सरकारी जमिन हडप्न वडा अध्यक्ष दर्जीको साथ,भु माफिया सक्रिय

2.8k Shares

शंखर पहाडी(गौरब)
सर्लाहीको बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको जमिन भू–माफियाले हडप्न खोजेको भन्दै स्थानीयले विरोध गरेका छन् । बरहथवा नगरपालिका १३ स्थित मनुष्मारामा कार्यालय रहेको बागमती मनुष्यमारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको जमिन भू–माफियाले हडप्न खोजेको भन्दै आफुहरुले विरोध गरेको स्थानीय रामसोगारथ महराले बताए ।
उनका अनुसार बरहथवा नगरपालिका १३ स्थित बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयकोे सो जमिनमा वर्षौदेखि हाट लाग्दै आएको भएपनि अहिले केही भू–माफियाले हडप्न खोजेपछि त्यसको विरोध गरिएको हो । २०३४ सालमा नापी हुँदा सुन्दरपुर चोहर्वा ८ को किक्ता नम्बर एक सय ८८ को ७ कठ्ठा जग्गा तत्कालीन सरकारको नाममा रहेको स्थानीय महराले बताए ।
यता, बरहथवा नगरपालिकाले २०७६ सालमा रु तीन लाख २६ हजारमा सो जमिनमा माटो भरेको सो जमिनमा अहिले हाट लाग्ने गरेको छ । बरहथवा नगरपालिका १३ का वडा अध्यक्ष राजगिर दर्जीले आफुखुसी फिल्ड बुकको आधारमा तिरो तिरेको रसिद दिएका र स्थानीय गंगाधर झाको नाममा भोग चलनको सिफारिस समेत गरेका स्थानीय महराको आरोप छ ।
स्थानीयलाई जानकारी नै नगराई भोग चलनको सिफारिस गरेपछि बहरथवा नगरपालिका,मालपोत कार्यालय बरहथवा,बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय सर्लाहीमा गएर सरकारी जमिन हडप्न नदिन आग्रह गरेको भएपनि कसैले नसुनेपछि आफुहरुले विरोध प्रर्शन गरेको महराको भनाई छ ।वर्षौँदेखि बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको सो जमिन वडा अध्यक्ष दर्जीले हडप्न खोजेपछि आफुहरुले त्यसको विरोध गरेको स्थानीय सुरेन्द्र महतोले बताए ।

उनका अनुसार बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयले वरिपरि कम्पाउण्डवाल समेत लगाएको र चौकीदार क्वाटर समेत बनाएको भएपनि अहिले कम्पाउण्डवाल समेत भत्काईएको छ भने चौकीदार क्वाटर पनि अन्य स्थानीयले प्रयोग गर्दै आएका छन् । भोग चलनको सिफारिस वडा अध्यक्ष दर्जीले कुन आधारमा गरेका हुन सरोकारवाला निकाय यस विषयमा किन मौन भन्ने विषयमा आफुहरुलाई चिन्ता लागेको स्थानीय गजेन्द्र साहले बताए ।सरकारी सम्पतीको संरक्षणका लागि आफुहरु जे गर्न तयार रहेको स्थानीय साहले बताए ।
बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको जमिनलाई भु माफियाहरुले भोग चलन सावित गर्ने,वडाबाट सिफारिस लिने तथा कसैको नाममा नरहेको जमिनको मालपोत रसिद कसरी काटियो थाहा छैन । तर सरकारी सम्पतीको संरक्षका लागि आफुहरुले विरोध प्रदर्शन गरेको स्थानीय अशोक राउतले बताए । आफुहरु सरोकारवाला निकायमा धाउँदा धाउँदा थाकिसके पछि विरोध प्रदर्शनमा उत्रिएको स्थानीय राउतको भनाई छ ।
सिचाईको जमिन खाली रहेका कारण हाट लागि रहेको र वडा अध्यक्ष दर्जीले सिफारिस गरेका र वडा सचिवले कसैको नाममा श्रेष्ता कायम नभएको जमिनको मालपोत रसिद काटिएको थाहा पाएपछि आफुहरुले कडा रुपमा विरोध गरेको स्थानीय विशेश्वर महराले बताए ।लालपुर्जा नभएको जमिनको मालपोत वडा कार्यालयले काट्नुले स्थानीय जनप्रतिनिधहरुको मिलेमतोमा सरकारी जमिन हडप्न खोजिएको महराको आरोप छ ।
बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटुवाल,बरहथवा नगरपालिका १३ का वडा अध्यक्ष दर्जी र एमाले नेता राम बहादुर राय सहित मालपोत कार्यालय बरहथवाका कर्माचारीहरुका साथै भु–माफियाहरुले सो जग्गा कब्जा गर्न खोजेपछि आफुहरु त्यसको विरोधमा उत्रिएको स्थानीय सुरेन्द्र महतोले बताए ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीको परिपत्रमा के छ ?
