गणेश खड्का
देशभर झैँ सर्लाहीमा पनि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैत ५ गतेलाई स्वच्छ, निष्पक्ष एवम भयरहित वातावरणमा सम्पन्न गर्ने निर्णय भएको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि प्रभावकारी ढंगले सुरक्षाकर्मी परिचालन गरी शान्ति सुरक्षा कायम गर्ने सहमती भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी एवम जिल्ला सुरक्षा समितिका संयोजक इन्द्रदेव यादवले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन–२०७९ समन्वय बैठकले यस्तो निर्णय गरेको हो ।
यस्तै,बैठकले मतदान बिथोल्ने,मतदानमा बाधा पुर्याउने तत्वहरुको पहिचान गरी हदैसम्म बल प्रयोग गरी कानून बमोजिम कारवाही गर्ने र मतदान अवधिभर कुनै एक सुरक्षा निकायको मतदान केन्द्रमा उपस्थित हुने गरी सुरक्षा व्यवस्था मिलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरु,क्रियाशील विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न विद्यार्थी संघ÷संगठनका नेताहरुको उपस्थिति रहेको थियो ।
चैत ५ मा सर्लाहीका तीनवटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ । जिल्लाको लालबन्दी नगरपालिका ९ स्थित रहेको जनज्योति बहुमुखी क्याम्पस लालबन्दी,हरिवन नगरपालिका १० स्थित सुखेपोखरीमा रहेको चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पस सुखेपोखरी र सर्लाही क्याम्पस मलंगवामा एकैसाथ चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ ।