गणेश खड्का
महोत्तरीबाट प्रहरीले ट्रक सहित ८५ लाख बराबरको अवैध सालको काठ नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा पुर्वबाट पश्चिम तर्फ आउँँदै गरेको ना.६ ख. ६६६४ र ना.६ ख. ६२७२ नम्बरको ट्रकलाई बर्दिबास नगरपालिका ५ बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोतरीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश मल्लले जानकारी दिए ।
दुवै ट्रकबाट एक सय २१ वटा सालको गोलिया प्रहरीले बरामद भएको प्रहरीले जनाएको छ ।सालको गोलिया सहित दुवै ट्रक र ट्रक चालकलाई इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक विजय यादवले बताए ।
बरामद गरेको गोलिया एक हजार पाँच सय ३३ क्यु.वि.फिट गोलिया अन्दाजी ८५ लाख ५२ हजार चार ४५ मूल्य बराबरको रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।बरामद काठ,सवारी साधन र चालकलाई आवश्यक कारबाहीको लागि सव डिभिजन वन कार्यालय गढन्ता महोत्तरीलाई बुझाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
यता, सव डिभिजन वन कार्यालय गढन्ताका प्रमुख सहायक वन अधिकृत राम सुन्दर साहले उदयपुरबाट काठमाण्डौँका लागि प्रक्रियागत रुपमा निकासी भएको काठ रहेको बताए । उनले एकै पटकमा चारवटा ट्रकमा काठ लोड भएर निस्केको र ती दुई ट्रकमा लोड भएको काठको कागजात अगाडीको ट्रकमा रहेका कारण साथमा कागजात नभएपछि प्रहरीले नियन्त्रणमा लिएर वन कार्यालयलाई बुझाएको बताए ।