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नेपाल सरकार २०७९ चैत्र २७ गते मालपोत कार्यालय बरहथवालाई सो जमिनको विषयमा खुलाई पठाउन भन्दै पत्राचार समेत गरेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीको पत्रमा बरहथवा नगरपालिका १३ साविक सुन्दरपुर चोहर्वा वडा नं.८ मा रहेको सरकारी जग्गालाई साविकको सुन्दरपुर चोहर्वा ५ हाल बरहथवा नगरपालिका १३ बस्ने हरिनारायण झाको छोरा गंगाधर झा सहित सो वडाका वडा अध्यक्ष राजगिर दर्जी मालपोत कार्यालय बरहथवाको समेत मिलेमतोमा उक्त जग्गा गंगाधर झाद्धारा आफ्नो नाममा नामसारी गराउन खोजेको भन्ने उजुरी यस कार्यालयमा दर्ता भएको हुनाले सो सम्बन्धमा बास्तविकता के हो यतथ्य खुलाई पठाउनु हुन आदेशानुसार अनुरोध छ भनी पत्राचार गरिएको छ ।
मालपोत कार्यालय बरहथवाको परिपत्रमा के छ ?
मालपोत कार्यालय बरहथवाले २०७९ चैत्र ८ गते जग्गाको काम कारवाही रोक्का गरिएको परिपत्र बरहथवा नगरपालिकाको कार्यालयलाई पत्रचार गरेको थियो ।मालपोत कार्यालयको पत्रमा बरहथवा नगर कार्यपालिकाको कार्यालयलाई सो सरकारी जमिनको कोरोवार रोक्का गरिएको भन्दे पत्रचार समेत भएको पाइएको छ । मालपोत कार्यालयको पत्रचारमा तपसिल बमोजिमका जग्गाको जग्गाधनी श्रेस्ता फेला नपरेकोले जग्गाको कारोवार रोक्का समेत राख्न नसकिएको साथै तपसिल जसको जग्गाका नामसारी माग गरी यस कार्यालयमा पेश गरको द.न. २५६० मिति २०७९÷११÷१० को नामसारी मिसिलको काम कारवाही हाललाई यथास्थितिमा राखिएको उल्लेख छ । 
बरहथवा नगरपालिकाको परिपत्रमा के छ ?
बरहथवा नगरपालिकाले २०७९ चैत्र ६ गते जग्गाको काम कार्वाही रोक्का गरिदिन भन्दै मालपोत कार्यालय बरहथवालाई पत्राचार गरेको छ । सो पत्रमा बरहथवा ननगरपालिका १३ बस्ने चन्द्रदेव महराले नगरपालिकामा सार्वजनिक जग्गाको संरक्षण गरिपाऊ भन्ने निवेदनमा साविकको सु च ८ किता नं. १८८ को ७ कठ्ठा जग्गा सार्वजनिक रुपमा प्रयोग भई सो जग्गामा कृषि विकास कार्यालयको २ तले भवन रहेको र बाँकी जग्गामा स्थानीय हाट बजार लाग्दै आएकोमा सो सार्वजनिक जग्गा खाने नियतले गंगाधर झाले बागमती मनुष्मारा झाँझ सिचाई व्यावस्थापन डिभिजन कार्यालयको नाममा रहेको सो जग्गा आफ्नो बुवा हरिनारायण झाको नाममा मेरो हो भनि बरहथवा नगरपालिका १३ को कार्यालयलाई झुक्याई भोग चलनको सिफारिस गरि सो जग्गा खाने नियतले मालपोत कार्यालय बरहथवा निवेदन पेश गरेको हुँदा सो कार्य रोक्का गरि सार्वजनिक जग्गाको संरक्षण गरि पाऊ भनि निवेदन प्राप्त भएकोमा उल्लेखित जग्गा कस्तो अवस्थामा रहेको छ ? निवेदकहरुले माग गरे बमोजिम सार्वजनिक हो या होइन? यदि व्यक्तिको नाममा रहेको हो भने कस्को नाममा दर्ता रहेको छ ? सोको कागजात सहित गंगाधर झाले पेश गरेको मिसिलको कागजात समेत उपलब्ध गराइदिन हुन अनुरोध छ । हाललाई सो जग्गाको सम्पूर्ण काम कार्वाही अर्को पत्र प्राप्त नहुन्जेल सम्म रोक्का गरि दिन समेत अनुरोध छ ।
बागमती, मनुष्मारा सिंचाइ व्यवस्थापन कार्यालयले मालपोत कार्यालय बरहथवालाई गरेको पत्राचारमा के छ ?
बागमती,मनुष्मारा सिंचाइ व्यवस्थापन डिभिजन कार्यालयले २०७९ चैत्र २६ गते सो जग्गाको श्रेस्ता उपलब्ध गराई दिन भन्दै मालपोत कार्यालय बरहथवालाई पत्रचार गरेको छ । सिचाईको पत्रमा यस कार्यालयको लागि साविक सु च ८ हालको बरहथवा नगरपालिका १३ को कित्ता नं.१८८ को जग्गाधनि श्रेस्ता आवश्यकता परेको हुनाले उपलब्ध गराई दिन हुन अनुरोध छ । उक्त कित्तामा यस कार्यालय अन्तर्गतको मनुष्मारा सिचाइ प्रणालीको चौकिदार क्वाटरहरु रहेको हुँदा रोक्का राखि दिन हुन समेत अनुरोध गरिएको छ ।
बागमती, मनुष्मारा सिंचाइ व्यवस्थापन कार्यालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई गरेको पत्राचारमा के छ ?
बागमती, मनुष्मारा झाँझ सिंचाइ व्यवस्थापन कार्यालयले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई २०७९ चैत्र २६ गते गरेको पत्राचारमा आवश्यक कारवाही गरी दिन अनुरोध गरिएको छ । सिचाईको पत्रमा यस कार्यालय अन्तर्गतको मनुष्मारा सिंचाइ प्रणालीको स्टाप क्वाटर रहेको साविकको सुच ८ कित्ता नं. १८८ को ७ कठ्ठा जग्गालाई बरहथवा नगरपालिका १३ निवासी हरि नारायण झाको छोरा गंगाधर झाले किर्ते जग्गाधनि प्रमाण पुर्जा बनाउनका लागि मालपोत कार्यालय बरहथवामा धाइरहेको भन्ने लिखित निवेदन सोही ठाउँ निवासी स्थानियहरुबाट प्राप्त हुन आएको हुनाले उक्त कार्यमा संलग्नहरुलाई कारवाही गरी दिन हुनका साथै सरकारी स्वामित्वको उक्त जग्गालाई संरक्षण गरी दिन हुनको लागि अनुरोध छ । भनी पत्राचार गरिएको छ ।
पछिल्लो समय जिल्लामा भू–माफिया सक्रिय भई सरकारी जग्गा आफ्नो बनाउने तथा जग्गाधनीलाई अनेक किसिमका दुःख दिने काम गर्दै आइरहेका स्थानीयको गुनासो छ । यस कार्यमा मालपोतकै कार्यालय प्रमुख र अन्य कर्मचारीले सहयोग गर्दै आइरहेको  पाईएको छ । वडा कार्यालयले सो जमिनको प्रमाण विना राजश्व लिनु,हकभोग भनी प्रमाणित  गरि सिफारिस गर्नुु,मालपोतमा श्रेष्ता नभेटिनु,नगरपालिका र जिल्ला प्रशासन कार्यालयले सरकारी जमिन हडप्न नदिन भनी पत्राचार गर्नु लगायतका आधारमा भु–माफियाले सरकारी जमिन हडप्न खोजेको स्पष्ट हुने स्थानीयले बताए ।
बागमती मनुस्मारा झाँझ सिचाई व्यवस्थापन कार्यालयले सो जमिनको श्रेष्तामा माग गर्नु र किर्ते काम गर्नेहरुका लागि कार्बाहीको लागि जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई पत्राचार समेत गरिएको कार्यालय प्रमुख विनय गामीले बताए । यता वडा अध्यक्ष दर्जीसंग सो विषयमा बुझ्न खोज्दा आफु व्यास्त रहेकाले पछि फोन गर्नु भनी कुरा गर्न चाहेनन् ।

सम्बन्धित समाचार