दुर्गा कुमारी अधिकारी
सर्लाहीको चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाको दलित मुसहर बस्तीमा दुई महिनाको अवधिमा पाँच जनाको अचानक ज्यान गएको छ । चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाको दलित मुसहर बस्तीका पाँच जनाको दुई महिनाको अवधिमा अचानक ज्यान गएपछि स्थानीय त्रसित भएका छन् ।
चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाको दलित मुसहर बस्तीका चार पुरुष र एक महिलाको दुई महिनाको अवधिमा अचानक ज्यान गएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले बताए । उनका अनुसार ५५ वर्षीया केउला माझी,२२ वर्षीय तिलाई माझी,५० वर्षीय नन्दु माझी, ५५ वर्षीय सोमिन्द्र माझी र ४८ वर्षीय चेतनारायण माझीको अज्ञात रोगका कारण दुई महिनाको अवधिमा ज्यान गएको हो । गत पुस २८ गते देखि फागुन २९ गते सम्मको दुई महिनाको अवधिमा केउला,तिलाई ,नन्दु ,सोमिन्द्र र चेतनारायणको अज्ञात रोगका कारण दुई महिनाको अवधिमा ज्यान गएको गाउँपालिका अध्यक्ष महतोले बताए ।
एउटै गाउँमा पालैपालो पाँच जनाको मृत्यु भएपछि चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाको मुसहर बस्ती अहिले शोकमग्न बनेको छ भने स्थानीय रातदिन त्रासमा बस्न बाध्य भएका छन् । पाँचै जनाको मृत्युको कारण प्रष्ट भइ नसकेको चन्द्रनगर गाउँपालिका ३ बडकुर्वास्थित रहेको आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख ब्रम्हदेव साहले बताए ।उनका अनुसार मृतक पाँचै जनामा एउटै खालको लक्षण देखिएको छ ।सबैको एक्कासी रगत उल्टी गरेर मृत्यु भएको पाइएको चन्द्नगर गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
“गाउँमा यसरी एक्कासी पाँच जनाको मृत्यु हुँदा सबैमा त्रास छ,कोही पनि चैनसँग बस्न सकेका छैनन्,“बिरामीलाई अस्पताल समेत पु¥याउन नपाइ आधा घण्टाभित्र मृत्यु भएको छ । गाउँमा पहिलो पटक भएको यो घटनापछि हामी त्रसित छौँ ।”चन्द्रनगर गाउँपालिकाकी उपाअध्यक्ष गीतादेवी महतोले बताए ।
उनका अनुसार नियमित काम धन्दा गरिरहेकाहरुको एक्कासी मृत्यु भएको हो । “हिँड्डुल र कामधन्दा गरिरहेका व्यक्तिको मृत्यु भइरहेको छ,प्रायःअधिकांशको राति १२ बजेपछि मृत्यु भएको पाइएको छ,” गाउँपालिका उपाअध्यक्ष महतोले बताउनु भयो ।
जाँड–रक्सी सेवन नगर्ने आफ्नो श्रीमानको हिँडडुल गर्दागर्दै मृत्यु भएको मृतक चेतनारायण माझीकी श्रीमती नैनदेवि माझीले बताए । उनका अनुसार बेलुका खाना खाएर सुतेका आफ्ना श्रीमान राति अचानक रगत नै उल्टी गरेर मलाई गाह्रो भयो भन्न थाले अनि आधाघण्टाभित्र अटो बोलाएर अस्पताल लान खोज्दा मृत्यु भएको ।”माझीले बताइन् ।
यता,चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाका स्थानीय आफूहरुको कूल देउता रिसाउँदा गाउँमा यस्तो घटना भएको भन्ने अन्धविश्वासमा रहेका छन् । तराईको अतिपिछडिएको दलित मुसहर समुदायले भुइँया महाराजको बर्सेनि पूजा गर्ने गर्छन् । चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाका मुसहर समुदायले फागुन १९ गते मात्रै सामूहिक रुपमा पैसा उठाएर महाराजको पूजा गरेका थिए ।
वास्तविक कारण पत्ता लगाउन चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाका मुसहर समुदायका ११ जनाको खकार लिएर परीक्षणका लागि गाउँपालिकामा ल्याइएको र रिपोर्ट आएपछि कारण पत्ता लाग्ने चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अमृत चौधरीले जानकारी दिए । उनले मृतकहरुको अवस्थाबारे प्रारम्भिक बुझ्दा तीन जनाले अत्याधिक मदिरा सेवन गर्ने गरेको र एक जनाले उच्च रक्तचापको औषधी सेवन गरी बीचमा औषधी खान छाडेको पाइएको बताए ।
चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाका मुसहर समुदायका ११ जनाको खकार लिएर परीक्षणका लागि अनुसन्धान गर्न स्वास्थ्य कार्यालय मलङ्गवा, प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुर,स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँमा पठाइएको चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चौधरीले बताए ।