जिल्ला प्रशासन कार्यालय सर्लाहीको कार्यालयमा आगलागी, सेवा अवरुद्ध

865 Shares

शंखर पहाडी(गौरब)
जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । विद्युत सर्ट भई जिल्ला प्रशासन कार्यालयमा आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
उनका अनुसार विद्युत् सर्ट भइ कार्यालयको नागरिकता प्रतिलिपी फाँटमा आगलागी भएको हो । कार्यालय खुल्नु भन्दा पहिलै विद्युत् सर्ट भइ नागरिकता प्रतिलिपी फाँटमा आगलागी भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए ।
आगलागीबाट नागरिकता प्रतिलिपी फाँटमा रहेका दुई थान कम्प्युटर,दुई थान प्रिन्टर र दुई थान स्क्यानर लगायतका सामाग्री जलेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारीले जानकारी दिए ।उनका अनुसार दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ ।
आगलागीबाट उपकरणमा क्षति पुगे पनि कार्यालयभित्र रहेका कागजात र सेवाग्राहीको ‘डाटा’ सुरक्षित रहेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । उनका अनुसार आगलागीपछि कार्यालयको पूरै वाइरिङ समेत जलेकाले सेवा अवरुद्ध गर्नुपरेको हो ।
“महत्वपूर्ण फाँटको उपकरण र कार्यालयभरीकै वाइरिङ सर्ट भएपछि सेवा दिन सक्ने अवस्था नरहेको”प्रमुख जिल्ला अधिकारी यादवले बताए ।“अब नयाँ वाइरिङको काम सकेपछि सेवा सूचारु हुने उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार मंगलबार बिहान करिब ६ बजे विद्युत सर्ट भई कार्यालयमा आगलागी भएको हो । बुधबार सम्ममा वाइरिङको काम सक्ने कार्यालयले जनाएको छ ।
नागरिकता प्रतिलिपी फाँटबाहेक अन्य फाँटका उपकरण सुरक्षित रहेको कार्यालयले जनाएको छ । जिल्लाका २० मध्य १६ स्थानीय तहका नागरिकहरुलाई सेवा प्रवाह गरि रहेको जिल्ला प्रशासन कार्यालय सर्लाहीको सेवा अवरुद्ध हुँदा स्थानीय मारमा परको छन् । आगलागीपछि कार्यालयको सेवा ठप्प हुँदा कार्यालयबाट नागरिकता,राहदानी,राष्ट्रिय परिचय पत्रलगायतको सेवा लिने सेवाग्राही मारमा परेका हुन् ।

सम्बन्धित समाचार