शंखर पहाडी(गौरब)
स्थानीय परिकार तथा सँस्कृतिको जगेर्ना गर्दै देशको पर्यटन क्षेत्रको विकास गर्नुपर्ने सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किँरातीले बताए । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को नीति तथा विधान सम्मेलनलाई सम्बोधन गर्न सर्लाही आउनु भएका मन्त्री किँरातीले यस्तो बताए ।
नीति तथा विधान सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री किराँतीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामाकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको उल्लेख गरे । आदिबासी पहिचानको संघर्ष अझै नसकिएको भन्दै उनले ढिलोचाँडो पहिचानको मुद्दा स्थापित हुने विश्वास व्यक्त गरे ।
त्यस्तै आदिबासी परिकार तथा संस्कृतिलाई पर्यटक भित्र्याउने प्रमुख आधारको रुपमा विकास गर्न सकिने उनले बताए । फोनिजका अध्यक्ष गजुरधन राईले पनि पहिचानकै आधारमा प्रदेशको नामाङ्कन गराउन फोनिजका तर्फबाट पहलकदमी र साथ सहयोग जारी रहने बताए ।
दुई दिनसम्म चलेको आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)को नीति तथा विधान सम्मेलन १३ बुँदे हरिवन घोषणापत्र जारी गर्दै आईतबार राती सम्पन्न भएको फोनिज सर्लाहीका अध्यक्ष घनश्याम बलम्पाकीले जानकारी दिए । फोनिजका केन्द्रीय अध्यक्ष राईको अध्यक्षता तथा सँस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री किँरातीको प्रमुख आतिथ्यतामा विधान सम्मेलन सम्पन्न भएको हो ।