सर्लाहीको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख एवम प्रहरी निरीक्षक किशोर तामाङ प्रहरी प्रधान कार्यालय तानिएका छन् ।विभिन्न किसिमका गुनासा र असन्तुष्टिहरु लगातार बढेपछि प्रधान कार्यालयले तामाङलाई कार्य अवधि पुग्नै लाग्दा तानेको छ ।२०८१ को भदौदेखि ईलाका प्रहरी कार्यालय हरिवनको कमाण्ड सम्हालेका प्रहरी निरीक्षक तामाङलाई हेडक्वाटरले अकस्मात तानेपछि स्थानीय सुरक्षा वृत्तमा हलचल मच्चिएको छ। प्रहरी स्रोतका अनुसार प्रहरी निरीक्षक तामाङ विरुद्ध आएका गुनासो तथा उजुरीलाई आधार मानेर प्रहरी प्रधान कार्यालयले उनलाई हेडक्वाटर तानेको हो।
पछिल्लो समय सर्लाहीमा प्रहरी संगठनमा विभिन्न विषयलाई लिएर हलचल मिच्चि रहेको समयमा प्रहरी निरीक्षक नै प्रधान कार्यालय तानिएपछि केही साता पहिला जनता सामाजवादी पार्टी(जसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष अशोक यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरिक्षक योगेन्द्र कुमार खड्कालाई लगाएको आरोप केही मिल्न गएको स्थानीय बताउँछन् ।
ईलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख(सई)सहित प्रहरी जवान निलम्वन हुनु,प्रहरी चौकी ब्रम्हपुरीका प्रमुख(असई) मनोज यादव जिल्ला प्रहरी कार्यालय तानिनु र ईलाका प्रहरी कार्यालय हिरापुरको प्रहरी सेट नै परिवर्तन हुनु लगायतले जसपा मधेशका अध्यक्ष यादवले लगाएको आरोपमा केही मेल खान गएको स्थानीयको भनाई छ ।साथै यस प्रकारका घटनाहरुले पछिल्ला दिनमा सार्वजनिक भएका तीन वटा फोन रेकर्डले सीमा क्षेत्रका प्रहरी चौकीहरू तस्करीको सञ्जालमा संलग्न रहेको आशंका बलियो बनाएको छ। ती रेकर्डहरूमा प्रहरी अधिकारीहरू तस्करहरूसँगको संवाद,धम्की र गैर कानुनी लाभको सौदाबाजी स्पष्ट रूपमा सुन्न सकिन्छ।
असार २० गते सार्वजनिक भएको पहिलो रेकर्डमा जनता समाजवादी पार्टी (जसपा)नेपाल मधेश प्रदेश अध्यक्ष यादव र जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्का बीचको चर्काचर्की समेटिएको छ।
पूर्वाधार विकास कार्यालय मलंगवामा प्रहरीद्वारा दिइएको सुरक्षालाई लिएर जसपा मधेश प्रदेशका अध्यक्ष यादवले प्रहरी उपरिक्षक खडकालाई “मधेश लुट्न आएको”आरोप लगाउँदै आपत्ति जनाएका थिए।उक्त अडियोले सामाजिक सञ्जालमा चर्चा पाएको थियो।
त्यसपछि सार्वजनिक भएका बाँकी दुई अडियो क्लिपले भने प्रहरी अधिकारीहरूको गम्भीर अनियमितता उजागर गरेका छन्।एक रेकर्डमा ब्रम्हपुरी प्रहरी चौकीका प्रमुख एवम प्रहरी सहायक निरीक्षक मनोज यादव र त्रिभुवननगरकी एक महिला व्यवसायी बीचको संवाद छ।
व्यवसायीले भारतीय नाकाबाट चिनी र मटर ल्याउने सहजीकरण भएको बताउँदै सामान फिर्ता मागेकी छिन्।तर,असई यादवले सहजीकरणमा आफुले भूमिका खोलेको भएपनि सामान नियन्त्रणमा लिने सवालमा आफ्नो संग्लग्नता नरहेको अडियो सम्वादमा सुन्न सकिन्छ।महिला व्यवसायीले साउन ४ गतेसम्मको कमिसना बुझाएको भएपनि त्यसअगावै सामान नियन्त्रणमा लिइएपछि अडियो सार्वजनिक भएको हो।तेस्रो अडियोमा इलाका प्रहरी कार्यालय हिरापुरका प्रमुख एवम प्रहरी नायब निरीक्षक वैद्यनाथ दास एक व्यवसायीलाई धम्क्याइरहेका छन्।
“३२ वटा बङ्गारा झारिदिन्छु”भन्दै उनले ती व्यावसायीलाई सन्तोष पासवानलाई रु १८ हजार र आफूले बिहेमा किनेको कपडाको रकम रु सात हजार दिनुपर्ने माग राखेका छन्।अडियो संवादको भाषाशैली र दबाब दिने तरिका स्पष्ट रूपमा गैर पेशागत देखिन्छ।यी ध्वनि रेकर्डहरू सार्वजनिक भएपछि प्रहरीले आफैं सीमा क्षेत्रमा तस्करीको संरक्षण गरिरहेको पुष्टि भएको जानकारहरु बताउँछन् ।
सर्लाहीमा खुला सिमाना तथा सीमा क्षेत्रका प्रहरी चौकीहरू कै संरक्षणमा तस्करी भएको देखिएको छ भने सोही कारण मधेश प्रदेशका भन्सारहरूले उठाउनुपर्ने राजस्व पनि प्रभावित भएको देखिन्छ।फोन रेकर्डमा समेटिएका दुवै प्रहरी अधिकारी असई यादव र सई दास यसअघि पनि विवादित प्रहरी अधिकारीहरु रहेका प्रहरी स्रोतको दाबी छ ।उनीहरू दुबै जना यस अघिपनि निलम्बनमा परिसकेका प्रहरी अधिकारीहरु हुन्।सई दास निलम्वन भई सकेका भएपनि असई यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरिक्षक खड्का र प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सरोज राईले संरक्षण गरि रहेका समेत प्रहरी स्रोतको दाबी छ ।
पटक पटक निलम्वनमा परेका र विवादित भएका भएपनि उनीहरुले संवेदनशील क्षेत्रमा जिम्मेवारी पाई रहनुले सिङ्गो प्रहरी संगठनको मर्म,भावना र काम कर्तव्यमाथि प्रश्न सृजना भएको छ।यस्ता घटनाले प्रहरी संगठनको विश्वसनीयता माथि गम्भीर प्रश्न चिन्ह खडा भएको भन्दै नागरिक स्तरमा असन्तोष बढ्न थालेको छ।