Close This

बाख्रा गोठालो गएका महतो सागरनाथ जंगलमा मृत फेला

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-११-२३ गते   १०० पटक हेरिएको

दुर्गा कुमारी अधिकारी
सर्लाहीको ईश्वरपुर नगरपालिका १३, श्रीनगरका बाख्रा गोठालो गएका एक पुरुष जंगलमै मृत फेला परेका छन् । सागरनाथ वन विकास परियोजनाको जंगलमा बाख्रा चराउन गएका स्थानीय अन्दाजी ५५ वर्षीय चुलाइ महतो जंगलमै मृत फेला परेका ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासले जनाएको छ ।
महतो सोमबार दिउँसो बाख्रा चराउन गएर घर नफर्किएपछि आफन्तले मंगलबार बिहान प्रहरीमा खबर गरेका थिए । प्रहरी र स्थानीय मिलेर खोजी गर्नेक्रममा मंगलबार मध्यान्ह बीच जंगलमा महतोलाई मुख,आँखा र शरीरको भित्री भागमा चोट लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।महतोलाई तत्कालै मोडेल अस्पताल लालबन्दी ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक महतोको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शवको प्रकृति हेर्दा महतोलाई कसैले आक्रमण गरी हत्या गरेको जस्तो देखिएको प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले बताए । स्थानीयका अनुसार अविवाहित महतोको परिवारका कोही सदस्य छैनन् । सोमबार महतोले चराउन लिएर गएका मध्ये केही बाख्रा समेत घर नफर्किएका स्थानीयले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech