इश्वरपुर ६ स्थित रहेको नगर अस्पतालमा ल्याब सेवा सुरु

1k Shares

शंखर पहाडी(गौरब) 
सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित नगर अस्पताल बयलवासमा जनस्वास्थ्य प्रयोगशाला(ल्याब सेवा) सुरु भएको छ । मधेश प्रदेश सरकार र इश्वरपुर नगरपालिकाको सहकार्यमा इश्वरपुर नगरपालिका ६ बयलवासमा रहेको नगर अस्पतालमा ल्याब सेवा सुरु गरिएको नगर प्रमुख मनोज कुमार  आचार्यले जानकारी दिए ।
नगर प्रमुख आचार्यका अनुसार नगर अस्पतालमा यसअघिदेखि नै ल्याब सेवा संचालन भएपनि अहिले प्रदेश सरकारबाट थप उपकरण र कर्मचारी समेत प्राप्त भएपछि अझ व्यवस्थित ढंगले सेवा सुरु गरिएको हो ।


ल्याब संचालनका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरबाट तत्कालका लागि एक जना ल्याब टेक्निसियन र एक जना कार्यालय सहयोगी नगर अस्पताल बयलवासमा आएका ईश्वरपुर नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले जानकारी दिए । उनका अनुसार ल्याबमा विभिन्न किसिमको परीक्षणमा लाग्ने शुल्क प्रदेशबाटै निर्धारण भएर आएको र बाहिरको तुलनामा अत्यन्त न्यून मूल्यमा परीक्षण हुने छ । 
प्रदेश सरकारले पठाएको उपकरणबाट नगर अस्पतालमा भएको भन्दा बाहेक क्याल्सियम, सोडियमलगायतको परीक्षण समेत गर्न सकिने नगर स्वास्थ्य शाखाले जनाएको छ ।नगर प्रमुख आचार्यले नगर अस्पतालको ल्याबबाट विशेष गरी अतिविपन्न तथा गरिब परिवारले सहज तथा सुलभ रुपमा सेवा पाउने विश्वास व्यक्त गरे । उनका अनुसार प्रदेश सरकार र नगरपालिकाको गरी करिब रु ८० लाखको लागतमा ल्याब स्थापना गरिएको हो । प्रयोगशालाको औपचारिक उद्घाटन कार्यक्रममा नगर प्रमुख आचार्य, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख महतोलगायतको उपस्थिति रहेको इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष रहमन अन्सारीले जानकारी दिए ।

सम्बन्धित समाचार