सर्लाहीमा एक हजार भन्दा बढी मिटरब्याज पीडितहरुका उजुरी

702 Shares

शंखर पहाडी(गौरब)
सर्लाहीमा मिटरब्याजीविरुद्ध हालसम्म एक हजार चार सय ७२ वटा उजुरी परेको छ । उजुरी अझै बढ्न सक्ने भन्दै पुनः एक हप्ता समय थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । उनका अनुसार मिटरब्याज अर्थात् अनुचित लेनदेन जाँचबुझ आयोगले नै उजुरी लिने म्याद जेठ १४ गतेसम्म थप्न भनेको हो । जिल्लाका मिटरब्याजी पीडित कोही उजुरी दिन छुटेको भए जेठ १४ गतेसम्म कार्यालयमा आएर उजुरी दिन सकिने प्रमुख जिल्ला अधिकारी यादवले बताए । 
जेठ १ गतेदेखि ७ गतेसम्म पहिलो पटक एक साता म्याद थप भएकोमा पुन जेठ १४ गते सम्म उजुरी दिन म्याद थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार पीडितले निरन्तर उजुरी दिइरहेकाले थप उजुरी आउन सक्ने ठानेर एक साता म्याद थप गरिएको हो । 
पीडितहरु निरन्तर उजुरी लिएर आइरहेका र अब अन्तिम पटक एक साता अर्थात जेठ १४ गते सम्म म्याद थप गर्दा करिब दुई हजार जति उजुरी पुग्ने अनुमान गरिएको सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । मिटरब्याजी साहुले लिएको ऋण भन्दा बढीको कागज बनाउने गरेको र ऋण तिरेपछि पनि अझ धेरै ऋण बाँकी रहेको भन्दै कागज देखाएर घर,घडेरी नै आफ्नो नाममा पास गर्न थालेपछि पीडितहरु उजुरी दिन जिल्ला प्रशासन कार्यालयमा पुगिरहेका छन् ।
मिटरब्याजी पीडितहरुले आन्दोलन गर्न थालेपछि मिटरव्याजी पीडितहरुको संख्या पनि बढ्न थालेको कार्यालयले जनाएको छ ।उनीहरुको आन्दोलन र उजुरीपछि जिल्लाका ‘मिटरब्याजी’आरोपी श्याम कृष्ण साह,(श्याम परदेशी),संजय साह रौनियार र रामबाबु यादव जिल्ला अदालत सर्लाहीको आदेश अनुसार कारगार चलान भएका थिए । यादव र रौंनियार उच्च अदालतको आदेशले छुटिसकेका भएपनि श्याम कृष्ण अहिले पनि पुर्व पक्षका लागि कारागारमै छन् ।
अनुचित लेनदेन अर्थात् मिटरब्याज सम्वन्धी जाँचबुझ आयोगले गत वैशाख २० गते जिल्ला प्रशासन कार्यालय सर्लाहीमा सरोकारवालाहरुसँग अन्तरक्रिया सहित प्रारम्भिक जानकारी लिने र आवश्यक सल्लाह सुझाव संकलन गर्ने काम सुरु गरेको थियो ।मधेश प्रदेशमा आयोगको कार्यालय समेत स्थापना भएको र आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्य उत्तमराज सुवेदी जिल्लामा आएर  मिटरब्याज पीडित,नागरिक समाज,जनप्रतिनिधि,सुरक्षा अधिकारी,विभिन्न दलका प्रतिनिधि, मिटरब्याजविरुद्धका अभियन्तालगायत अन्य सरोकारवालासँग प्रारम्भिक छलफल समेत गरि सकेका छन् । आयोग गठन हुनु पूर्व नै जिल्लामा मिटरब्याज साहुविरुद्ध छ सय ८० भन्दा बढी उजुरी परेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

सम्बन्धित समाचार