सामुदायिक विद्यालयहरुको शिक्षा सुधार्ने बागमतीको योजना

1.2k Shares

शंखर पहाडी (गाैरब
सर्लाहीको बागमती नगरपालिकाले प्रधानाध्यापकलाई शिक्षा सुधारका योजना सहितको तालिम सञ्चालन गरेको छ । बागमती नगरपालिका भित्र रहेका २५ वटै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको नेतृत्व विकासका साथै सामुदायिक विद्यालयहरुको शिक्षाको अवस्था सुधार गर्नका लागि तालिम सञ्चालन गरिएको नगर शिक्षा शाखाका प्रमुख मिन प्रसाद उपाध्यायले जानकारी दिए ।
उनका अनुसार नगर भरीका २५ वटै सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुलाई सहभागी गराएर नगरको सामुदायिक विद्यालयहरुको शिक्षा कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा तालिम दिईएको हो । सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरु विद्यालय सुधारको मियो नै भएकाले मियोबाटै सुधारको सुरुवात गर्न तालिम सञ्चालन गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।
 विद्यालय बिग्रिनु र सप्रिनुमा सबैभन्दा ठूलो हात प्रधानाध्यापकहरुकै हुने र सक्षम प्रधानाध्यापकहरुबाट मात्रै विद्यालय सुधार गर्न सकिने भएकाले नेतृत्व विकास तालिम सञ्चालन गरिएको नगर शिक्षा शाखाको भनाई छ । नगर भित्रका सामुदायिक विद्यालयहरुलाई देशकै नमूना विद्यालयको रुपमा रुपान्तरण गर्ने योजनामा जुटेको बागमती नगरपालिकाले संघिय शिक्षा ऐन आउन नसकिरहेको भएपनि स्थानीय शिक्षा ऐन बनाएर तत्कालका लागि नगर भित्रका सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तरमा सुधार गर्न सुरु गरेको नगर प्रमुख भरत कुमार थापाले जानकारी दिए ।
उनका अनुसार नगर भित्रका आधारभूत तहका शिक्षकहरुलाई कम्प्युटर तालिम,शनिवारे परीक्षाको कार्यक्रम शुरु गरेर विद्यार्थीहरुको सिकाइ सुधार र प्रधानाध्यापकहरुको नेतृत्व क्षमता विकास तालिम लगायतका तालिमहरु प्रदान गर्दै नगर भित्रको सामुदायिक विद्यालयहरुको शिक्षाको गुणस्तर सुधारमा नगरपालिका तल्लीन भएर लागेको छ ।
शिक्षक,विद्यार्थी,प्रधानाध्यापकहरुलाई सुधार नगरेसम्म विद्यालय सुधार नहुने रहेछ भन्ने लागेर प्राविधिक तथा नेतृत्व विकासका तालिमहरु पनि सञ्चालन गरिएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताइन् । उनका अनुसार नगर भित्रका सामुदायिक विद्यालयहरुको शिक्षा सुधारमा अभिभावकहरुलाई पनि जोड्ने गरी नगरपालिका अगाडि बढीरहेको छ । 
प्रधानाध्यापकहरुलाई अहिले विद्यालयको प्रशासनिक सुधार कसरी गर्न सकिन्छ । शैक्षिक सुधार गर्दै समय सुहाउँदो कसरी बनाउन सकिन्छ भनेर विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिएको नगर शिक्षा शाखाको भनाई छ । बालबालिकाको सिकाइ सुधारको पाटोमा उनीहरुको अध्ययन सीप र अध्ययन रुची कसरी बढाउन सकिन्छ,सामुदायिक विद्यालयलाई युग सुहाउँदो प्राविधिक बनाउँदै समाजसँग जोड्दै कसरी अभिभावकको आकर्षण बढाउन सकिन्छ भन्ने विषय प्रधानाध्यापकहरुलाई तालिममा समेटिएको शिक्षा शाखाका ओम बहादुर कार्कीले बताए ।
सामुदायिक विद्यालयको विकासमा हरेक अभिभावकोे सहभागिता,जागरुकता र चेतना जोड्दै शिक्षक, विद्यार्थी र प्रधानाध्यापकहरुलाई सक्षम बनाउने तर्फ काम गरि रहेको नगरपालिकाले जनाएको छ ।सामुदायिक विद्यालयहरुको समग्र सुधार र विकासको लागि स्रोत व्यवस्थापन,लगनशीलयता,भिजन र ड्रिमलाई आपसमा कसरी जोड्ने भन्ने विषयमा तालिम केन्द्रीत रहेको शिक्षाविद्ध प्रशिक्षक विशाल घिमिरिेले बताए । सबै सामुदायिक विद्यालयहरुलाई नमूना बनाउने नगरपालिकाको योजना अनुसार अहिले प्रधानाध्यापकहरुको क्षमता विकास तालिम सञ्चालन भएको नगर शिक्षा शाखाले जनाएको छ ।
तालिममा प्रधानाध्यापकहरुलाई समूहगत,व्यक्तिगत छलफल तथा अन्तक्र्रिया गरेर निष्कर्ष निकाल्न, निष्कर्षलाई शिक्षा सुधारको नीतिको रुपमा अंगीकार गर्न,योजना बनाउन,योजनाको कार्यान्वयन गर्न सीप र क्षमता विकास गरिने नगरपालिकाले जनाएको छ ।
तालिम लगत्तै नगरपालिकाले नगर भित्रका २५ वटै साुमदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुसँग कार्यसम्पादनको सम्झौता गर्ने तयारी पनि गरेको नगर प्रमुख थापाले जानकारी दिए । उनका अनुसार कार्यसम्पादन करार अनुसार विद्यालयमा सुधारका काम भएनभएको नगरपालिकाले मासिक रुपमा अनुगमन र मूल्यांकन गर्ने तयारी भइरहेको छ ।

सम्बन्धित समाचार