Close This

लालबन्दी १२ जियाजोरको विद्युत समस्या सुल्झाउने प्रयास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१२-३ गते   ५७४ पटक हेरिएको

दुर्गा कुमारी अधिकारी 
सर्लाहीको लालबन्दी नगरपालिका १२, जियाजोरमा हेटौंडा–ढल्केबर–इनरुवा चारसय केभिए प्रशारण लाइन निर्माणको विवाद सुल्झाउने प्रयास भएको छ । लालबन्दी नगरपालिका १२ जियाजोरमा स्थानीयले गाउँ हुँदै प्रशारण लाइन निर्माण हुन नदिए पछि रोकिएको हेटौंडा–ढल्केबर–इनरुवा चारसय केभिए प्रशारण लाइन निर्माणको विवाद सुल्झाउने प्रयास भएको सर्लाहीका  प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
उहाँका अनुसार बस्ती र खेतियोग्य जमिन हुँदै लाइन लान नदिने लालबन्दी नगरपालिका १२ जियाजोरका स्थानीयको अडानका कारण त्यहाँ काम अघि बढ्न सकेको थिएन् । स्थानीयले बस्ती भन्दा उत्तर चुरेपाखा हुँदै वा लखन्देही खोला भएर लाइन लान माग गरेका र बस्ती र खेतियोग्य जमिन हुँदै लाइन लान नदिने बताएपछि रोकिएको काम सुचारु गर्न आफुले पहल गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।
बस्तीमाथि वा खेतबाट लाइन जाँदा घडेरी र खेत टुक्राटुक्री हुँदा विस्थापित नै हुने भएकाले लालबन्दी नगरपालिका १२ जियाजोरका स्थानीयले मुआब्जा दिनुपर्ने माग राखेका लालबन्दी नगरपालिका १२ का वडा अध्यक्ष दुर्गा बहादुर आलेले बताउनु भयो ।
उहाँका अनुसार स्थानीयबाट प्रशारण लाइन विस्तारमा अवरोध भएपछि प्रमुख जिल्ला अधिकारी यादव, हेटौंडा–ढल्केबर–इनरुवा प्रशारण लाइनका आयोजना प्रमुख र लालबन्दी नगरपालिकाका जनप्रतिनिधि स्थानीयहरुसँग छलफल गर्न जियाजोर पुग्नुभएको थियो ।
प्रमुख जिल्ला अधिकारी यादवको नेतृत्वको टोलीले विवादित क्षेत्रको बस्ती र जग्गाको समेत निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । पुनःअर्को पटक छलफल गर्ने र स्थानीयवासीको मागका सम्वन्धमा माथिल्लो निकायलाई जानकारी गराउने प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech