन लगायत आसपासका स्थानीय तहहरुमा किसानहरुले गोलभेँडाको व्यावसायिक खेती गर्ने गरेका छन् । आफुहरुले फलाएको गोलभेँडा लालबन्दी बजारसहित नवलपुर,सासापुर,हरिवनलगायतका बजारहरुमा सङ्कलन केन्द्रमा बनाएर बिक्री गर्ने गरेको लालबन्दी नगरपालिका ११ हीरापुरका किसान तिलबहादुर मोक्तानले बताए ।