पार्टीलाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको : माओवादी केन्दका अध्यक्ष प्रचण्डको भनाई

111 Shares

नेकपा(माओवादी केन्द्र)लाई सुदृढ र एकताबद्ध बनाउनुको विकल्प नभएको माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले बताए ।माओवादी केन्द्र मधेस प्रदेशको परामर्श बैठकलाई सम्बोधन गर्न महोत्तरीको बर्दिबास आएका माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले पार्टी रूपान्तरण सम्भव भएको र यसको विकल्प नभएको समेत बताए ।
“माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दा उल्टिन्छन्,संविधानमाथि हमला हुन्छ,त्यसका कारण परिवर्तनलाई जोगाउन पनि हामी सुदृढ एकतासहित अघि बढ्नुको विकल्प छैन।”मंगलबारबाट सुरु भएको  मधेश प्रदेशको बैठकमा उनले यस्तो बताएका हुन।उनले माओवादी केन्द्र अब सम्पूर्णरुपमा पार्टी पुनर्गठन र जनपरिचालनका कार्यक्रम सहित अघि बढ्ने समेत बताए ।
बैठकमा सहभागीहरूका धारणा सुनेपछि अन्तिममा केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र मधेश प्रदेशका इन्चार्ज लिलामणी पोखरेलले जानकारी दिए।उनका अनुसार पार्टी केन्द्रीय समिति बैठकको तयारी स्वरूप माओवादी केन्द्रले विभिन्न प्रदेशमा परामर्श बैठक गर्दै आएको छ ।
माओवादी केन्द्रले बागमती,उपत्यका विशेष प्रदेश,सम्पर्क समन्वय प्रदेश, गण्डकी,सुदूरपश्चिम,कर्णाली,लुम्बिनी र प्रदेश नम्बर १ तथा केन्द्रीय अनुशासन आयोग,निर्वाचन आयोग र लेखा आयोगको परामर्श बैठक सम्पन्न गरिसकेको माओवादी केन्द्रका महासचिव वर्षमान पुन(अनन्त)ले जानकारी दिए ।
उनका अनुसार पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको सहभागिता रहेको मंगलबार र बुधबार(आज)गरी दुई दिनसम्म चल्ने बैठकपछि केन्द्रीय सल्लाकार समिति र ज्येष्ठ कम्युनिस्ट मञ्चको बैठक सकेर पार्टी केन्द्रीय समिति बैठकको तयारीमा लाग्ने छ ।

सम्बन्धित समाचार