भारतका किसानका लागि अनुदान दिएको मल नेपाल ल्याउने क्रममा २ नेपाली पक्राउ

188 Shares

“मानो रोपेर मुरी फलाउने”मुख्य समयमा पनि नेपालमा रासायनिक मलको अभाव चुलिएपछि भारतबाट मल खरिद गरेर ल्याउने क्रममा दुई नेपाली किसान भारतीय सशस्त्र सीमा बल (एसएसबी) को नियन्त्रणमा परेका छन्।भारतको बिहार राज्य अन्तर्गत सोनबरसा प्रखण्डमा कृषि विभाग र एसएसबीले संयुक्त रूपमा सञ्चालन गरेको कारबाहीका क्रममा सर्लाहीको धनकौल गाउँपालिका–३ का नागेन्द्र प्रसाद सिंह र सुरेश प्रसाद सिंह पक्राउ परेका हुन्। उनीहरूको साथबाट दुई बोरा युरिया र छ बोरा डीएपी मल बरामद भएको भारतीय प्रशासनले जनाएको छ।
भारतीय प्रशासनका अनुसार भारत सरकारले आफ्ना किसानहरुलाई अनुदानमा उपलब्ध गराउने रासायनिक मल नेपालतर्फ लैजाँदै गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।भारतमा अनुदान प्राप्त कृषि सामाग्री विदेशी मुलुकतर्फ निकासी गर्न कानुनी प्रतिबन्ध रहेकाले सीमावर्ती क्षेत्रमा भारतीय सुरक्षा निकायले यस्ता गतिविधिहरु माथि कडा निगरानी गर्दै आएको छ। 
यता,दुई नेपाली नागरिक भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा रहेका र घटनाबारे सर्लाही प्रशासनले गृह मन्त्रालयमार्फत परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए ।उनका अनुसार भारतीय अधिकारीहरूले बरामद मलसहित दुवै नेपाली नागरिकलाई सितामढी जिल्ला अदालतमा उपस्थित गराएका छन्।आवश्यक कूटनीतिक पहल अघि बढाइएकाले  अदालतको आदेशपछि उनीहरू रिहा हुने अपेक्षा गरिएको छ।
नेपालमा खेतीपातीको मुख्य सिजनमै रासायनिक मलको आपूर्ति सहज हुन नसक्दा नेपाल भारत सीमा क्षेत्रका किसान भारतीय बजारमा निर्भर हुन बाध्य छन्।यही बाध्यताले सीमापारबाट मल ल्याउने प्रयास गर्दा उनीहरू कानुनी झमेलामा पर्ने अवस्था दोहोरिँदै आएको सरोकारवालाहरू बताउँछन्।तर कतिपय मानिसहरुले आफु किसान भएको बताउँदै भारतबाट गुणस्तरहिन रासायनिक मल नेपाल भित्र्याउने र नेपालका एग्रोभेटहरुलाई बेच्ने गरेका समेत समय समयमा फेला पर्ने गरेको सुरक्षा अधिकारीहरु बताउँछन् ।

सम्बन्धित समाचार