शंखर पहाडी(गौरब)
जिल्ला प्रहरी कार्यालय सर्लाहीले ३१ लाख भन्दा बढीको विभिन्न अबैध भन्सार छलीका सामानहरु बरामद् गरेको छ । सर्लाहीको पर्सा गाउपालिका ६ बाट प्रदेश २–०३–००१ च १६०७ र प्रदेश २–०४–००१ च ००८४ नम्बरका दुई वटा पिकअप भेन सहित विभिन्न प्रकारका भन्सार छलीका सामानहरु बरामद् गरेको जिल्ला प्रहरी कर्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार पर्सा गाउपालिका ६ स्थित सुरेन्द्र महतोको गाई फर्ममा भारतबाट भन्सार छली चोरी पैठारी गरि लुकाई छिपाई ल्याँउँदै गरेको अवस्थामा सिल्भर रंगको यार्लीक ६० थान,दुई वटा पिकअप भेन सहित अन्दाजी रु २९ लाख बराबरको सामान बरामद् भएको हो ।
भन्सार छलीको सामान सहित गाडीहरुका चालक धनुषाको मिथिला नगरपालिका ११ बस्ने अन्दाजी वर्ष २५ का नारा बहादुर कार्की र महोत्तरीको बर्दिबास नगरपालिका १० बस्ने अंन्दाजी वर्ष २७ का रामजनम यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए । उनका अनुसार सोही स्थानबाट रेडिमेट सुट एक सय ९५ थान र सिलिङ पंखा ५४ थान गरी करिब रु एक लाख ७९ हजार ७ सय बराबरको सामान पनि नियन्त्रणमा लिईएको छ ।
त्यसैगरी मलगंवा नगरपालिका ८ बाट पनि भन्सार छली चोरी पैठारी गरी ल्याएको नम्बर नखुलेको मोपेडमा डिउ ७३ बोतल,चिनी,तेल लगायतका किराना सामानहरु गरि अन्दाजी रु २८ हजार नौ सय ८० गरी कुल अन्दाजी रु ३१ लाख आठ हजार ८० बराबरको भन्सार छलीको सामान दुई जना मानिस र दुई वटा पिकअप भेन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।